• २९ फागुन २०८२, शुक्रबार

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

blog

त्रिशूली (नुवाकोट), फागुन २९  गते ।  स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन  रोकिएको छ ।

बञ्चरेडाँडा  क्षेत्रका बासिन्दाले  काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहोर फाल्न नदिएका हुन् । 

विगतका सहमति कार्यान्वयन नभएसम्म फोहोर फाल्न नदिने अडानका साथ काठमाडौँबाट फोहोर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पटक–पटक भएका उधारो सहमतिले हामी  पीडित भएका छौँ । हाम्रा माग पूरा नहुञ्जेल अवरोध जारी रहन्छ ।”

यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहोर विसर्जनको अवरोध हटेको थियो । 

नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३  र ४ वडाका  प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहोर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् । ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन् । रासस