यादवराज पुरी
रौतहट, फागुन २९ गते । प्रतिनिधि सभा निर्वाचनपछि रौतहटमा आएको नयाँ नेतृत्वबाट नागरिकमा नयाँ आशा र अपेक्षा जागेको छ । मतदानका व्रmममा उम्मेदवारले जनतामाझ गरेका प्रतिबद्धता व्यवहारमा कत्तिको कार्यान्वयन गर्छन् भन्ने सर्वसाधारणमा चासो बढेको देखिन्छ ।
चुनावअघि गाउँ गाउँमा पुगेर नेताहरूले विकासका विभिन्न योजना अघि सारेका थिए । विशेषगरी सडक स्तरोन्नति, पुल निर्माण, कृषि विकास, बाँध तथा तटबन्धको दिगो व्यवस्थापन तथा युवालाई रोजगारीका अवसर सिर्जना गर्ने विषय प्रमुख एजेन्डा बनाएका थिए । निर्वाचित भइसकेपछि जनप्रतिनिधिले ती वाचा व्यवहारमा ल्याउनुपर्ने जनअपेक्षा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रपुर नगरपालिकाका नगर सभापति अरुण लामाले भन्नुभयो, “जनताले लोकतान्त्रिक अधिकार प्रयोग गरेर मत दिएका छन् । अबको नयाँ नेतृत्वले जनताको विश्वास अनुसार काम गरेर देखाउनु पर्छ । रौतहटका विभिन्न नगरपालिकामा अझै पनि सडक, पुल तथा अन्य आधारभूत पूर्वाधार विकासको आवश्यकता रहेको छ । कतिपय ग्रामीण क्षेत्रमा वर्षायाममा आवतजावत कठिन हुने समस्या अझै कायम छ । त्यसैले विकास निर्माणका कामलाई प्राथमिकता दिनुपर्ने जनताको माग छ ।”
उद्योग वाणिज्य सङ्घ रौतहटका अध्यक्ष पण्डितप्रसाद जयसवालले जिल्लाको चार वटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्यलाई आग्रह भन्नुभयो, “एक दशकअघि निर्माण कार्य सुरु गरिएको जिल्ला सदरमुकाम गौर र ईशनाथ नगरपालिका जोड्ने टुकुलियाघाटको पुल, डेढ दशकअघिदेखि अलपत्र रहेको दुर्गा भगवती गाउँपालिका–५, बडहर्वास्थित रौतहट–सर्लाही जोड्ने बागमती नदी पुल, एक दशकदेखि निर्माण सम्पन्नको पर्खाइमा रहेको चन्द्रपुर नगरपालिका–४, टेकान र ३, गैडाटार जोड्ने चाँदी नदीको पुललगायत अन्य योजना निर्माण सम्पन्न गर्न यथाशीघ्र पहल गरियोस् ।” जिल्ला नागरिक समाजका अधिकारी अनन्त कोइरालाले पूर्वसांसद्ले चासो नदेखाएका स्थानीय पूर्वाधार विकासका काममा हाल निर्वाचित नयाँ सांसद्को ध्यान पुग्न जरुरी रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “स्थानीय तहमा पूर्वाधार विकासले कृषि तथा व्यापार–व्यवसायको वृद्धि र विकास हुनेहुँदा आयआर्जनमा वृद्धि भई जनजीवन सहज हुन्छ । सडक सञ्जाल राम्रो भयो भने बजारमा आवतजावत बढ्छ, आर्थिक गतिविधि पनि चलायमान हुन्छ र रोजगारीका अवसर पनि सिर्जना हुन्छ । यस्ता कार्यमा हाल निर्वाचित सांसद गम्भीर बन्नुपर्ने हुन्छ । अनि मात्र जनताको मतको कदर हुन्छ ।”
यसै गरी शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार पनि नागरिकको प्रमुख अपेक्षामा परेको छ । ग्रामीण क्षेत्रका कतिपय सामुदायिक विद्यालयमा पूर्वाधार तथा शिक्षक अभाव रहेको गुनासो छ । त्यस्तै स्वास्थ्य चौकीमा आवश्यक औषधी र सेवा सहज रूपमा उपलब्ध गराउन सके ग्रामीण नागरिकलाई ठुलो राहत पुग्ने शिक्षा प्रेमी बिन्दा सहनीले बताउनुभयो ।