• २ असार २०८१, आइतबार

माओवादी र एकीकृत समाजवादीको साझा चुनावी घोषणापत्र बन्दै

blog

काठमाडौं, भदौ १९ गते । सत्ता साझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच आगामी निर्वाचनका लागि साझा घोषणापत्र निर्माण गर्ने छलफल चलेको छ । मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलका नेता एवम् अन्य उम्मेदवार सिफारिस गर्नेक्रम जारी छ । पछिल्लो समय नेताहरूले निर्वाचन तयारीमा सक्रियता बढाएका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी र माओवादीबीच नेपालको वर्तमान परिस्थितिका सन्दर्भमा मुख्य कार्यदिशामा छलफल भइरहेको बताउनुभयो । छलफल पछि चुनावी घोषणापत्र तयार गरिने उहाँले जानकारी गराउनुभयो ।

एकरूपता गर्ने प्रयत्न

खनालले भन्नुभयो, “अब दुई वटा पार्टीबीचमा नेपालको वर्तमान परिस्थिति र यो परिस्थितिलाई बदल्ने मुख्य कार्यदिशा र परिवर्तनपछि प्राप्त गर्ने समाजवादी लक्ष्यका बारेमा हाम्रो बीचमा एकरूपता छ ।” मुख्य एकरूपतालाई केन्द्रबिन्दुमा राखेर मुलुकका सामाजिक तथा आर्थिक रूपान्तरका समस्या र समाधानबारे अवधारणा निर्माणका क्रममा छलफल भएको उहाँको भनाइ छ । 

गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले दुई पार्टीबीचमा सामाजिक, सांस्कृतिक रूपान्तरणमा हुने समस्याहरू, राष्ट्रियतासँग सम्बन्धित समस्याहरू र आर्थिक रूपान्तरणका समस्याबारे बहस भएको उल्लेख गर्नुभयो । मुलुकका अन्तर्राष्ट्रिय सम्बन्धसँग समेत सम्बन्धित समस्याबारे, प्राकृतिक साधन, स्रोतको विकास, पूर्वाधार विकासको सन्दर्भमा अवधारणा पत्रमा एकरूपता आउनुपर्ने उहाँले बताउनुभयो ।  

“विकास, समस्या र चुनौतीको बारेमा साझा अवधारणा बनाउने प्रयत्न गर्दैछौं, त्यो प्रयत्न सफल भयो भने साझा घोषणापत्रको रूप लिन्छ” उहाँले भन्नुभयो । समाजवादी र माओवादीबीच यसबारे छलफल भए पनि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि साझा चुनावी घोषणापत्र बनाउने बारेमा टुङ्गो नलागेको बताउनुभयो ।  यसबाहेक अरूको पार्टीबारे टुङ्गो भएको छैन, उहाँले जानकारी दिनुभयो ।  

असोज दोस्रो हप्तासम्म टुङ्गो लाग्ने

नेकपा माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्याय (निर्मल) दुई पार्टीबीच साझा घोषणापत्र बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “साझा घोषणापत्र बनाउने कुरा भइरहेको छ । त्यसको लागि नारायणकाजीको नेतृत्वमा केही गृहकार्य गर्ने भन्ने छ । तर सिटको बाँडफाँट र तालमेलको कुरा नहुँदा, त्यो अभ्यास भइसकेको छैन ।” उहाँले सिटको एक, दुई दिनमा टुङ्गो लागेपछि यो प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो ।

यस विषयमा गठबन्धन अझै कति मजबुत हुने भन्ने टुङ्गो नलागेकाले केही दिन लाग्ने उहाँको भनाइ छ । त्यसपछि भदौ २४ र २५ गतेबाट माओवादी केन्द्र र समाजवादीबीच घोषणापत्र तयारी सम्बन्धमा छलफल चल्ने उहाँको भनाइ छ ।  

माओवादीले भदौ २० गतेसम्म कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निष्कर्ष निकाल्ने र भदौ २५ गतेसम्म उम्मेदवार टुङ्गो लगाउने बताउँदैआएको छ ।

“२० गतेसम्म पूरा जिल्ला र क्षेत्रसहित टुंग्याउने भन्ने कुरो भएको छ । त्यसो भएपछि, साझा घोषणापत्र बारेमा साझा मस्यौदा समिति बन्ने र सहकार्य गर्ने भन्ने कुरा अगाडि बढ्नेछ” उहाँले भन्नुभयो ।

उहाँले प्रत्यक्ष र समानुपातिकतर्फ सबैको टुङ्गो लगाउनुपर्ने लगायतका प्राविधिक कारण भएकाले पनि आउँदो असोज १५ गतेसम्ममा घोषणापत्रको कुरा अन्तिम बिन्दुमा पुग्ने  बताउनुभयो । 

आगामी निर्वाचनमा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग संयुक्तरुपमा निर्वाचन आयोगमा दल दर्ता गरेको थियो । यसर्थ, माओवादी, समाजवादी र डा. भट्टराईको पार्टीबीचमा साझा घोषणापत्र तयारीको छलफल हुनु स्वाभाविक रहेको पौडेलले बताउनुभयो ।  साझा घोषणापत्र तयारी गर्नपूर्व एमाले नेता एवम् नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम भने यसमा संलग्न हुनुभएको छैन । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।