• १७ कात्तिक २०८२, सोमबार

नौ वर्षसम्म बनेन पालिका भवन

blog

खलङ्गा समाचारदाता  

खलङ्गा (दार्चुला), कात्तिक १७ गते । दार्चुला सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाले स्थापना भएको नौ वर्ष बितिसक्दासमेत आफ्नै भवन निर्माण गर्न सकेको छैन । यहाँका दुई नगरपालिका र सात गाउँपालिका गरेर नौ वटा स्थानीय तहमध्ये सदरमुकामको नगरपालिकाले मात्रै आफ्नो भवन निर्माण गर्न नसकेको हो ।

शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाको भवन निर्माणाधीन अवस्थामा छन् भने बाँकी छ वटा गाउँपालिकाले भवन निर्माण गरेर कार्यालयसमेत सञ्चालन गरिसकेका छन् । गाउँपालिका स्थापनाकै वर्ष २०७४ सालमा नौगाड गाउँपालिकाले पहिलो पटक आफ्नै भवन निर्माण गरेको थियो भने पछि विस्तारै अन्य स्थानीय तहले समेत आफ्नै भवन निर्माण गरेको अवस्था छ ।

सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिका हाल निजामती कर्मचारी आवासको भवनबाट सञ्चालनमा छ । २०७५ सालमा पाँच वर्षका लागि आवासको भवन प्रशासकीय भवन सञ्चालनका लागि नगरपालिकाले लिने सम्झौता गरेको थियो । 

सम्झौताको म्याद २०८० भदौमा सकिएपछि त्यसयता थप एक वर्षका लागि म्याद थप गरिएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन दार्चुलाका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले जानकारी दिनुभयो । थप गरिएको एक वर्षको म्याद २०८१ भदौ २३ गते सकिएको भए पनि नगरपालिका सोही भवनमार्फत सञ्चालनमा छ । 

नगरपालिका स्थापना भएको नौ वर्ष बितिसक्दासमेत आफ्नै भवन निर्माण गर्न नसक्नु दुःखद भएको यहाँका स्थानीयले बताएका छन् । नगर उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले जग्गा उपलब्ध नहुँदा भवन निर्माण गर्न नसकिएको बताउनुभयो । “भवनको डिपिआर तयार गरेका छौँ, जग्गा उपलब्ध हुनेबित्तिकै निर्माण कार्यको थालनी हुन्छ,” उहाँले भन्नुभयो ।