• ८ मंसिर २०८१, शनिबार

हास्यव्यङ्ग्य विशेष/कविता

कविज्यू ! म तपाईंको कविता छाप्न सक्तिनँ

blog

श्रीमतीको छाप्नै प-यो

नत्र घरमा उधुम मच्चाउँछिन्

सालीको छाप्नै प-यो

नत्र रिसाएर बोल्नै छोड्छिन्

झन् प्रेमिकाको त छाप्नै प-यो

नत्र डेटिङमा जानै मान्दिनन्

गुरुको छाप्नै प-यो

नत्र थेसिसमा नम्बर दिँदैनन्

सालाहरूको छाप्नै प-यो

नत्र भिनाजुलाई वास्तै गर्दैनन्

जेठानको छाप्नै प-यो

नत्र पोल खोलिदिन्छन्

साथी सङ्गातीको छाप्नै प-यो

नत्र खोयाबिर्केमा खबरै गर्दैनन्

कार्यकर्ताको छाप्नै प-यो

नत्र नेताहरूलाई कुरा लाउँछन्

मलाई धेरै गाह्रो छ कविज्यू !

म तपाईंको कविता छाप्न सक्तिनँ ।


दिदीको छाप्नै प-यो

नत्र भाइ सम्पादक भएको 

के काम लाग्यो भन्छिन्

बहिनीको छाप्नै प-यो

नत्र रोएर जात्रा गर्छिन्

दाइको छाप्नै प-यो

नत्र “म बाबुपछिको बाबु हुँ” भन्छन्

भाइहरूको छाप्नै प-यो

नत्र अह्राएको काम गर्दैनन्

घरबेटीको छाप्नै प-यो

नत्र कोठा भाडा बढाउँछन्

छिमेकीको छाप्नै प-यो

नत्र परेको बेलामा सहयोग गर्दैनन्

पसलेको छाप्नै प-यो

नत्र सामान उधारो दिँदैनन्

मलाई धेरै गाह्रो छ कविज्यू !

म तपाईंको कविता छाप्न सक्तिनँ ।


तपाईंले कविता पठाउनु भो

कविता धेरै राम्रो छ

समसामयिक छ

कालजयी छ

सुन्दर छ

छाप्नैपर्ने कविता छ

तर म असमर्थ छु

तपाईं कतैबाट पनि मेरो नाता पर्नुहुन्न

भोजमा पनि कहिल्यै बोलाउनुहुन्न

पारिश्रमिक बुझेपछि फर्केर हेर्नुहुन्न

खाजा नास्ताको कुरै छोडौँ

एक कप चिया पनि खुवाउनुहुन्न

मेरो चाकरी पनि गर्नुहुन्न

मेरो चाप्लुसी पनि गर्नुहुन्न

मेरो भजन पनि गाउनुहुन्न

बातैपिच्छे “फलानोजी !” भन्नुहुन्छ

मलाई कहिल्यै पनि “ज्यू !” भन्नुहुन्न

मलाई कहिल्यै पनि “हजुर !” भन्नुहुन्न

मलाई कहिल्यै पनि “यहाँको जो कृपा !” भन्नुहुन्न

अनि म तपाईंको कविता कसरी छापुँ ?

मलाई धेरै गाह्रो छ कविज्यू !

म तपाईंको कविता छाप्न सक्तिनँ । 


हेटौँडा–४, अभिकुञ्ज

मित्रनगर, मकवानपुर