• ७ जेठ २०८१, सोमबार

हास्यव्यङ्ग्य विशेष/कविता

आओस् अक्कल भ्रान्ति छर्न सकिने

blog

यात्रामा गतिशील बन्न म सकूँ भेट्ने गरी आसन

भन्ने भाव, प्रभावमा महकिलो ठोक्ने गरूँ भाषण ।

नेपाली ममचा बनून् दिनदिनै चम्चा र काँटा बनून्

सारा सज्जन सेकुवासरि बनून् राम्रो मलाई भनून् ।।


जात्रामा चलखेल छन् तर सधैँ सत्ता घुमोस् फन्फनी

बन्ने लक्षण देखियोस् प्रगतिमा मेरो नयाँ जीवनी ।

नेपाली जनता भएर मुरली, गाना बजाना गरून्

साथी चञ्चल छन् भकुर्न भरिया आँखा चनाखा झरून् ।।


पार्टीका घटमा बलेर बिजुली सर्वोच्चता चर्कियोस्

साझा देश विशेषको रहरिलो सम्भावना घर्कियोस् ।

नोटैनोट लिएर यो बखतमा आफू बनूँ चर्चित

चोटैचोट दिएर मालिक बनूँ ! इच्छा भयो सिर्जित ।।


चाम्रो चाल चलोस् नयाँ चलनमा खाँडो जगाईकन

मालामाल हुने र राष्ट्र दुहुने आऊँन् सुनौला दिन ।

मेरो मात्र सदासदा रहरिलो वैकुण्ठ कुर्सी बनोस्

मेरो हैकमको प्रसिद्धि जनले देखेर आहा ! भनोस् ।।


मौलाएर दरिद्रता दिनदिनै जम्मै बनून् काँतर

भोगी दुर्दिन, राष्ट्रका जन सुकून् गर्दै रहून् आदर ।

भोका छन् दुनिया भनी अलिकता चिन्ता नहोस् बिल्कुल

नेपाली जनता परून् सकसमा आफ्नो बनोस् स्कुल ।।

नाताका घर छन् विशाल चुचुरा, साला र साली धनी

नातावाद विकासले गति लियोस् पार्टी फुटोस् तापनि ।

जागोस् तक्दिर शान्तिसाथ जिउने आफ्नो बनोस् नौ तला

आओस् अक्कल भ्रान्ति छर्न सकिने, ढाँट्ने र लुट्ने कला ।। 

 

नागार्जुन न.पा.–१

रानीवन, काठमाडौँ