• १३ साउन २०८१, आइतबार

स्वास्थ्य क्षेत्र सरकारको प्राथमिकतामा: मन्त्री खापुङ

blog

फाइल तस्बिर

बनेपा समाचारदाता 

बनेपा, भदौ १८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा परिभाषित गरेकाले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको बताउनुभएको छ । 

काभ्रेपलाञ्चोक जिल्लाको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशासम्बन्धी एक दिने अन्तक्र्रिया कार्यक्रममा मन्त्री खापुङले स्वास्थ्य सेवा पाउनु मौलिक हक भए पनि देशका दूरदराजमा अहिले पनि स्वास्थ्यसम्बन्धी समस्या कायमै रहेको बताउनुभयो । 

“अहिले पनि देशका विकट क्षेत्रमा स्वास्थ्यमा समस्या कायमै छ, कतै सडक सुविधा नभएका कारण समयमा नै अस्पताल पु¥याउन नसक्दा कति गर्भवती र शिशुको ज्यान जाने गरेको छ,” मन्त्री खापुङले थप्नुभयो । 

मन्त्री खापुङले सरकारले प्रत्येक वडामा एउटा आधारभूत स्वास्थ्य चौकी, पालिकामा पाँचदेखि पन्ध्र शøयाको अस्पताल बनाउने अभियान सञ्चालन गरेर स्वास्थ्य संस्था र अस्पताल निर्माणको काम अघि बढाएको बताउनुभयो । उहाँले स्थानीय तहमा रहेका आधारभूत अस्पतालमा कस्ता कर्मचारीको व्यवस्थापन गर्ने भन्ने विषयमा खाका तयार पारेको बताउँदै कतिपय नागरिकलाई सरकारले नसर्ने आठ प्रकारका रोगीलाई सहयोग गर्ने कुरा थाहा नभएकाले जनप्रतिनिधिले आफ्ना नागरिकलाई जानकारी दिन सुझाव दिनुभयो । 

“कोभिड–१९ पछि देशमा आइसोलेसन, कोभिड अस्पताल, अक्सिजन प्लान्ट स्थापना भएका छन्, अब कोही बिरामी अक्सिजन, अस्पतालको शøया नपाएर ज्यान गुमाउनु पर्दैन,” मन्त्री खापुङले थप्नुभयो । उहाँले पछिल्लो समय देशमा प्राणघातक रोगका बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । 

कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले काभ्रेमा सुरु गरिएको जनप्रतिनिधि र स्वास्थ्य कर्मचारीबीच आफ्नो पालिकाको स्वास्थ्य रणनीति बनाउने कार्यक्रम देशभर पहिलो नमुना कार्यक्रम रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि ग्याल्पो दोर्जीले स्वास्थ्य क्षेत्रको सुधारका लागि पालिकाहरूले रणनीति निर्माणसँगै कार्यान्वयनमा समेत जोड दिनुपर्ने बताउनुभयो ।