• १४ असोज २०८१, सोमबार

राष्ट्रिय आविष्कार केन्द्र र लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सम्झौता

blog

काठमाडौं, भदौ १७ गते । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ ।

शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीमा प्रवर्द्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गर्नुभयो । आविष्कार केन्द्रले आगामी वैशाखसम्म सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण सक्नेगरी सरकारले सघाउने सम्झौता भएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसमेत उपस्थित रहनुभएको थियो । हस्ताक्षर कार्यक्रममा बोल्नुहुँदै मन्त्री बडूले आविष्कार केन्द्रसँगको सम्झौताले सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताउनुभयो ।

उहाँले नेपालको राष्ट्रिय उत्पादनलाई अभिवृद्धि गरी उत्पादनको उपभोगमा समेत अभिवृद्धि गर्ने राष्ट्रिय नीति रहेको बताउनुभयो । मन्त्री बडूले उत्पादन गर्ने कुरा स्थानीय तहबाट नै सुरु गर्दा स्थानीय स्तरमा नै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले उत्पादन बढाउने उद्योगहरू स्थापना गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना भएर रोजगारीको क्षेत्रमा ठूलो रूपान्तरण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालको गाउँघरमा ठूलो रोजगारीको माध्यम भनेका साना घरेलु उद्योगहरू हुन् । यस्ता उद्योगको प्रवर्द्धन गर्न सक्यौँ भने हाम्रो गाउँघरको आवश्यकता पूरा र रोजगारी सिर्जना हुन्छ । राष्ट्रिय आविष्कार केन्द्रले यो भन्दा राम्रो काम गर्नु भएको छ । मुलुकको निम्ति आवश्यकता कहाँ त्यसका लागि के आविष्कार गर्नुपर्छ । मुलुकको तत्कालको आवश्यकता के हो त्यसलाई सानो स्तरबाट कसरी सकिन्छ त्यसको खोजी केन्द्रले गरेको छ ।’’

मन्त्री बडूले नेपालको स्थानीय स्तरमा नै उत्पादन बढाउनको लागि सरकारले साना–साना उद्योगको योजनाहरू अगाडि बढाएको दाबी गर्नुभयो । उहाँले सात वटै प्रदेशमा बिजनेस इकोभेसन सेन्टर खोल्ने कल्पना गरेका भन्दै त्यसले उद्यम र उद्यमीहरूको सङ्ख्या बढाउने बताउनुभयो । उहाँले सरकार उत्पादन क्षेत्रमा काम गरिरहेका निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने पनि बताउनुभयो ।

मन्त्री बडूले भन्नुभयो, ‘‘सरकारले स्टार्टअप उद्यमको कल्पना गरेका छौं । नेपालको स्थानीय स्तरमा नै उत्पादन बढाउनको लागि सरकारले साना–साना उद्योगको योजनाहरू अगाडि बढाएको छ । सातवटै प्रदेशमा बिजनेस इकोभेसन सेन्टर खोल्ने कल्पना छ । त्यसबाट उद्यम र उद्यमीहरूको सङ्ख्या बढाउने हो । त्यसको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेको छौं । उत्पादन क्षेत्रमा लागेका निजी क्षेत्रसँगको सहकार्यले राष्ट्रिय उद्देश्य पूरा गर्न सहयोग पुग्छ ।’’

मन्त्री बडूले उत्पादन क्षेत्रमा लागेका निजी क्षेत्रसँगको सहकार्यले मात्रै सरकारको राष्ट्रिय उद्देश्य पूरा गर्न सहयोग पुग्ने बताउनुभयो । गाउँघरमा रोजगारीको माध्यम साना घरेलु उद्योगहरू भएको भन्दै साना उद्योगको सरकारले प्रवर्द्धन गर्नसके गाउँघरको आवश्यकता पूरा हुने र रोजगारी सिर्जना हुने जानकारी पनि उहाँले दिनुभयो ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले उद्योग र उद्यमी नबढाएसम्म देशको अर्थतन्त्र नबढ्ने बताउनुभयो । देशको अर्थतन्त्र बढ्न उद्यमीहरूले बढाएर उद्योगहरू सञ्चालन गर्न आवश्यक रहेको अध्यक्ष पुनले औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालमा उद्योग उद्यमी नबढाएसम्म देशको अर्थतन्त्र बढ्दैन । कुनै पनि देशको अर्थतन्त्र बढाउने भनेको उद्यमीहरूको उद्योगहरू सञ्चालन गरे मात्रै मुलुकको अर्थतन्त्र बढ्ने हो । राष्ट्रिय आविष्कार केन्द्रको मुख्य उद्देश्य पनि उद्यमीहरू बढाउने हो ।’’

पुनले राष्ट्रिय आविष्कार केन्द्रको मुख्य उद्देश्य पनि उद्यमीहरू बढाउने भएको बताउनुभयो । उहाँले लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रसँग भएको सम्झौताले अनुसार ४० लाख रुपियाँको सिन्के धूप र दाँत कोट्याउने सिन्का बनाउने मेसिन बनाउने योजना रहेको बताउनु भयो । उहाँले सन्केधुप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउनेलगायत मेशिन बनाउन खर्च गरिने बताउनु भयो । उहाँले सम्झौता अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म सबै काम सक्ने बताउनुभयो ।

अध्यक्ष पुनले भन्नुभयो, ‘‘लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रसँग भएको सम्झौताले अनुसार ४० लाख रुपियाँको सिन्के धूप बनाउने मिसेन बनाउने छौँ । बजारमा दाँत कोट्याउने सिन्का पनि चीनबाट आउने भयो । धेरै नेपालीले टुथपिन बनाउने मेसिन बनाउन माग आएको छ । त्यस्तै किसानहरूको माग धेरै भएको पहाडमा कोदो कुट्ने मेसिन बनाउने योजना रहेको छ । त्यस्तै बासबाट उत्पादन गर्न सकिने सबै प्रकारका सामग्री बनाउने मेसिन बनाउने योजना रहेको छ । सम्झौता भए अनुसार केन्द्रले चालु आर्थिक वर्ष भित्र सक्नेछ ।’’

समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपियाँ यो आर्थिक वर्षका लागि प्राप्त हुनेछ ।