खैबर पख्तुनख्वा (पाकिस्तान), पुस १० गते । पाकिस्तानमा जारी सडक अवरोध र चिकित्सा सङ्कटबीच पाराचिनारमा १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ ।
महत्त्वपूर्ण घटनाक्रममा दुई महिनाभन्दा बढी समयदेखि भएको सडक अवरुद्ध, आवश्यक सेवाहरूमा गम्भीर रूपमा पुगेको बाधा र कुर्रममा चलिरहेको सङ्कट बिग्रँदै गएकाका कारण पाकिस्तानको पाराचिनारमा एक सयभन्दा बढी बालबालिकाको चिकित्सा सेवाको अभावका कारण मृत्यु भएको द न्यूज इन्टरनेशनलले रिपोर्ट गरेको छ ।
यो स्थितिले व्यापक विरोध प्रदर्शन निम्त्याएको छ । नागरिकहरूले पहुँच मार्गहरू तत्काल खोल्न माग गरिरहेका छन् । सडक अवरोधको विरोधमा प्रदर्शनको यो लगातार छैटौँ दिन हो ।
रिपोर्ट अनुसार दुई महिनाभन्दा बढी समयदेखि जारी अवरोधले बासिन्दाहरूलाई महत्त्वपूर्ण खाद्यान्न र चिकित्सा आपूर्तिबाट वञ्चित पारेको छ ।
माथिल्लो कुर्रम तहसिलका अध्यक्ष आगा मुजामिलले भन्नुभयो, “सडक बन्दले बासिन्दाहरूलाई स्वास्थ्य सेवा र खाद्यान्न जस्ता आधारभूत आवश्यकताहरू प्राप्त गर्नबाट रोकेको छ । चिकित्सा सेवाको अभावमा एक सयभन्दा बढी बालबालिकाको मृत्यु भएको छ ।”
जवाफमा कुर्रमका उपायुक्तले जारी आदिवासी द्वन्द्व समाधानमा केन्द्रित शान्ति वार्ता सुरु गर्न जिल्लामा ग्रान्ड जिर्गा आइपुगेको घोषणा गर्नुभयो ।
सरकारले यी छलफलले स्थिरता ल्याउने र सडक पुनः खोल्ने आशा राखेको छ । यसका साथै पाराचिनारका बासिन्दाहरूको सङ्घर्षका बारेमा चेतना जगाउन मजलिस वहदत–ए–मुस्लिमीनले आयोजना गरेको कराचीको नुमाइस चौरङ्गी र लाहोर प्रेस क्लब बाहिर ऐक्यबद्धता प्रदर्शन गरिएको छ ।
खैबर पख्तुनख्वाका मुख्यमन्त्रीका सूचना सल्लाहकार ब्यारिस्टर सैफले पाराचिनार रोडलाई सुरक्षित गर्न विशेष प्रहरी बल स्वीकृत गरिएको घोषणा गर्नुभयो ।
यस क्षेत्रमा ठूलो उथलपुथल निम्त्याएको शताब्दीयौँ पुरानो आदिवासी विवादको स्थायी समाधान खोज्ने सरकारको लक्ष्य रहेको उहाँले जोड दिनुभयो ।
पाराचिनारमा जारी आदिवासी द्वन्द्वका कारण एक सयभन्दा बढीको मृत्यु भएको छ र विगत साढे दुई महिनादेखि सबै प्रमुख र साना मार्गहरू अवरुद्ध गरेर जिल्लालाई अपाङ्ग जस्तो बनाइएको छ ।
विस्तारित नाकाबन्दीको परिणाम सामना गर्न बासिन्दाहरू र अधिकारीहरू दुवैले सङ्घर्ष गरिरहेका कारण स्थिति गम्भीर छ । रासस, एएनआई