• १६ चैत २०८०, शुक्रबार

पर्यटन मन्त्री श्रेष्ठद्वारा पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात

blog

काठमाडौँ, भदौ १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको हनुमान ढोका दरबार स्क्वास क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात गर्नुभएको छ । सम्पदा स्थलहरूलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाइ अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । 

अभियान अन्तर्गत हनुमान ढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो । पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल(ग्रिन नेपाल अभियान नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियान सुरु गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सम्बद्ध सार्वजनिक निकाय, स्थानीय तह, सामाजिक सङ्घ संस्थाहरू र शैक्षिक प्रतिष्ठानहरूसँगको सहकार्यमा विशेष सरसफाइ अभियान सुरु गरेको हो । मन्त्री श्रेष्ठले अघि सार्नुभएको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्य योजनमा महत्त्वपूर्ण पर्यटकीय स्थलहरूमा राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने उल्लेख छ । पर्यटकलाई आकर्षित गर्न सरसफाइ महत्त्वपूर्ण भएकोले यसलाई अभियानकै रूपमा सुरुवात गरिएको मन्त्री श्रेष्ठको भनाइ छ । 

अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रवर्द्धनमा सघाउ पुर्‍याउने उहाँले बताउनुभयो । सरसफाइ अभियानमा सम्पदा संरक्षण अभियन्ता, विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक सङ्घ संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता थियो । देशका अन्य महत्त्वपूर्ण पर्यटकीय स्थलहरूमा पनि राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गरिने मन्त्री श्रेष्ठले बताउनुभयो ।