• २१ पुस २०८१, आइतबार

विकासको आकांक्षा पूरा गर्न सरकार दृढ छ : उपप्रधानमन्त्री सिंह

blog

लहान नगरपालिकाको १५ औं नगरसभालाई उद्घाटन गर्नुहुँदै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह। तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, पुस १९ गते। संघीय सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त उपब्धिको रक्षा गर्न र विकासको आकांक्षा पूरा गर्न सरकार काम गरिरहेको दृढता व्यक्त गर्नुभएको छ।  

लहान नगरपालिकाको १५ औं नगरसभालाई लहान नगरपालिकाको सभा हलमा उद्घाटन गर्दै यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो। दुई पटक संविधानसभाको निर्वाचन भएर बनेको संविधानको रक्षा र विकासको आकांक्षा पुरा गर्नको लागि स्थिर सरकारको आवश्यकता महसुस भएर नै दुई जिम्मेवार दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताउनुभयो। 

कर्मचारी विधेयक प्रहरी विधेक, शिक्षा विधेयक लगायतका विधेयक सदनबाट पास गराउन सहमति सहकार्यको लागि सबै ढोकाहरु खुला राखेर काम अघि बढिरहेको उहाँले प्रष्ट पार्नुभयो। 

कोभिड–१९ को कारण कमजोर भएको अर्थतन्त्रलााई चलायमान बनाउन वर्तमान सरकार अर्थतन्त्रलाई लयमा फर्काउने काम गरिरहेको उपप्रधानमन्त्री सिंहले प्रष्ट पार्नुभयो। 

सहरी विकास मन्त्रालयले स्वच्छ सहर व्यवस्थित नगर कार्यक्रम अन्तर्गत हरेक नगरपालिकामा स्वच्छ खानेपानी, सरसफाइ र व्यवस्थित सडक निर्माण गरेर हेर्न लायकको सहर बनाउने कार्यक्रम अघि बढी सकेको सहरी विकासमन्त्री समेत रहनुभएको उपप्रधानमन्त्री सिंहले स्पष्ट गर्नुभयो। 

कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास शारडा, नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादव, नगरप्रमुख महेशप्रसाद चौधरीले सम्बोधन गर्नुभयो।