कमल शर्मा
दैलेख, पुस १९ गते । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ (गहिरो खोतल्ने) गर्ने काम सकिएको छ । गत वैशाख २८ गतेबाट सुरु गरिएको ड्रिलिङको काम बुधबार सकिएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार दुई मिटर गहिराइसम्म ड्रिलिङ भएसँगै यो काम सकिएको जानकारी दिनुभयो । उहाँले वैशाख महिनादेखि सुरु गरिएको ड्रिलिङको कार्य सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “असोज मसान्तसम्म सम्पन्न गर्ने परियोजनाको लक्ष्य भएपछि कडा चट्टानका कारण पुस महिनासम्म लम्बिन पुग्यो ।” दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि विज्ञले प्रत्येक दुई/दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन वटा थप अध्ययन हुने छ । पेट्रोलियम पदार्थ (प्राकृतिक ग्यास) हुनका लागि तय गरिएका आवश्यक मापदण्ड अन्तर्गतका सङ्केत सफलतापूर्वक प्राप्त भइरहेका छन् ।
चिनियाँ टोलीले हरेक दुई मिटरबाट सङ्कलन गरेको नमुनाको विशिष्ट अध्ययन चीनमै हुनुपर्ने भएकाले अन्तिम नतिजा आउन केही समय लाग्ने विभागले जनाएको छ । अन्तिम नतिजा प्राप्त भएपछि त्यसको भण्डारण क्षमता पत्ता लागेको खण्डमा आर्थिक विश्लेषण गरेर उत्पादनका लागि प्रक्रिया अगाडि बढाइने लुइँटेलले बताउनुभयो । ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।
दैलेखको शिरस्थान, नाभिस्थान र पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो । सुरुवातमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेको थिएन । पहिलो चरणमा चिनियाँ प्राविधिकले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागि रिङ हाउस निर्माण गरी ड्रिलिङको काम सुरु भएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ भन्दै भूगर्भविद् लुइँटेलले खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने र त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडि बढ्ने स्पष्ट पार्नु भयो ।
चीन सरकारको दुई अर्ब ५० करोड रुपियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो ।