• १३ असोज २०८१, आइतबार

डेङ्गु रोकथाममा ध्यान दिन सरकारसँग माग

blog

राष्ट्रियसभा बैठक । फाइल तस्बिर

काठमाडौं भदौ १६ गते । राष्ट्रियसभा बैठकमा सांसदहरूले अघोषित रूपमा लोडसेडिङ हुन थालेको भन्दै असन्तुष्टि व्यक्ति गर्नुभएको छ । बिहीबार बैठकमा शून्य समयमा भाग लिनुहुँदै सांसद सांसद नारायणदत्त मिश्रले अघोषित रूपमा लोडसेडिङ हुन थालेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । साथै उहाँले डेङ्गुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद उदयबहादुर बोहोराले तुलसीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरबाही भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद बोहोराले तुलसीपुरदेखि कपुरकोटसम्मको सडकखण्ड निर्माणमा सडक डिभिजन कार्यालय दाङ र ठेकेदारले लापरबाही गरेको बताउनुभयो ।

उहाँले सो सडक खण्डमा मिलेमतो गरी भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘‘राप्ती राजमार्ग अस्तव्यस्त छ । यात्रीहरूले ठूलो सास्ती बेहोरिरहेका छन् । तुलसीपुरदेखि कपुरकोटसम्मको खण्डको बिजोग छ । यस बारे सदनमा पहिले पनि कुरा उठाएको हुँ । कुनै सुनुवाइ भएन । यसमा सडक डिभिजन कार्यालय दाङ र ठेकेदारको मिलेमतो र लापरबाही प्रस्ट देखिन्छ । यो गलत हो, बदमासी हो । यो मिलेमतोपूर्ण भ्रष्टाचार हो । त्यसो भएको हुनाले म सम्बन्धित मन्त्रालय र निकायलाई गम्भीर ध्यानाकर्षण होस् भन्ने अनुरोध गर्न चाहन्छु ।’’

त्यस्तै, राष्ट्रियसभाका अर्का सदस्य उर्मिला अर्यालले मधेसमा सिँचाई र मलको अभावका कारण खेतीयोग्य जमिन बाँझो रहेको बताउनुभयो । उहाँले यसको समाधानका लागि बहुउद्देश्यीय पहाड–मधेस सिँचाई आयोजना कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । उहाँले भन्नुभयो, ‘‘मधेसमा सिँचाई र मलको अभावले खाद्यान्नको स्रोत भएको मधेसको जुन जमिनहरू छ । त्यसको उपयोग हुन सकिरहेको छैन । बारम्बार यो समस्या मधेसले झेलिरहेको अवस्थामा बहुउद्देश्यीय पहाड–मधेस सिँचाई आयोजनाहरूलाई कार्यान्वयन गरेर लैजानुपर्ने, मललाई समयमै उपलब्ध गराउनुपर्ने सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’

सांसद भुवनबहादुर सुनारले सहकारीहरूले जनताको रकम लिएर फरार हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मदनकुमारी साह गरिमाले कैलाली जिल्लामा रहेको पथ्रैया, मोहना, काँडा, कान्द्रा र कर्णाली नदी तटीय क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालको कैलाली जिल्लाका नदिहरुमा डल्फिन वर्षायाममा देख्न पाइन्छ । तर अहिलेसम्म राज्यको त्यतातर्फ ध्यान नगइरहेको अवस्थामा म कैलाली क्षेत्रको दक्षिण पूर्वी क्षेत्र टिकापुर र भजनी नगरपालिकामा रहेका पथ्रैया, मोहना, काँडा, कान्द्रा र कर्णाली नदी तटीय क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गरियोस् भनी सम्बन्धित मन्त्रालयसँग माग गर्दछु ।’’

यसै गरी, अर्का सांसद मोहम्मद खालिदले गत वर्ष सुख्खा ग्रसित किसानले पाउने भनिएको राहत रकम सिरहा नगरपालिकाका किसानहरूले हालसम्म नपाएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘‘गतवर्ष सुख्खाबाट ग्रसित किसानहरूलाई सरकारले क्षतिपूर्ति वा राहत स्वरूप केही रकम प्रदान गर्ने निर्णय गरेको थियो । अधिकांशले पायो पनि । तर सिरहा नगरपालिकाका दर्जनौँ किसानहरूले हालसम्म यो राहत रकम पाएको छैन । त्यसतर्फ म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’’

सांसद सुरेशकुमार आले मगरले काठमाडौंमा डेङ्गुको प्रकोप फैलिएको भन्दै यसलाई गम्भीर रूपमा लिएर रोकथामको लागि पर्याप्त तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सदस्य राजेन्द्रलक्ष्मी गैरेले आगामी निर्वाचनमा महिलाहरूलाई धेरैभन्दा धेरै प्रत्यक्षतर्फ निर्वाचित गराउनुपर्ने बताउनुभयो । उहाँले बुटवल–काठमाडौंको सडकको दुर्दशा रहेको भन्दै यसको निर्माणको निम्ति सरकारको ध्यानाकर्षण गराउनुभयो ।