• ६ कात्तिक २०८१, मङ्गलबार

प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयानपछि समिति सभापति र सदस्यको प्रतिक्रिया

blog

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिहीबार सिंहदरबारमा आयोजित महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि सहभागी हुँदै । तस्बिर : चन्द्रकला क्षेत्री, रासस

काठमाडौं, भदौ १६ गते । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । 

बिहीबार बिहान सवा ११ बजेबाट सुरु भएको बयान महाअभियोग सिफारिस समितिका सदस्यको कार्य व्यस्तताका कारण दुई घण्टा बसेर सकिएको हो । बिहीबारको बैठकमा प्रधानन्यायाधीश जबराले दुई वटा प्रश्नको जवाफ दिनुभएको छ । आज प्रधानन्यायाधीशले न्याय सम्पादन गर्न नसकेको र भ्रष्टाचारको अभियोग लागेको बारेमा बयान लिएको समितिका सदस्यको भनाइ छ । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर विष्टले बैठकले भदौ १९ गते बिहान ११ बजे बस्नेगरी सकिएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीशले अहिले आफ्नो हिसाबबाट जवाफ दिइरहनुभएको र त्यसको सत्यताका बारेमा समितिले पुनः अध्ययन गरेर निष्कर्ष निकाल्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनको दिनसम्म समितिलाई समय रहेको उल्लेख गर्दै सकेसम्म चाँडै टुङ्ग्याउने रणनीतिमा समिति रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘छिटो सक्नुपर्ने कुरा भयो । १९ गते ११ बजे बैठक बस्छ, उहाँसँग फेरि बयान लिने काम हुन्छ । उहाँले अहिले आफ्नो किसिमले जवाफ दिनुभएको छ । हामी सबै यो प्रक्रिया  छिटो टुङ्गिनुपर्छ भन्ने सोचमा छौँ । मङ्सिर ४ गते निर्वाचन छ, त्यो बेलासम्म हामीलाई समय छ भन्ने कुरा सोचेका छौँ ।’

प्रश्न लामो हुँदा व्याख्या पनि लामै भयो : मीन विश्वकर्मा 

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले आजका प्रश्नहरू लामो भएकोले दुई वटा मात्र प्रश्नको बयान सकिएको जानकारी दिनुभयो । उहाँले प्रधानन्यायाधीशले व्यक्त गर्नुभएका शब्दमा आपत्ति जनाउनु नहुने बताउनुभयो । उहाँले न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर गरियो भन्ने अभियोगको बारेमा प्रधानन्यायाधीशसँग बयान लिएको बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले बयानका क्रममा समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा गएको बताउनुभयो ।उहाँले बुधबार, न्यायाधीशमाथि आरोप लगाउनुभएको र आज संसद् र सांसदमाथि आरोप लगाउनुभएको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, ‘आज अलि छिटो हुन्छ लागेको थियो । तर, ५ नम्बर प्रश्न लामो र व्याख्यात्मक थियो ।  त्यसैले प्रधानन्यायाधीशको जवाफ पनि लामो रह्यो । २ वटा प्रश्नको मात्र उत्तर आयो । उहाँले व्यक्त गरेका शब्द र अभिव्यक्तिका विषयमा लिएर हामीले आपत्ति मान्नु हुँदैन । आज मान्य सदस्य उपत्यका बाहिर जानुपर्ने भएकोले बैठक रोकेको हो । आज उहाँले न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर गरियो भन्ने अभियोगको प्रश्न थियो ? उहाँले समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा जानुभयो ।  हिजो बाँकी अरूलाई आरोप लगाउनुभयो आज हामीलाई नै लगाउनु भयो ।’


बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले महाअभियोगलाई निष्पक्षताका साथ कसरी छिटो छरितो बनाउने भन्नेकुरामा समितिमा छलफल हुने बताउनु भयो । उहाँले अहिलेको समितिले बनाएको कार्यतालिका परिवर्तन गर्न आवश्यक रहेकोले १९ गते अगावै पनि समितिको बैठक बोलाएर छलफल गर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘चुनावमा दौडिने पनि हो, अरू कुराहरू पनि छ । चुनावमा दौडिनुपर्छ भन्दैमा महाअभियोग जस्तो कुरालाई एक दिनमा  हचुवामा दोषी साबित गर्ने कुरा पनि र निर्दोष साबित गर्ने कुरा पनि  हुन सक्दैन । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । कसरी यसलाई छिटो छरितो बनाउने भन्नेकुरामा समितिमा हामी छलफल गर्छौँ । कार्यतालिका सच्याउनुपर्नेछ । आज पनि र हिजो पनि नियमावलीको कुरा उठाउनुभएको छ र अर्को संविधानको कुरा उठाउनुभएको छ ।’

सांसद शर्माले बयानमा प्रधानन्यायाधीश जबराले   नियमावली र संविधानको कुरा उठाउनुभएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश राणाले बैठकमा प्राकृतिक न्यायको सिद्धान्त अनुसार आफैँ उजुरी गरेर आफैँले छानबिन गर्न पाउनुहुन्न भन्ने धारणा राख्नुभएको र समिति सदस्यले संसद्को नियमावलीमा महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसद समितिमा बस्न नपाउने भन्ने प्रावधान नभएको र नियम, कानुन र नियमावली अनुसार नै छानबिन गरेको कुरा सांसदले राखेको बताउनु भयो । 

समितिले प्रधानन्यायाधीश जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको छ । गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो ।