• १३ साउन २०८१, आइतबार

वालिङमा मिनी रङ्गशाला निर्माण गरिँदै

blog

वालिङ नगरपालिका ८ निर्माणाधिन मिनी रङ्गशाला । तस्वीर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, भदौ १६ गते । वालिङमा मिनी रङ्गशाला बनाउन सुरु गरिएको छ । वालिङस्थित खेल मैदानलाई मिनी रङ्गशालाका रूपमा विकास गर्न सुरु गरिएको हो । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । यस अन्तर्गत राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङमा सञ्चालन गरिने र त्यसका लागि खेलमैदान व्यवस्थापनमा नगरपालिका लागेको छ । 

तत्काल राष्ट्रिय महिला फुटबल प्रतियोगिता लक्षित मिनी रङ्गशाला बनाउन सुरु गरिइएको भए पनि पाँच वर्षमा मिनी रङ्गशालाका रूपमा विकास गर्ने लक्ष्यसहित काम सुरु गरिएको वालिङ नगरपालिकाले जनाएको छ । 

“खेल मैदानलाई नगरपालिकाको स्वामित्वमा रहने गरी रङ्गशालाका रूपमा विकास गर्ने लक्ष्यसहित योजना बनाएर काम सुरु गरेका छौँ” नगर प्रमुख कृष्ण खाणले भन्नुभयो । अहिले भइरहेको खेलमैदान स्थानीय पूर्णामृत भवानी मावि, वालिङ बहुमुखी क्याम्पस र केही व्यक्तिको नामको जग्गामा रहेको नगरपालिकाले जनाएको छ । 

काम चलाउनका रूपमा रहेको खेल मैदानलाई जग्गा थपगरी व्यवस्थित गर्न नगरपालिका जुटेको छ । अहिले व्यक्तिका नाममा रहेको करिब पाँच रोपनी जग्गा थपेर व्यवस्थापन गर्न लागिएको वालिङ नगर प्रमुख खाणले जानकारी गराउनुभयो । 

नगरपालिकाले सरोकारवालासँगको छलफल पश्चात् खेल मैदानलाई व्यवस्थित गर्न सुरु गरेको नगर उपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सबै सँगको सहकार्यमा यसलाई मिनी रङ्गशालाको रूपमा विकास गर्छौँ ।’

कामचलाउ खेलमैदानका भरमा पनि वालिङका धेरै जना फुटबल खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन भएका सफल छन् । स्याङ्जाबाट नेपाली फुटबलका विभिन्न उमेर समूहदेखि सिनियर टिमसम्म पनि यही क्षेत्रका खेलाडी छनौटमा पर्नेगरेका छन् । ढिलै भए पनि रङ्गशाला निर्माणका लागि नगरपालिकाले योजना बनाएकोमा फुटबलर लक्ष्मण रुचालले खुसी व्यक्त गर्नुभयो ।