बाहिर बादल गडगडाइरहेछ । एकैछिनमा आकाश अन्धकार हुन्छ भने अर्को क्षणमा सूर्यको किरण देखा पर्दछ । उज्यालोपछिको अँध्यारो र अँध्यारोपछिको उज्यालो हुन्छ भन्ने यस्तै होला भन्ने प्रज्ञाको मनमा आउँछ । आज उनलाई पनि कहिले मन प्रसन्न हुन्छ भने कहिले मन विचलित हुन्छ । के भइरहेछ उनी आफैँलाई आफैँसँग प्रश्न गर्छिन् । आफैँ केलाउन थाल्छिन् विगतका सुखद् तथा घटित घटनाहरूलाई । कुसुमको जीवनमा घटेको घटना आज प्रज्ञाको मन मस्तिष्कमा सल्बलाइरहेछ । कुसुम र प्रज्ञा स्कुलदेखि नै मिल्ने साथी । कलेज पनि साथै पढेका । दुवैको समयमा नै विवाह भएको । संयोगवश दुवैका श्रीमान् एकअर्काका मिल्ने साथी पनि रहेछन् । त्यो नाताले पनि प्रज्ञा र कुसुमको दोस्ती झनै गाढा भयो । एकअर्काका सहकर्मीका साथै सहयोगी नै भइरहे कुसुम र प्रज्ञा । प्रज्ञा कलेजमा पढाउँदथिन् भने कुसुम अफिसमा काम गर्थिन् । समय त बाइपङ्खे घोडाभैmँ उडिरहन्छ, आफ्नो गतिलाई उसले छोट्याउनै सक्दैन । दुई मित्रको समय–समयमा भेटघाट त भई नै रहन्थ्यो । एक दिन कुसुम प्रज्ञाको घरमा आइन् । उनलाई त्यहाँ प्रज्ञाको छोरीको चहलपहल देखेर अति नै रमाइलो लाग्यो । हो प्रज्ञा र कुसुमको एकै वर्षमा विवाह भएको हो । प्रज्ञाले वर्ष दिनभित्रै छोरी पाइन् । तर कुसुमको श्रीमान्लाई बच्चा पाउने इच्छै थिएन् । दैव संयोग कुसुमको महिनावारी रोकियो । कुसुम दङ्ग परिन् तेस्रो महिनामा यो सुखद् कुरा उनले श्रीमान् उमेशलाई सुनाइन् । तर उमेश त सुन्ने वित्तिकै एकदमै रिसाए । कुसुमले कत्रो उत्साहले आफ्नो प्रथम सन्तानको आगमनको खुसीयाली मनाउने सुरमा खबर सुनाउँदा त उमेशको विपरीत रवैयाले उनलाई निराश बनायो । उमेशले कुसुमलाई तुरुन्तै एबोर्सन गर्न सल्लाह दिए । तर कुसुम मानिन् । आखिर पुरुष प्रधान देशमा जति गरे पनि कुसुमको केही लागेन र उनी लाचार भएर उमेशसँग आफ्नो अङ्ग तुहाइन् । डाक्टर छेउ गइन् र सबै सपना सेलाएर आइन् । आज कुसुमलाई प्रज्ञाको छोरीको रौनक देख्दा उनलाई विगतका ती सबै घटनाहरू सर्लक्क आँखाभरि आयो । आज मेरो पनि यस्तै सन्तान हुन्थ्यो होला भन्ने कल्पनाले कुसुमका आँखा रसाए ।
त्यही बेला प्रज्ञा चिया र खानेकुरा लिएर आइन् । साथीको न्याउरो अनुहार देखेर सोधिन्– “ए साथी के हो हँ, कता हराइस् ?” कुसुम झसङ्ग भइन् । केही होइन भन्दा पनि प्रज्ञाले जिद्दी गरेपछि कुसुमले आपूmसँग बितेका दुःखद् घटनाहरू सुनाइन् । त्यसपछिको घटना र झनै दुःखदायी थियो । उनी भन्दै गइन् केही वर्षपछि कुसुमको गर्भ रहन सकेन र डाक्टरलाई जचाउँदा त पहिलो गर्भपतन गर्दा डाक्टरको असावधानीका कारणले अब उनी मातृत्व सुखबाट वञ्चित रहनुपर्ने भन्ने प्रमाणित भयो । अब कुसुम पीडाले छटपटाइन तर उनले हृदयको पीडामा साथ दिने को ? प्रज्ञा आफ्नो अभिन्न मित्रको यस्तो दुःखदायी घटना सुनेर आश्चर्यमा परिन् र दुवै मित्र एक आपसमा अङ्क माग गरी दुःख साटासाट गर्न खोजे ।
“अनि फेरि अर्को कुनै डाक्टरलाई देखाउने हो कि साथी ?” धेरैबेर पछि प्रज्ञाले कुसुमलाई भनिन् । तर अब कुनै डाक्टरले पनि केही गर्न नसक्ने कुरा सुनेपछि प्रज्ञा साथीलाई परेको पीरको कसरी समाधान गर्नेबारे गहिरो चिन्तामा परिन् । सधैँ हँसिलो अनुहारमा देखा पर्ने कुसुम भित्रभित्रै यति असहाय, विवश र दुःखी छन् भन्ने कुराले प्रज्ञालाई साह्रै नै दुःख लाग्यो । पुरुष प्रधान देशभित्र महिलामा रहेको दैवी शक्तिको कसरी अवहेलना गर्न सक्छन् पुरुषहरूले । आफ्नो अर्धाङ्गिनी भनिने, जीवनसाथी भनिने र हरपलको दुःख सुखको साथीको पीडालाई आत्मसाथ गर्न नसक्ने कस्तो विवेकहीन हृदय पुरुष जातीको भन्ने अनेक विचारले प्रज्ञा अशान्त हुन्छिन् । उनी कुसुमको जीवनको शून्यपनलाई कसरी प्रफुल्लित बनाउने भन्नेतर्फ विचार गर्न थालिन् ।
केही दिनपछि एक दिन प्रज्ञाले कुसुमलाई आपूm आबद्ध भएको एउटा अनाथ आश्रमको कार्यक्रममा लगिन् । त्यहाँ धेरै बच्चाहरू दौडीदौडी खेलिरहेका थिए । त्यो देखेर कुसुम रमाइलो मान्दै हाँसी हाँसी बच्चाहरूसँग रमाउन थालिन् । प्रज्ञालाई त्यो देखेर आत्मसन्तुष्टि भयो, साथी एकैछिन भए पनि प्रसन्न त भइन् र उनको मातृ हृदय उज्यालो भएको उनले चाल पाइन् । त्यसैबेला एउटा एक वर्षको बालकको रुवाइले उनीहरूलाई तान्यो । कुसुम र प्रज्ञा बच्चा रोएकैतर्फ गए । त्यहाँ आश्रमको वार्डेन पनि दौडिँदै आइपुगिन् । त्यतिबेलासम्म त्यो रोएको बच्चालाई कुसुमले अँगाली सकेकी थिइन् र फकाउने प्रयत्न गर्दै थिइन् । सानी एक वर्ष जतिकी, गोरी, बाटुलो अनुहारकी छोरी कुसुमसँग टाँसिएर एकछिनमा चुप लागी । त्यो देखेर कुसुमले प्रज्ञालाई भनिन्– “हेर त प्रज्ञा ! कति राम्री बच्ची मेरो अँगालोमा आउँदैमा चुप पनि लागि हगी ?” कुसुमको अनुहारमा एउटा मातृत्वको चमक देखिन् प्रज्ञाले । उनलाई खुसी लाग्यो । त्यत्तिकैमा वार्डेनले आई बच्चालाई पालनामा सुताइन् र भनिन्– “हिजै मात्र यो बच्चीलाई यहाँ ल्याए । एउटा मोटर दुर्घटनामा आमा–बाबु बितेछन्, सानी यो बच्ची कसरी कसरी बाँचिछ । प्रहरीले यहाँ ल्याएर बुझाए ।”
कुसुम र प्रज्ञा मायालु अनुहार त्यो बच्चीलाई हेर्दै घर फर्के । भोलिपल्ट कुसुम प्रज्ञाको घरमा आइन् । दुवै साथी सँगसँगै चिया पिउँदै टीभी हेर्न थाले । तर कुसुमको मन त अर्कैतिर दौडिरहेको थियो । हिजो अनाथाश्रमबाट घर फर्केदेखि नै उनको मनमा एउटा नौलो र सुखद् आकर्षणले छटपटी तुल्याइरहेको थियो । अशान्त मनमा खुसीका किरणहरू पोखिँदै थिए भने आफ्नो बगैँचामा एउटा मायाको पूmल फुल्न लागेको आभास भएझैँ मातृत्व फक्रिरहेको थियो । कुसुमलाई मनमा केही गरौँ, कसलाई यो अनुभव साटासाट गरूँ भन्ने बेचैनी भएकाले नै उनी प्रज्ञाको घरमा आएकी हुन् । उनलाई त्यो टीभीको दृश्यसँग केही रुचि थिएन र प्रज्ञालाई भनिन्– “साथी ! यो टीभी बन्द गर, मलाई मद्दत गर, प्रज्ञा मद्दत गर ।” एक्कासि कुसुम प्रज्ञाको अङ्कमालमा भित्रिइन् र आँसुका धारा बगाउन थालिन् । प्रज्ञाले आफ्नो मायालुपनले उनलाई सान्त्वना दिँदै कुरा अगाडि बढाउने प्रयास गरिन् । कुसुमले आफ्नो मनको उद्गार व्यक्त गरिन्– “हेर प्रज्ञा ! हिजो त्यो अनाथाश्रमको बच्चीलाई बोकेदेखि मेरो मनमा एउटा बेग्लै किसिमको अनुभूति भइरहेछ साथी ।
मेरो दिलको रहेक धुकधुकीले उसैलाई पुकारिरहेछ जस्तै मलाई भान भइरहेछ । के गर्ने अब मलाई त्यो बच्चीको मोह भइसक्यो साथी के गर्ने भन न ।” प्रज्ञालाई खुसी लाग्यो कुसुमको कुरा सुनेर उनले भनिन्– “हेर साथी ! तिम्रो मनमा मातृत्वको भावना जागृत भयो । अब केही गरी तिम्रो श्रीमान्ले बच्चीलाई अपनाउन स्वीकृति दिनुहुन्छ भने म तिम्रो सहायता गर्न सक्छु कुसुम ।”
तत्कालै कुसुम प्रसन्न मुद्रामा साथीको हातमा हात राख्दै भनिन्– “यो कुराको छलफल घरद्वारमा हामी दुईबीच हिजै भयो र उहाँले यस विषयमा समर्थन नै जनाउनुभएको छ । त्यसैले अबेर नगरौँ । हिँड म त आजै छोरीलाई घरमा भित्र्याउने मनसायले तिमीकहाँ आएको हुँ साथी हिँड जाऊ । हिजो उसलाई देखेपछि म त एक किसिमको नौलो अनुभूतिमा विचरण गरिरहेछु जस्तै भइरहेछ मलाई ।
एकैछिनको साथले मलाई त्यो केटीको मोहपासमा बाँधेजस्तै भइरहेछ । एकछिन पनि मेरो मन मस्तिष्कबाट ओझेल भएकी छैन त्यो मेरी प्यारी छोरी साथी ! हो त्यो मेरै विछोडिएकी प्यारी छोरी नै हो ।” कुसुम अत्यन्त भावुक भइन् । तुरुन्तै दुवै मित्र अनाथाश्रमतिर खुसी बोक्न प्रस्थान गरे ।