• २१ जेठ २०८१, सोमबार

गाईपालनबाट नेत्री भण्डारीलाई मासिक ४५ हजार आम्दानी

blog

गाई फार्ममा रमाउँदै महिला नेतृ सावित्रा भण्डारी । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, भदौ १५ गते । गुल्मीको रेसुङ्गा नगरपालिका अर्खलेकी सावित्रा भण्डारीले गाईपालन व्यवसाय पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । रेसुङ्गा नगरपालिका –४, अर्खलेकी महिला नेतृ समेत रहनुभएकी भण्डारीले गाईपालन व्यवसायबाट राम्रो आम्दानी भइरहेको बताउनुभयो । 

महिला हक अधिकार र सशक्तीकरणका लागि समाजमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएकी भण्डारीले गाईपालन सुरु गरेको दश वर्ष पुगेको छ । रेसुङ्गा गाई फार्म विधिवत् रूपमा दर्ता गरी उन्नत जातका चारवटा गाई खरिद गरी व्यवसाय सुरु गर्नुभएकी भण्डारीको फार्ममा अहिले सानाठूला गरी २० वटा गाई छन् । उहाँको फार्ममा होलस्टेन, जर्सी र साइवाल उन्नत जातका गाई छन् । 

“गाईका लागि आवश्यक पर्ने दानामा बढी खर्च हुनेगरेको छ । त्यसमध्ये पराल, गहुँको चापट, गहुँको ढुटो खरिद गर्नुपर्छ” उहाँले भन्नुभयो, “गाईका लागि पराल छल्दी, हुलाके फाँटबाट ल्याउँछौँ । दाना महँगो हुँदा गाईपालक कृषकलाई बढी समस्या हुनेगरेको छ ।”

दैनिक एउटा गाईले २० लिटरभन्दा बढी दूध दिनेगरेको बताउँदै भण्डारीले भन्नुभयो, “दूध बिक्रीका लागि बजारको कुनै पनि समस्या छैन । बिहान साँझ गरी दैनिक ९०–९५ लिटर दूध रेसुङ्गा डेरीमा पठाउने गरेका छौँ । खर्च कटाएर मासिक ४० देखि ४५ हजार रुपियाँ आम्दानी हुन्छ ।” गाई फार्मको सम्पूर्ण काम एक जना कामदार र आफ्नो परिवारले गर्दैआएको बताउनुभयो । 


गाईपालक कृषकलाई गाई पालनका लागि त्यति सहज भने छैन । “कृषकले लाखौँ खर्चेर गाई किन्यौ । कतिपय गाई अनुत्पादक ९बाँझा० पर्छन् । बाच्छालाई व्यवस्थापनका लागि समस्या हुन्छ” भण्डारीले थप्नुभयो, “पहाडी क्षेत्रमा पशुपालन गर्दा घाँसको व्यवस्थापन गर्न कठिन हुन्छ । घाँस लगाउन आफ्नै जग्गाले पुग्दैन । भाडामा जग्गा लिँदा महँगो पर्छ ।”

सरकारले कृषक प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदान उपलब्ध गराएमा सहयोग पुग्ने उहाँले बताउनुभयो । अनुदानकै लागि झोलामा कागजपत्र मिलाएर हिड्नेलाई होइन वास्तविक कृषक पहिचान गरी अनुदान दिनुपर्ने उहाँको भनाइ छ ।

“स्थानीय सरकारले पनि पशु शाखामा अनिवार्य रूपमा पशु प्राविधिक र पशुका लागि आवश्यक औषधिको राम्रो प्रबन्ध मिलाउनुपर्छ” उहाँले भन्नुभयो, “बस्तुभाउ बिरामी पर्दा तत्काल प्राविधिक उपलब्ध गराउने व्यवस्था गरिदिनुपर्छ ।” प्रशस्त घाँसको व्यवस्थापन, पशुपालन सम्बन्धी प्राविधिक ज्ञान र बजारको सुनिश्चितता गरेर मात्र पशुपालन व्यवसाय सञ्चालन गर्दा उचित हुने उहाँले बताउनुभयो ।