• १९ असोज २०८१, शनिबार

बार्सिलोना र रियलको सानदार जित

blog

रियल भालाडोलिडविरुद्ध सट प्रहारगर्दै बार्सिलोनाका रोबर्ट लेवान्डोस्की । तस्बिर : एएफपी

काठमाडौं, भदौ १३ गते । बार्सिलोना र रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ४–० गोलले हरायो । अर्को खेलमा रियलले स्पान्योललाई ३–१ गोलले स्तब्ध बनायो । 

एकपक्षीय खेलमा बार्सिलेनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्नुभयो । पेड्रो र सर्जी रोबर्टोले एक एक गोल गर्नुभयो । लेवान्डोस्कीले २४औं मिनेटमा खाता खोल्नुभएको थियो । पेड्रोले ४३औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाउनुभयो । 

लेवान्डोस्कीले ६४औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्नुभयो । दोस्रो हाफको इन्जुरी समयमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई सजिलै जिताउनुभयो । बार्सिलोनाको यो लगातार दोस्रो जित हो । जितसँगै तीन खेलबाट सात अंक बनाएको बार्सिलोना तेस्रो स्थानमा छ । पराजित भालाडोलिड एक अंक सहित १९औं स्थानमा छ । 

अर्को खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा भिनिसियस जुनियरले गोल गर्नुभयो । स्पान्योलका जोसेलुले ४३औं मिनेटमा एक गोल फर्काउनु भएको थियो । जितसँगै शीर्षस्थानमा रहेको रियलले तीन खेलबाट नौ अंक बनाएको छ । एक अंक बनाएको स्पान्योल १६औं स्थानमा छ । अर्को खेलमा गेटाफे र भिल्लारियलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी