• १९ असोज २०८१, शनिबार

केनको गोलमा टोट्टनहाम विजयी

blog

नटिङघमविरुद्ध सट प्रहार गर्दै टोट्टनहामका ह्यारी केन । तस्बिर : एएफपी

काठमाडौं, भदौ १३ गते । ह्यारी केन चेम्किएपछि टोट्टनहाम इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा टोट्टनहामले नटिङघम फरेस्टलाई उसैको मैदानमा २–० गोलले हरायो ।

टोट्टनहामको जितमा दुवै गोल केनले गर्नुभयो । पाँचौं मिनेटमा खाता खाल्नुभएका केनले ८१औं मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई सजिलै जिताउनुभयो । लिगमा अपराजित रहेको टोट्टनहाम जितसँगै तेस्रो स्थानमा उक्लिएको छ । टोट्टनहामले चार खेलबाट १० अंक बनाएको छ । समान खेलबाट चार अंक बनाएको नटिङघम १४औं स्थानमा छ ।

शीर्षस्थानमा रहेको आर्सनलको १२ अंक छ । दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीको पनि १० अंक छ । आइतबार राति नै भएको अर्को खेलमा वेस्ट हामले एस्टर्न भिल्लालाई १–० गोलले हरायो । न्युक्यासल युनाइटेड र वल्भ्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी