• १७ असार २०८१, सोमबार

जनशक्ति अभाव हुँदै गएकामा चिन्ता

blog

नवराज कट्टेल

विराटनगर, भदौ १३ गते । उद्योगलाई आवश्यक दक्ष श्रमशक्तिको अभावमा उत्पादनमा प्रत्यक्ष असर परेको र मुलुकभित्रै रोजगारीको अवसरसमेत गुम्दै गएकोतर्फ सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उद्योगलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा सरकारसँग सहकार्य गर्न तत्पर रहेको भन्दै उद्योगी व्यवसायीले यसका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ सहित विभिन्न पाँचवटा उद्योगी तथा व्यावसायिक सङ्घसंस्थाको सहकार्यमा आइतबार विराटनगरमा आयोजित श्रम बजार सूचना कार्यशालामा सहभागीले युवाको श्रम दक्षता वृद्धि गर्दै नेपालमै काम गर्ने वातावरण बनाउन जरुरी रहेको औँल्याएका हुन् । 

कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुलुकको आर्थिक विकासका लागि दक्ष श्रमशक्ति आवश्यक रहेको बताउनुभयो । उहाँले २० प्रतिशत युवाशक्ति विदेशकै श्रममा निर्भर रहेकाले मुलुकभित्रका उद्योग व्यवसाय सञ्चालनका लागि बाहिरबाट मान्छे ल्याएर लगाउनुपर्ने अवस्था रहेको बताउनुभयो । 

मन्त्री आङ्बोले सरकार र निजी क्षेत्र मिलेर काम गर्दै गएको खण्डमा मुलुकभित्रै रोजगारी सिर्जना गर्न र दक्षता प्राप्त गरेका युवा शक्तिको विदेश पलायन न्यूनीकरण गर्न सकिने दाबी गर्नुभयो । उहाँले सीपबिनाको श्रमशक्तिले विदेशमा समेत दुःख पाइरहेकाले मुलुकको बेरोजगारी समस्या समाधानका लागि दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले रोजगारी सिर्जनामा निजी क्षेत्र र सरकारसँगको समन्वय प्रभावकारी रूपमा अगाडि बढेको बताउनुभयो । उहाँले प्रदेश सरकारले समेत दक्ष जनशक्ति उत्पादनका लागि लगानी बढाउँदै लगेकाले उद्योग व्यवसायलाई सहजता हुने विश्वास व्यक्त गर्नुभयो । महासङ्घका प्रदेश १ अध्यक्ष टीकाराज ढकालले सीटीईभीटीसँगको सहकार्यमा प्रदेशकै तालिम प्रशिक्षण 

केन्द्रबाट दक्ष जनशक्ति उत्पादनमा सघाउ पु-याउन सकिने बताउनुभयो ।  कार्यक्रममा रोजगारविज्ञ मनोज शर्मा न्यौपानेले प्रदेश १ का छवटा जिल्लासहित कुल २९ जिल्लामा गरिएको श्रम बजार सूचना सर्वेक्षणबाट प्राप्त भएका तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । उहाँले निर्माण, कृषि र पर्यटन क्षेत्रका मुख्य १०/१० वटा पेसामा हाल आवश्यक रहेको र आगामी पाँच वर्षमा आवश्यक पर्ने दक्ष जनशक्तिको विवरण प्रस्तुत गर्नुभएको थियो । 

सो अध्ययनअनुसार निर्माण क्षेत्रमा आगामी पाँच वर्षमा ५५५ जना कार्पेन्टर, ५२७ जना साइट सुपरभाइजर, ४५३ इलेक्ट्रिसियन जना आवश्यक पर्ने जानकारी दिनुभएको थियो । 

त्यसैगरी कृषि क्षेत्रमा सबैभन्दा बढी पशुपालन प्राविधिक १८४ जना, चिया प्रशोधक १४७ जना, कृषि फार्म प्राविधिक १३३ जना आवश्यक पर्ने अनुमान प्रस्तुत गरिएको थियो । न्यौपानेले पर्यटनतर्फ नेपाली किचेन कुक ५०९ जना, होटल तथा रेस्टुरेन्ट परिचालक २३६ जना र होटल मर्मत प्राविधिक १५९ जना आवश्यक रहेको सर्वेक्षणबाट प्राप्त जानकारी प्रस्तुत गर्नुभएको थियो ।

व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी)का प्रदेश १ प्रमुख नवराज कोइरालाले पहिचान भएका अत्यावश्यक तालिम कार्यक्रमलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।  

कृषि मन्त्रालयका निमित्त सचिव पशुपति पोखरेलले कृषि क्षेत्रमा कम्बाइन हार्भेस्टिङ उपकरणको अपरेटर नेपालमा अभाव रहेको जानकारी गराउनुभएको थियो । त्यसैगरी त्यस्ता उपकरणको मर्मतसम्भार गर्ने प्राविधिक पनि अभाव रहेकाले भारतमा भर पर्नुपरेको बताउनुभयो । 

कार्यक्रममा जिफन्टको प्रदेश १ का अध्यक्ष किशोर धमलाले नेपालमै काम गर्ने वातावरण बनाउन कार्यरत श्रमिकको ज्यालामा भइरहेको विभेद अन्त्य गर्नुपर्नेमा सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको थियो । निर्माण व्यवसायी महासङ्घ प्रदेश १ का अध्यक्ष कमल गौतमले दक्ष जनशक्तिको अभावमा निर्माण क्षेत्र पनि प्रभावित भइरहेको बताउनुभएको थियो । उहाँले दक्ष श्रमिकलाई काम पाउनका लागि भने समस्या नरहेको दाबी गर्नुभयो ।