• १२ असार २०८१, बुधबार

बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढ्छ : मन्त्री भुसाल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १२ गते । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले बहुउद्देश्यीय बुढीगण्डकी जलविद्युत आयोजनाको काम यही वर्ष बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अघि बढाउने बताउनुभएको छ । 

मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी उहाँले सो कुरा बताउनुभएको हो । एक वर्षको मन्त्रालयको कार्यप्रगति सार्वजनिक गर्दै मन्त्री भुसालले बुढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएको बताउनुभयो । सो आयोजना निर्माणका लागि जग्गा मुआब्जा, पुनरबास लगायतको काम करिव सकिन लागेको जानकारी दिनुभयो । 

नेपालमा वर्षाको समयमा विधुत धेरै हुने र हिउँदमा कम हुने भएकाले ६५ दिन भरपर्दो विधुत निर्माणका लागि स्टोरेजमा जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । मन्त्री भएर आएको एक वर्षमा गरेको महत्वपूर्ण काममा बुढीगण्डकी पनि पर्ने उहाँले बताउनुभयो । 

नेपालको विधुत उत्पादन क्षमता ८३ हजार भनिए पनि आर्थिक रुपमा ४३ हजारको मात्र हिसाव गरिएको बताउनुभयो । सरकारको तथ्याङ्कमा ६ हजार ५ सय पीपीए भएको देखिए पनि १५ सय कसैको झोलामा रहेको उहाँको भनाइ छ । त्यसको अनुसन्धान गरिने उहाँले बताउनुभयो । मन्त्री भूसालले चार वर्षदेखि रोकिएको पीपीए अहिले खुला गरिएको र तत्काल बन्द नगर्ने पक्षमा सरकार रहेको जानकारी दिनुभयो । 

मन्त्री भुसालले गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगित क्रमशः ७६.६६ र ८० प्रतिशत उपलब्धि हासिल गरेको बताउनुभयो । गत आवमा विद्युत उत्पादन क्षमता ७४१ मेगावाट थप भई कुल विद्युत उत्पादन क्षमता २२६९ मेगावाट पुगेको उहाँको भनाइ छ । 

६६ केभीभन्दा माथिको प्रशारण लाइन ४४६ सर्किट किमी थप भई ५ हजार ८६ सर्किट किलोमिटर निर्माण भएको बताउनुभएको छ । विद्युत् चुहावट १७.१८ बाट १५.३८ पुगेको पनि बताउनुभयो । मन्त्री भुसालले २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय कार्यान्वयमा आइसकेको बताउनुभयो ।