• १२ असार २०८१, बुधबार

हाइपम्प लिफ्टिङ सिंचाई आयोजना सञ्चालन

blog

सिंचाईका लागि पानी पठाउँदै गरेका कृषक । तस्वीर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ, भदौ १२ गते । स्याङजाको गल्याङ नगरपालिका ११ लवरकोटमा आधुनिक हाइपम्पबाट लिफ्टिङ सिंचाई योजनाको परीक्षण शुरु भएको छ । इन्धन तथा बिजुलीको प्रयोग नगरी गरिने यो लिफ्टिङ नेपालकै पहिलो भएको गल्याङ जिल्ला सिंचाई डिभिजन कार्यलय स्याङ्जाका प्रमुख हरिदत्त पौडेलले बताउनुभयो ।  

बिजुली तथा इन्धनको प्रयोगबिना पानी लिफ्टिङ हुन थालेसँगै बाँझो रहेको जमिनमा समेत खेती गर्न पाइने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सिंचाइका लागि पर्याप्त पानी अभावका कारण गाउँको जग्गा बाँझै थियो । स्थानीय कृषक बिमल खनाल भन्नुहुन्छ, “अब बाँझो जग्गामा हरियाली हुनेभयो । पर्याप्त पानी उपलव्ध हुने भएपछि काम गर्न उत्साह समेत थपिएको छ ।”  

खोला तथा नहरको पानीलाई पाइपको माध्यमवाट टर्वाइनमा खसाली गियरको माध्यमले मोटर घुमाउँदा मोटरले पानी फाल्ने प्रबिधि नै हाइपम्प लिफ्टिङ प्रविधि हो । एक सयदेखि एकसय पचास लिटर प्रतिसेकेन्ड पानी फाल्ने यो प्रबिधिले २० हेक्टर जमिनमा सजिलै सिंचाई गर्न सक्ने बताइएको छ । 

६० मिटर पानी पम्पीङ गरी बाह्रसय मिटरको दूरीसम्म सजिलै पानी पुग्ने हुँदा निम्नस्तरका कृषकका लागि अत्यन्तै राहत मिल्ने योजनाका इन्जीनियर अभिशेख डुम्रेले बताउनुभयो । जिल्ला सिंचाई कार्यालय स्याङजाको समन्वयमा योजना सञ्चालन भइरहेको छ । ७२ लाखको लागतमा आयोजना सम्पन्न हुने जिल्ला सिंचाई कार्यालय स्याङ्जाका प्रमुख पौडेलले जानकारी दिनुभयो । 


लिफ्टिङ सिंचाई आयोजना आटिस्टा कम्पनिले निर्माण गरिरहेको छ । चौबिसै घण्टा मेसीन सञ्चालन गर्न सकिने तथा मेसीनमा खराबि आएमा कम्पनिले नै मर्मत गर्ने सहमति रहेको प्रमुख पौडेलले जानकारी दिनुभयो । 

गाउँको खेतीयोग्य जमिनलाई लच्छित गरी लिफ्टिङ आयोजना सञ्चालन गरिएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सिंचाईको अभावमा लवरकोट गाँउका नागरिक बिस्थापित हुने अवस्था थियो, अव गाउँ नै हराभरा हुनेभयो ।’