• ७ जेठ २०८१, सोमबार

व्रत बसेर अटवारी पर्व मनाउँदै थारु समुदाय

blog

अटवारी पर्वमा व्रतालुहरु भेवाँको पूजा गर्दै । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, भदौ १२ गते । तराईका भूमिपुत्र थारु समुदायमा अटवारी पर्वको रौनक छाएको छ । यो समुदायले दुई दिनसम्म मनाउने अटवारी पर्व आजदेखि सुरु भएको हो । पश्चिम कञ्चनपुरदेखि कैलाली, बर्दिया, बाँके, सुर्खेत, दाङका थारु समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउने गर्छन् । पुरुष, महिला, युवायुवतीले आधा दिनसम्म निराहार व्रत बसेर अटवारी पर्व मनाउने गरिएको पाइन्छ । 

‘भेवाँ’ अर्थात पाँच पाण्डवमध्येको माइलो भाइ भीमको पूजा अर्चना गरेर अटवारी पर्व मनाउने चलन रहेको धनगढी उपमहानगरपालिका –८ का बुधराम चौधरीले बताउनुभयो । भीमलाई थारु समुदायका मानिसले भेवाँ भन्ने गर्दछन् । 

पर्वको पहिलो दिन आज पुरुष र महिला आधा दिनसम्म निराहार व्रत बसेका छन् । उनीहरु दिउँसोतिर विधिपूर्वक पूजाआजा गरेर मात्रै गुलियो पानीसहित अनदीको रोटी, फलफूल लगायत अन्य परिकार खाने चौधरीले बताउनुभयो । व्रतालुहरु व्रतको अघिल्लो राति अर्थात शनिबार राति दर खाएका छन् । जसलाई भिन्सर्या भात भनिन्छ । 

यसैगरी, व्रतालुहरुले पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहान भात र नूनतेल हालेको तरकारी खाना पाउनेछन् । सोमबार बिहानै नुहाइधुवाइ गरेर पूजाआजा गर्ने त्यसपछि भात, फूलौरी, खरिया, माछा, गेडागुडी लगायतका थारु परिवार खाने गर्छन् ।  

व्रतालुहरुले दुवै दिन खानुभन्दा अगाडि आफ्नो अग्रआसनमा छुट्याइएको परिकारमध्ये एक भाग निकालेर राख्छन् । सबै परिकार एक भाग छुट्टयाएर निकालेपछि मात्रै आफू खाने गर्दछन् । त्यसरी छुट्टयाएर निकालिएको विभिन्न परिकार विवाहित छोरीचेली वा दिदीबहिनीलाई कोसेलीको रुपमा दिने गरिन्छ । 

ती परिकारलाई पर्वको दोस्रो एवम् अन्तिम दिन विवाहित छोरीचेली, दिदीबहिनीलाई कोसेली (उपहार) को रुपमा दिने गरिन्छ । जसलाई थारु भाषामा अग्रासन भनिन्छ । माइती पक्षको अग्रासन पाएपछि छोरीचेली निकै खुशी हुनुकासाथै सम्बन्ध अझ सुमधुर हुने विश्वास गरिन्छ । अग्रासन दिन गएका व्यक्तिलाई छोरीचेलीले खुबै आदर–सम्मान, सत्कारका साथ मिठोमसिनो खुवाएर सम्मान गर्ने चलन छ । 

भेवाँको पूजा

थारु समुदायमा प्रचलित किंबदन्तीअनुसार परापूर्वकालमा द्रोपतीसहित पाँच पाण्डव  सुर्खेतको काँक्रेबिहार घुम्न आएका थिए । त्यहीबेला शत्रुको आक्रमणका कारण थारु राजा दङ्गीशरणको राज्य अप्ठ्यारोमा परेको थियो । त्यो खबर पाउनु भएका भीमले रोटी पकाउँदा पकाउँदै दङ्गीशरणलाई सहयोग गर्न पुग्नुभयो । भीमले भोकै पेट शत्रुसँग लडेर राजा दङ्गीशरणको राज्यलाई जोगाएको कारण भीम अर्थात भेवाँको सम्मानमा निराहार व्रत बस्ने चलन चलाइएको बताइन्छ । 

भीमले तावामा रोटी छोडेर राजालाई सहयोग गर्न गएका कारण अटवारीमा व्रतालुहरुले अनदीको रोटी पकाएर खाने चलन छ । अर्को किंबदन्तीअनुसार कुनै बेला राक्षसले थारु चेलीमाथि अत्याचार गरिरहेको थियो । बलवान शूरवीर भीमले राक्षससँग लडेर त्यसलाई पराजित गरी थारु चेलीलाई जोगाउने काम गरेका कारण उहाँको पूजाआजा गरेर अटवारी पर्व मनाउने चलन भएको पनि थारु समुदायमा विश्वास गर्ने गरिएको छ । 

थारु समुदायको अटवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली, कञ्चनपुरमा सार्वजनिक बिदा दिएको छ । यसैगरी, लुम्बिनी प्रदेशले पनि सो प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।