• १२ असार २०८१, बुधबार

बर्नमाउथमाथि लिभरपुलको गोल वर्षा

blog

बर्नमाउथविरुद्ध गोलगरेपछि खुशी मनाउँदै लिभरपुलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, भदौ १२ गते । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नमाउथमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई ९–० गोलले हरायो ।

एकपक्षीय खेलमा लिभरपुललाई जिताउन रोबर्टो फिर्मिन्हो र लुइस डियाजले दुई दुई गोल गर्नुभयो । हार्भे इलियोट, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, भिर्गिल भान डाइक र फाबियो कार्भाल्होले एक एक गोल गर्नुभयो । लिभरपुलले अर्को गोल बर्नमाउथका क्रिस मेपहमबाट आत्मघाती उपहार पाएको थियो ।

पहिलो हाफमा पाँच गोल गरेको लिभरपुलले दोस्रो हाफमा चार गोल थपेको हो । लिगमा लिभरपुलको यो पहिलो जित हो । जितसँगै चार खेलबाट पाँच अंक बनाएको लिभरपुल आठौं स्थानमा छ । तीन अंक बनाएको बर्नमाउथ १६औं स्थानमा छ । 

आर्सनल अपराजित 

यसैगरी आर्सनलले लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा आर्सनलले फुलहामलाई २–१ गोलले हरायो । आर्सनलको जितमा मार्टिन ओडेगार्ड र गाब्रियल मागलहेसले गोल गर्नुभयो । फुलहमका एलेकसान्दर मिट्रोभिचले सान्त्वना गोल फर्काउनुभयो  ।


लिगमा आर्सनलको यो लगातार चौथो जित हो । जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले १२ अंक बनाएको छ । पाँच अंक बटुलेको फुलहाम ११औं स्थानमा छ । दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीको १० अंक छ । घरेल मैदानमा आइतबार राति सिटीले क्रिस्टल प्यालेसलाई ४–२ गोलले हरायो । 

अन्य खेलमा चेल्सीले लेस्टर सिटीलाई २–१, म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटन र ब्राइटनले लिड्स युनाइटेडलाई समान १–० गोलले हरायो । ब्रेन्टफोर्ड र एभर्टनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।