• १९ असोज २०८१, शनिबार

साफ महिला च्याम्पियनसिप टोलीको घोषणा

blog

काठमाडौं, भदौ ११ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म अयोजना हुने साफ महिला च्याम्पियनपसिप फुटबलका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

टोलीको मुख्य प्रशिक्षक कुमार थापाले शनिबार प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट अन्तिम २३ सदस्यीय नेपाली महिला टोलीको घोषणा गर्नुभएको हो । दक्षिण एसियाका सातै देशको सहभागिता रहने च्याम्पियनसिपमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भुटान र श्रीलंका छ । नेपालको पहिलो खेल भुटानसँग भदौ २१ गते खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यसअघि भारतलाई विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्ध गरेका कारण सहभागिता अनिश्चित बनेको थियो । तर, शनिबार मात्र फिफाले भारतमाथिको प्रतिबन्ध फुकुवा गरेपछि साफमा सातै टोलीको सहभागिता सुनिश्चित भएको हो । 

महिला साफको अघिल्लो संस्करण पनि नेपालमै आयोजना भएको थियो । विराटनगरमा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

साफ महिला टोली 

गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर र उषा नाथ

रक्षक : हिराकुमारी भुजेल, अमृता जैसी, गिता राना, पुनम जर्घामगर, निशा थोकर, समिक्षा घिमिरे र विमला विके

मिडफिल्डर : विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्द्रा राई, अनिता बस्नेत र अनिता केसी

स्ट्राइकर : अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी र रश्मीकुमारी घिसिङ ।