• ११ पुस २०८१, बिहिबार

बाबुको सम्झनामा गोकर्णेश्वर

blog

हाम्रो देशमा धार्मिक एवं सांस्कृतिक विविधता छ । यहाँ भिन्नभिन्न जातजाति र धर्मका मानिस बस्दै आएका छन् । विभिन्न धर्म मान्ने मानिस विभिन्न चाडपर्व मनाउँछन् । त्यसमध्ये कुशे औँसी तथा बाबुको मुख हेर्ने पर्व पनि एक हो । गोकर्णे औँसीका रूपमा भाद्र कृष्ण औँसी यो पावन तिथिमा काठमाडौँ सहरदेखि उत्तर–पूर्वमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा ठूलो मेला लाग्छ । 

गोकर्णेश्वर महादेवको महिमाको सम्बन्धमा स्कन्दपुराणअन्तर्गत नेपाल महात्म्यमा उच्च तहको चर्चा गरिएको पाइन्छ । काठमाडौँदेखि करिब १० किलोमिटर उत्तरपूर्वमा पवित्र बागमती नदीको किनारमा प्राचीन कला कौशलले भरिपूर्ण गोकर्णेश्वर महादेवको मन्दिर अवस्थित छ । यसको दक्षिणपूर्वमा गोकर्ण राजनिकुञ्ज वन छ भने यस मन्दिरको पश्चिममा यज्ञडोल डाँडा पर्छ । यस यज्ञडोलमा रावणले तपस्या गरेको भन्ने किंवदन्ती पाइन्छ । हाल पनि यस जगडोल डाँडा कतैकतै खन्दा चरुको जस्तो कालो गोल र अङ्गार पाइन्छ । यज्ञडोलबाट अपभ्रंश भएर नै हाल जगडोल भएको छ ।

यस मन्दिरको महात्म्य  अन्य धार्मिक शास्त्रलगायत हिमवत् खण्डको महात्म्य  तथा स्वस्थानी व्रतकथामा उल्लेख भएको पाइन्छ । स्वस्थानी महात्म्यअनुसार महादेवले मृग रूप लिई श्लेष्मान्तक वन (लप्सीको रुखहरू भएको) मृगस्थलीमा वनविहार गर्न लाग्दा देवताले महादेवलाई पाएनन् । जगत्माता पार्वतीसमेत नपाउँदा जताततै खोजी गरे, पशुपतिको गौरीघाटमा तपस्या गर्न लागेकी जगत्माता पार्वतीलाई भेटी, उहाँसँग सोध्दा सुनको एक सिङ भएको मृग रूप लिई श्लेषमान्तक वनमा वनविहार गर्न लागेका महादेव साँच्चैै मृग रूप लिई मृगिनीसँग वनविहार गर्न लागेका देखे । 

छोराछोरी र आमाबाबुको सुमधुर सम्बन्ध गाँस्ने आजको यो पवित्र दिनलाई हामीले आफ्नो धर्म, संस्कृति र परम्पराअनुरूप श्रद्धा र आस्थापूर्वक मनाउने गर्दछौँ । यसैमा हाम्रो आफ्नोपन र गौरवगाथाको इतिहास पनि लुकेको छ ।

महादेवको दर्शन पाउन निकै प्रार्थना गर्दा पनि महादेव खुसी नभएपछि, तीनै जना देवताले सल्लाह गरी महादेवलाई समाउन खोज्दा तीनै जनाले सिङमा समातेछन् । उक्त सिङ भाँचिएर तीनै जनाको हातमा एक÷एक टुक्रा परेपछि महादेवले इन्द्रको हातमा रहेको मत्र्यमण्डल गोकर्णमा भाद्र कृष्ण अमवश्याका दिन स्थापना गर्नू भन्ने आज्ञा भएअनुसार स्थापना गरिएको हो । सतीदेवीको शरीर पतन हुने क्रममा यस ठाउँबाट केही माथि पूर्व उत्तरमा आइपुग्दा उनको माथिल्लो ओठ पतन भएको पिङ्गलस्थान छ ।

यस मन्दिरको निर्माण कसले गरेको हो भन्ने कुनै शिलालेख, ताम्रपत्र वा इतिहासमा समेत कतै उल्लेख भएको पाइएको छैन । यस मन्दिरबारे कुनै शिलालेख, ताम्रपत्र नपाइए पनि लिच्छविकालमा बनेको मानगृह गोकर्णमा नै रहेको भन्ने इतिहासमा पाइएकाले र यस मन्दिरको पश्चिममा रहेको पार्वतीको मूर्ति लिच्छविकालीन कलाशैली भएको भन्ने भनाइ पुरातìवविद्को छ । यस प्यागोडा शैलीको मन्दिरको कला कौशल, टुँडालमा रहेको मूर्तिको काष्ठ कलाकृति हेर्दा लिच्छविकालीन नै हो भन्न सकिन्छ । त्यसैले यो मन्दिर मानदेव, शिवदेव प्रथम वा शिवदेव द्वितीयले बनाएको हुनुपर्ने अनुमान पुरातìवविद्को छ । 

गोकर्णेश्वर मन्दिरका पाश्र्वमा, बागमतीको बगरमा त्यस पितृ औँसीको खास मेला लाग्छ । के कति कारणले यो मेला यस ठाउँमा लागेको हो किटानसाथ भन्न त सकिन्न तर यसका पछाडि रहेका केही कथनबाट यसको झलक पाउन सकिन्छ । एक किंवदन्तीअनुसार पौराणिक कालमा नेपाल उपत्यकामा कुनै एउटी वेश्या रहन्थी । वेश्याको सहवास अधिक पुरुषसँग हुने हुनाले उनीहरूको गर्भ रहने कुरा प्रायः सम्भव हुन्न तर कुनै कुनै बखत संयोगले वेश्यामा पनि कुनै खास पुरुषद्वारा गर्भ रहन जान्छ तर बहु–पुरुष सम्भोगका कारणले त्यस खास गर्भ कुन चाहिँबाट रहेको भन्ने कुरा किटान हुन सक्दैन् । त्यस्तो गर्भबाट जन्मेको सन्तान एउटा विषम सामाजिक परिस्थितिमा पर्दछ ।

मातृ संवेदनाको प्रबलताले गर्दा उसले आफ्नो गर्भ तुहाउन मानिन । आफ्नो गर्भको भू्रणलाई जतनसाथ हुर्काई समय पुगेपछि एउटा सुन्दर पुत्रलाई जन्म दिई । त्यसबाट एउटा बालकको जन्म भयो । त्यस बालक ठूलो भएपछि आफ्ना सहपाठीले उसलाई बिनाबाबुको छोरा भनी हेय दृष्टिले हेर्ने र छिः छिः दूरदूर गर्ने गर्थे । हाम्रो समाजमा कसैलाई पनि बिनाबाबुको छोरोको सम्बोधनले पुकार्नु जति ठूलो गाली अर्को हँुदैन । जब आमाबाट बाबुको पत्ता लाग्ने आशा मरेपछि दन्तुर बाबुको खोजीमा देश–विदेश भौँतारिन थाल्यो तर कहीँ गए पनि कसैले उसको बाबुको पत्ता लगाइदिन सकेन । आखिर ऊ भौतारिँदै एक ऋषिका आश्रममा पुगी उनको सेवा गर्न थाल्यो । 

धेरै दिन ऋषिको सेवा गरेपछि खुसी भएर दन्तुरलाई गोकर्णेश्वरको नजिक रहेको बागमतीमा सधैँ स्नान गरी पितृलाई तर्पण गर्नु अनि गोकर्णेश्वर महादेवको पूजाआजा सेवा गर्नु तेरो बाबुको पत्तो लाग्नेछ भनी उपदेश र आशीर्वाद दिए । सोहीबमोजिम दन्तुरले बागमतीमा स्नान गरी पितृलाई पिण्डदान तर्पण दिन लाग्दा पितृलोकबाट सबै पितृ आई पिण्ड हात थापेछन् । आफ्ना बाबुलाई पिण्ड दिन खोज्ने दन्तुर यी पितृका मध्यमा आफ्ना बाबुलाई ठम्याउन नसकेर असमञ्जसमा परेछ । त्यो देखेर उसका पुरोहितले तिम्रो बाबु यिनै हुन् भनी एक जना पितृलाई चिनाइदिए । यसरी आफ्ना बाबुको टुङ्गो लागेपछि दन्तुर प्रसन्न भएर तर्पण पिण्ड गरी घर फक्र्यो । त्यसै दिनदेखि गोकर्णेश्वरका समीपको बागमतीलाई पितृतीर्थका रूपमा हेर्न थालियो । दन्तुरले बाबु चिनी तर्पण गरेको दिन भाद्र कृष्ण औँसी परेकाले त्यस दिनलाई पिताको विशेष रूपमा मान्यता दिइन्छ ।

बाबुप्रतिको स्नेहले भरिपूर्ण भएको यस पर्वको आफ्नै किसिमको महìव छ । धर्म र संस्कृतिमा हाम्रो देश धेरै धनी छ । राष्ट्रमा आफ्नै किसिमको धर्म, संस्कृति छ । त्यसैले होला, छोराछोरी र आमाबाबुको सुमधुर सम्बन्ध गाँस्ने आजको यो पवित्र दिनलाई हामीले आफ्नो धर्म, संस्कृति र परम्पराअनुरूप श्रद्धा र आस्थापूर्वक मनाउने गर्दछौँ । यसैमा हाम्रो आफ्नोपन र गौरवगाथाको इतिहास पनि लुकेको छ । हाम्रो देशमा विद्यमान मठ– मन्दिरमध्ये गोकर्णेश्वर मन्दिर पनि एक हो । यस्ता किसिमका प्राचीन कला कौशलले भरिपूर्ण मन्दिरलाई बचाउनु सबैको परम् कर्तव्य हुनेछ । यस किसिमको रमणीय एवं प्राचीन तथा धार्मिक स्थलका रूपमा चिनिने यस क्षेत्रको गरिमालाई आत्मसात् गरी प्राचीन शैलीमा बनेका मठ–मन्दिरको संरक्षण तथा संवद्र्धन गर्दै जानुपर्ने आजको माग छ ।


Author

विश्वनाथ खरेल