• १७ असार २०८१, सोमबार

घाँसी कुवा संरक्षण गर्न नेता पौडेलको निर्देशन

blog

अमरराज नहर्की

तनहुँ, भदौ १० गते । भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायक स्थल ‘घाँसी कुवा’ संरक्षण गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्देशन दिनुभएको छ । पृथ्वी राजमार्ग विस्तारको क्रममा घाँसी कुवाको अस्तित्व सङ्कटमा परेपछि वरिष्ठ नेता पौडेलले सो निर्देशन दिनुभएको हो । 

व्यास नगरपालिका १२ पृथ्वी राजमार्गसँगै रहेको ऐतिहासिक ‘घाँसी कुवा’ को हालै स्थलगत अवलोकन गरी सम्बन्धित निकायलाई दमौलीमा बोलाएर, केहीलाई टेलिफोनमार्फत संरक्षण गर्न वरिष्ठ नेता पौडेलले निर्देशन दिनुभयो ।  

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले कुवा रहेको स्थान र पार्कमा सडक पुग्ने भएपछि मासिने जोखिम रहेको स्थानीयको भनाइ छ । सडक विस्तार गर्दा हाल घाँसी कुवामा रहेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनु पर्ने अवस्था आउने हुँदा संरक्षणका लागि बेलैमा चासो राख्नुपर्ने माग स्थानीयले राखेपछि वरिष्ठ नेता पौडेलले संरक्षणका लागि निर्देशन दिनुभयो ।

घाँसीकुवा संरक्षणको सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा ‘राजमार्ग बढाउँदा त्यसलाई सुरक्षित राख्नु भनेर मैले भनिसकेको छु’ वरिष्ठ नेता पौडेले भन्नुभयो, “भित्तातिर बढी खारेर भए पनि घाँसीले बनाएको र भानुले पानी खाएको कुवा संरक्षण गर्नुपर्छ भनेर मैलै निर्देशन दिइसकेको छु ।” 

घाँसीको प्रतिमा सानो भएकाले त्यसलाई ठूलो बनाइने पनि उहाँले बताउनुभयो । ‘भानुलाई उपदेश दिने गुरु घाँसी भएको घाँसीको मूर्ति सानो हुनुहुँदैन भनेर ठूलो बनाउनु जरुरी छ’ पोडेलले भन्नुभयो । 

भानुभक्त मामाघर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रेरणा पाई भानुले कविता रचना गर्नुभएको थियो ।