• ४ जेठ २०८१, शुक्रबार
blog

काठमाडौँ, भदौ ९ गते । ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी छलफल गर्दै नेपाल­–बङ्गलादेश सहसचिवस्तरीय संयुक्त कार्यसमितिको बुधबारको बैठक सम्पन्न भएको छ । यहाँ भएको उक्त बैठकमा अन्तरदेशीय विद्युत् व्यापार सहजीकरण, जलाशययुक्त सुनकोसी जलविद्युत् आयोजनालगायतमा बङ्गलादेशी लगानी, जीएमआर अप्पर कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौतालगायतका विषयमा छलफल भएको थियो ।

बिहीबार हुने दुई देशका सचिवस्तरीय बैठकको तयारीस्वरूप भएको यो बैठकमा ११ एजेन्डामा छलफल भएको थियो । छलफल गर्न कार्यसमूहमा नेपालका तर्पmबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ऊर्जा महाशाखा प्रमुख मधुप्रसाद भेटवाल र बङ्गलादेशका तर्फबाट समकक्षी महसिन चौधरी नेतृत्वको समूहबीच छलफल भएको हो ।   

बिहीबार बस्ने सचिवस्तरीय संयुक्त निर्देशक समितिले यी विषयलाई अन्तिम निर्णयमा पु-याउनेछ । सो बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जासचिव सुशीलचन्द्र तिवारी र बङ्गलादेशका ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोलीबीच छलफल हुँदै छ ।

बुधबारको बैठकमा तोकिएका एजेन्डामा घनीभूत र सकारात्मक छलफल भएको ऊर्जा महाशाखा प्रमुख मधुप्रसाद भेटवालले जानकारी दिनुभयो । बङ्गलादेशले नेपालको विद्युत् आफ्नो देशमा लैजान चाहिरहेको छ तर यसमा भारतीय पक्षको सकारात्मक भूमिका आवश्यक छ । यसका लागि नेपाल–भारत–बङ्गलादेश त्रिपक्षीय सहकार्य आवश्यक हुन्छ । बुधबारको बैठकमा यस्तो संयन्त्रबीच संवाद थालनी गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।  

चौथो चरणको यो बैठकमा ६८३ मेगावाटको जलाशययुक्त सुनकोसी तेस्रो जलविद्युत् आयोजनामा लगानी गर्ने वित्तीय मोडालिटी र नेपालको विद्युत् भारत हुँदै बङ्गलादेश पु-याउने उपाय तथा विभिन्न विकल्पबारे पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । “विद्युत् व्यापार र जलविद्युत् आयोजनामा लगानी प्रवद्र्धनलगायतका एजेन्डामा राम्रो छलफल भएको छ । बिहीबारको सचिवस्तरीय निर्देशक समितिले आजका निष्कर्षलाई अन्तिम रूप दिनेछ,” उहाँले भन्नुभयो ।

नेपालले २०७५ साउन २५ गते भएको संयुक्त कार्यदल र निर्देशक समितिको बैठकले जलविद्युत् क्षेत्रमा सहकार्यका लागि पाँचवटा आयोजना प्रस्ताव बङ्गलादेशसमक्ष गरेको थियो । बैठकमा पहिलो चरणमा सुनकोसी तेस्रो जलविद्युत् आयोजनालाई अगाडि बढाउन आयोजनाको संयुक्त रूपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो । सोहीअनुरूप मङ्गलबार विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीसहित बङ्गलादेशी प्रतिनिधिमण्डलले स्थलगत भ्रमण गरेको थियो । भ्रमणका क्रममा सचिव रहमानले सो आयोजना निर्माणमा आफूहरू गम्भीर भएको बताउनुभएको थियो ।

बङ्गलादेश सरकारले दोलखा र रामेछाप जिल्लामा पहिचान भएको एक हजार ७२० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त अर्को आयोजनामा समेत लगानी गर्न इच्छा देखाइरहेको छ । यसका अतिरिक्त बैठकमा बङ्गलादेशका निजी क्षेत्रले समेत नेपालको निजी क्षेत्रसँग सहकार्य गरी आयोजनामा लगानी गर्न सक्ने सम्भावनाबारे पनि समीक्षा भएको थियो । 

बुधबारको बैठकमा जीएमआर अप्पर कर्णाली हाइड्रोपावरको पाँच सय मेगावाट विद्युत् बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले खरिद बिक्री सम्झौता गर्ने विषयले पनि प्रवेश पाएको थियो । यसमा सकारात्मक हिसाबले प्रक्रिया अगाडि बढिरहेको पनि बङ्गलादेशी अधिकारीले बताएका थिए । जीएमआरले सो बोर्डलाई २५ वर्षका लागि पाँच सय मेगावाट विद्युत् ७.७ सेन्ट प्रतियुनिटका दरले पीपीए गर्ने गरी प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै आएको छ । 

नेपाल पक्षले भने बङ्गलादेशले नवीकरणीय ऊर्जा सोलार होम सिस्टममा हासिल गरेको अनुभव र प्रणालीबारे पनि ज्ञान, सीप साटासाट गर्ने प्रस्ताव राखेको थियो । बङ्गलादेशले सोलार होम सिस्टमको विद्युत्लाई नेट मिटरिङ गरी विद्युतीकरणमा ठूलो सफलता पाएको छ ।