काठमाडौं, भदौ ८ गते । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बुधबार समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको विषयमा विद्युत प्राधिकरण र उर्जा मन्त्रालयसँग गरेको छलफल पश्चात समिति सभापति पूर्णकुमारी सुवेदीले सो निर्देशन दिनुभएको हो ।
उहाँले दुबै आयोजनाको समितिले स्थलगत अनुगमन गरेर प्रतिवेदनमा दिएका सुझाव र समस्या तत्काल समाधान गर्न अन्तर मन्त्रालय निर्देशन दिनुभयो । समितिले अन्तर मन्त्रालयअन्तर्गत अर्थ, वन, उर्जा मन्त्रालय समेतलाई दुबै आयोजनाका समस्या विषयमा जानकारी दिएर समस्या समाधान गर्न निर्देशन दिएको छ ।
उहाँले भन्नुभयो, ‘‘तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निष्कर्ष र सुझावहरुमा समावेश विषयहरुलाई यथाशीघ्र कार्यानवयन गर्नको लागि सम्बन्धित अन्तर मन्त्रालयहरुलाई समितिले निर्देशन दिन्छ । अन्तर मन्त्रालयअन्तर्गत अर्थ मन्त्रालय, वन, उर्जा मन्त्रालय समेतलाई तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका समस्या विषयमा जानकारी दिएर समस्या समाधान गर्न निर्देशन दिन्छ । आयोजनासँग सम्बन्धित मन्त्रालयहरुले आगामी दिनमा समितिले दिएको निर्देशन पालना गरेर सहयोग गर्ने आशा रहेको छ ।’’
सभापति सुवेदीले सबै मन्त्रालयहरुले समितिले दिएको निर्देशन पालना गरेर समितिलाई सहयोग गर्ने आशा रहेको बताउनुभयो ।