• ७ वैशाख २०८१, शुक्रबार

प्रतिबन्धले घटायो आयात–निर्यात

व्यापार घाटा १०.३८ प्रतिशतले कम

blog

काठमाडौँ, भदौ ८ गते । केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण मुलुक भित्रिने वस्तुको आकार घटेको छ । वैशाख दोस्रो हप्तादेखि जारी त्यस्तो प्रतिबन्धले मुलुकको व्यापार घाटा कम गर्न पनि सहयोग पुगेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को साउनको अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्कअनुसार मुलुकमा एक खर्ब ३१ अर्ब २८ करोड रुपियाँको वस्तु भित्रिएका छन् । यो रकम गत आर्थिक वर्षको साउनकै तुलनामा करिब १३ प्रतिशतले कम हो । गत साउनमा नेपालले एक खर्ब ५० अर्ब ७३ करोड रुपियाँको वस्तु आयात गरेको थियो । 

आयात अत्यधिक बढेर विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गत वैशाखदेखि विभिन्न दस वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । साउन १ गते त्यसमा थप संशोधन गर्दै भदौ १४ गतेसम्मका लागि प्रतिबन्धलाई निरन्तरता दिइएको छ । जसअनुसार तीन सय अमेरिकी डलरमाथिका स्मार्टफोन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, एम्बुलेन्स र शववाहनबाहेक जिप कार र भ्यान प्रतिबन्धको सूचीमा परेका थिए । त्यस्तै कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सूर्तीजन्य वस्तु, हीरा, ३२ इन्चभन्दा माथिका रङ्गिन टेलिभिजनको आयातमा पनि प्रतिबन्ध लगाइएको थियो । 

आयात अत्यधिक बढेर विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गत वैशाखदेखि विभिन्न दस वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।  

साउनमा नेपालले सबैभन्दा धेरै करिब नौ अर्ब रुपियाँको डिजेल आयात गरेको छ । त्यसपछि छ अर्ब ३८ करोड रुपियाँको पेट्रोल आयात भएको छ । नेपालमा प्रशोधन गरेर भारत पठाउने उद्देश्यका लागि ल्याउने गरिएको कच्चा भटमास तेल छ अर्ब रुपियाँको आयात भएको तथ्याङ्क छ । एलपी ग्यास पाँच अर्ब २५ करोड रुपियाँको आयात हुँदा कच्चा पाम तेल चार अर्ब १६ करोड रुपियाँको आयात भएको देखिन्छ । 

धेरै आयात हुने पाँच वस्तुमध्ये पर्ने स्मार्टफोन प्रतिबन्धका कारण नवौँ स्थानमा पुगेको छ । यसबाहेक अर्ध प्रशोधित फलाम, भ्याक्सिन धेरै आयात हुने दस वस्तुभित्र परेका छन् । 

गत आर्थिक वर्षमा पहिलो पटक दुई खर्ब रुपियाँ नाघेको नेपालको निर्यात व्यापार साउनमा भने घटेको छ । विभागका अनुसार साउनमा नेपालबाट १४ अर्ब ८० करोड रुपियाँको वस्तु निर्यात भएको छ । जबकी अघिल्लो साउनमा २० अर्ब ७६ करोड रुपियाँको वस्तु निर्यात भएको थियो । 

साउनमा नेपालबाट सबैभन्दा धेरै तीन अर्ब ७३ करोड रुपियाँको प्रशोधित पाम तेल निर्यात भएको छ । त्यसपछि एक अर्ब ५९ करोड रुपियाँको भटमास तेल निर्यात भएको छ । मौलिक पहिचान बनाएको गलैँचा भने ९२ करोड २१ लख रुपियाँको निर्यात भएको छ । त्यस्तै ६२ करोड रुपियाँको फेल्ट निर्यात हुँदा ३९ करोड रुपियाँको चिया निर्यात भएको विभागको तथ्याङ्क छ । नेपालबाट साउनमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा एक अर्ब ७४ करोड रुपियाँको वस्तु निर्यात भएका छन् ।  

निर्यात घटे पनि आयात नबढ्दा व्यापार घाटा पनि कम भएको छ । विभागका अनुसार साउनमा नेपालको व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड रुपियाँ पुगेको छ । जुन अघिल्लो साउनको तुलनामा १०.३८ प्रतिशतले कम हो । गत साउनमा नेपालको व्यापार घाटा करिब एक खर्ब ३० अर्ब रुपियाँ थियो । 

नेपालले साउनमा सबैभन्दा धेरै भारतबाट ७८ अर्ब रुपियाँको आयात गरेको छ भने भारततर्फ १० अर्ब ७१ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । त्यसपछि १८ चीनबाट १८ अर्ब ७६ करोड रुपियाँको वस्तु आयात हुँदा छ करोड २५ लाख रुपियाँको मात्र निर्यात भएको छ । छिमेकी देशपछि नेपालले सबैभन्दा धेरै इन्डोनेसियासँग व्यापार गरेको छ । इन्डोनेसियाबाट साउनमा मात्रै नेपालले चार अर्ब ९५ करोड रुपियाँको वस्तु भित्र्याएको छ । तर, त्यहाँ निर्यात भने केवल एक करोड रुपियाँको मात्र भएको छ । त्यसपछि क्रमशः अर्जेन्टिना, बेल्जियम, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका र ओमनबाट नेपालले सबैभन्दा धेरै वस्तु आयात गरेको छ ।