• १५ असार २०८१, शनिबार

तालिम लिँदै विदेशबाट फर्किएका युवा

blog

विजयकुमार साह

ढल्केबर, भदौ ७ गते । छ महिनाअघि वैदेशिक रोजगारबाट घर फर्किएका धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका नीरज जोशी अहिले आल्मुनियमको झ्याल ढोका बनाउने सीपमूलक तालिम लिइरहनुभएको छ। स्थानीय स्तरमै रोजगारी गर्न सकिने र वैदेशिक रोजगारमा जाँदा राम्रो तलब भत्ता पाउने हुँदा उहाँ वीरेन्द्र बजारमा आल्मुनियमको झ्याल ढोका बनाउने तालिम लिइरहनुभएको हो।  

वैदेशिक रोजगारको सिलसिलामा साउदी अरेबियास्थित एक ग्यास कम्पनीमा तीन वर्ष काम गरेर फर्किएको बताउने जोशीले ग्यास कम्पनीमा गरिने कामबारे सीप नहुँदा सुरुको छ महिना निकै कष्ट झेल्नुपरेको अनुभव सुनाउनुभयो। “कम्पनीमा काम गर्ने केही प्राविधिकले बिस्तारै काम सिकाइ दिएपछि बल्ल भनेअनुसारको काम पाएँ। त्यसबीच कम्पनीका मेनेजरले कहिले सरसफाइ त कहिले लेबरको काम लगाउथ्ये। तलब भत्ता पनि कम दिन्थे। कहिलेकाहीँ त घर फर्किन मन लाग्थ्यो तर ऋण गरेर आएको त्यसै फर्किए झन समस्यापर्ने सोचेर तीन वर्ष त्यतै बसियो,” उहाँले भन्नुभयो।

स्थानीय स्तरमा अहिले नयाँ घरमा आल्मुनियमका झ्याल ढोका लगाउने चलन यतिखेर निकै बढेको छ, माग पनि बढ्दो छ। गाउँघरमै रहेर रोजगार बन्न सक्ने आसमा सीप सिकिरहेको जोशीले बताउनुभयो। सीप बिना विदेशी भूमिमा पुग्दा सोचेअनुसारको काम र तलब भत्ता नपाएको उहाँको अनुभव छ। उहाँले अहिले वीरेन्द्र बजारमा यूएनडीपीको ‘स्किल्स’ परियोजनाको सहयोगमा साना व्यवसाय परामर्श तथा तालिम केन्द्रले सञ्चालन गरेको आल्मुनियमको फ्याल ढोका बनाउने एक महिने निःशुल्क तालिम लिइरहनुभएको छ। उहाँसँगै वैदेशिक रोजगारीबाट फर्किएका २० जना युवाले समेत सो तालिम लिइरहेका छन्। 

यस्तै वैदेशिक रोजगारीबाट फर्किएका धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजका सुगदेव महतो स्थानीय स्तरमै रोजगारी गर्न एक महिने इलेक्ट्रिसियनको तालिम लिँदै हुनुहुन्छ। दुई वर्ष मलेसियामा लेबर काम गरेर फर्किएका महतोले अब यो इलेक्ट्रिसियनको काम सिकेर यतै काम गर्ने बताउनुभयो। सामान्य लेखपढ गर्न जान्ने महतो मलेसियामा लेबर काम गरे बापत ७०० देखि ९५० रियाल पाउनुहुन्थ्यो। “आफूसँगै सीप सिकेर गएका साथीले एक हजार पाँच सयदेखि एक हजार आठ सयसम्म तलब भत्ता पाउँथे। त्यो हेरेर आफू पनि सीप सिकेर आएको भए राम्रै कमाइ गर्न सकिन्थ्यो भनेर पिर हुन्थ्यो,” उहाँले भन्नुभयो। 

सीप बिना वैदेशिक रोजगारमा जानु समय बर्बाद गर्नु जस्तै हो। दुःख कष्ट पनि उस्तै झेल्नुपर्छ तर यो तालिम लिएर नेपालमै काम गर्ने सोच बनाएको उहाँले बताउनुभयो। मिथिला नगरपालिकाको विश्वकर्मा चोकमा साना व्यवसाय परामर्श तथा तालिम केन्द्र पर्साले एक महिने बिल्डिङ इलेक्ट्रिसियन तालिम सञ्चालन गरेको छ। सो तालिम केन्द्रमा महतोजस्तै वैदेशिक रोजगारबाट फर्किएका २० जना युवा उक्त तालिम लिइरहेका छन्। साना व्यवसाय परामर्श तथा तालिम केन्द्रका सञ्चालक विजय श्रीवास्तवले यूूएनडीपीको ‘स्किल्स’ परियोजनाको सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीका लागि निःशुल्क सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत सीपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले तालिमकर्तालाई आधारभूत पेसागत औजार तथा उपकरण र सीटीईभीटीबाट प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो।