• १३ साउन २०८१, आइतबार

‘निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद स्थगित हुँदैन’

blog

नवौँ राष्ट्रिय खेलकुदको मुख्य खेलस्थल पोखरा रंगशाला । फाइल तस्बिर : गोरखापत्र

कास्की, भदौ ५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गराउने क्रममा आइपर्ने समस्या र कठिनाइलाई समाधान गर्नका लागि साझा संयन्त्र बनाउनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो “विगतका संस्करणको अनुभवलाई समेटेर सामूहिक दायित्वका साथ प्रतियोगिता सफल बनाउनुपर्ने सबैको साझा दायित्व हो । ”

आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता तयारीका बारेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिबार साँझ पोखरामा आयोजना गरेको उच्चस्तरीय छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सो कुरा बताउनुभएको हो ।

छलफलमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन नहुने जानकारी दिनुभयो । उहाँले निर्वाचनभन्दा एक महिनाअघि नै राष्ट्रिय खेलकुद सम्पन्न हुने हुँदा निर्वाचन कार्यतालिकालाई असर नपार्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय खेलकुदका लागि सरकारले बजेट निकासा गरिसकेको छ । यसका लागि सरकारको खर्च भइसकेको छ । निर्वाचन आयोगसँग समेत परामर्श गरेर राष्ट्रिय खेलकुद तय गरिएकाले यसलाई निर्वाचनले असर गर्दैन, आयोजक प्रदेशका हिसाबले तपाईँहरु तयारीमा लाग्नुहोस् ।”

खेलकुदमन्त्री गहतराले प्रतियोगिताको तयारी, खेलाडी र खेल खेल्ने ठाउँको व्यवस्थापकीय आधारभूत दायित्व केन्द्र सरकारको रहे पनि प्रदेश सरकारले आफ्नो प्रदेशको टोली सक्षम र बढीभन्दा बढी पदक जित्ने गरी तयारीका काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद यस क्षेत्रका लागि महत्वपूर्ण अवसर हो ।”

मन्त्री गहतराजलले प्रतियोगिताका लागि निर्माण गरिने भनिएका स्वीमिङ, सुटिङलगायतका खेल पूर्वाधार विविध कारणले निर्माण गर्न नसकिए पनि राष्ट्रिय खेलकुद सम्पन्नपछि समेत त्यसलाई अघि बढाइने प्रतिबद्धता जनाउनुभयो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले राष्ट्रिय खेलकुद सफल बनाउन महानगर राखेप र प्रदेश सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो । राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको हालसम्मको तयारीका बारेमा जानकारी गराउँदै कार्यतालिका अनुसार काम अघि बढाइएको जानकारी दिनुभयो ।

यही भदौ २५ गतेभित्रमा खेलाडी र प्रशिक्षकको नाम दर्ता र असोज १० सम्ममा खेलगत इभेन्ट, खेल समयतालिका, खेलस्थलको जानकारी गराइने उहाँले बताउनुभयो । खेलस्थल र खेलाडी आवास क्षेत्रमा सुरक्षा प्रबन्ध, स्वागत सत्कार र यातायात तथा खेलाडीको हौसला बढाउनका लागि प्रदेश सरकारबाट आवश्यक काम हुने विश्वास राखेपले लिएको सदस्यसचिव घिसिङले बताउनुभयो ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउने निश्चित भएको परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदका ३६ र दुई प्रदर्शनी खेलहरू छन् । प्रतियोगितामा चार सय सात स्वर्णपदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । 

टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा एक टोलीमा सात सय आठ जनासम्म खेलाडी सहभागी हुने भएकाले प्रतियोगितामा कुल सात हजार सात सय ८८ खेलाडीमात्र सहभागी हुने गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।