• ६ साउन २०८१, आइतबार

वसन्तपुर डबलीमा ‘लाखेनाच’

blog

शिवा तामाङ

काठमाडौँ, भदौ ४ गते । ताप्लेजुङ नेवार समाज काठमाडौँले वसन्तपुर डबलीमा ‘लाखेनाच’ प्रदर्शन गरेको छ। विविध पेसा, व्यवसाय गर्न र अध्ययनको सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका ताप्लेजुङका नेवार समुदायले कला संस्कृतिको प्रवर्द्धन र सुख, दुःख पर्दा एक/अर्कालाई सहयोग आदानप्रदान गर्न गठन गरेको ‘ताप्लेजुङ नेवार समाज काठमाडौँ’ गठन भएको हो। समाजमार्फत विगत तीन वर्षदेखि ताप्लेजुङमा नाचिने लाखेनाचलाई राजधानीमा पनि प्रदर्शन गर्दै आएको समाजले जनाएको छ। 

समाजका अध्यक्ष बालकृष्ण श्रेष्ठले ताप्लेजुङमा गठेमङ्गलदेखि कृष्णाष्टमीको दिनभित्र करिब सात दिनसम्म गाउँसहरका चोकमा मनोरञ्जन तथा समुदायको संस्कृति प्रवद्र्धनका लागि प्रदर्शन गर्दै आएको नाचलाई राजधानीमा पनि प्रदर्शन गरी ताप्लेजुङको परम्परालाई ताजा गर्ने र नाचकै बहानामा ताप्लेजुङवासी भेला भएर शुभकामना आदान–प्रदान गर्ने काम गर्दै आएको बताउनुभयो । उहाँले सदियौँ पहिला विविध कारणले काठमाडौँ, भक्तपुर र ललितपुरबाट ताप्लेजुङ पुगेका नेवार समुदाय फेरि व्यापार व्यवसाय र उच्च शिक्षा अध्ययनका लागि राजधानीतिर आएको, जहाँ गए पनि गुठी परम्पराअन्तर्गत आफ्नो समुदाय एकजुट भएर काम गर्ने प्रचलनलाई निरन्तरता दिँदै समाजमार्फत जुटेको बताउनुभयो । राजधानीबाट मुलुकभर विकेन्द्रीकृत भएका नेवारले आफूसँगै लगेका र जीवन्त राखेको प्रसिद्ध लाखेनाचको शैली राजधानीकै जस्तै हो, मात्र आफ्नो ठाउँमा प्रचलित र प्रतिनिधित्वका लागि राजधानीमा पनि प्रदर्शन गर्दै आएको उहाँको भनाइ छ। 

शुक्रबार लाखेनाचमा कुमार श्रेष्ठ, डम्बर शिवा, सविन श्रेष्ठ, इन्द्र श्रेष्ठलगायतले वाद्यवादन र लाखेको भूमिका निर्वाह गर्नुभएको थियो।