• ६ मंसिर २०८१, बिहिबार

धनकुटामा वढाङ्मेट र पापानीको रौनक

blog

आठपहरीया समुदाय आफ्नो मुख्य चाड वाडाङ्मेटमा हर्कबढाइपछि नाचगान गरेर मनाउँदै ।

कबिराज घिमिरे

हिले, मङ्सिर ६ गते । धनकुटामा स्थानीय बाजागाजा, गीतले झकिझकाउ भएको छ । धनकुटा नगरपालिकामा मात्रै बसोबास रहेको आठपहरिया समुदायको प्रमुख चाड वाडाङ्मेट (मङ्सिरे चाड) मनाउन व्यस्त रहँदा सहिद भूमिमा भने पापानीको रौनक छ । 

दुवै क्षेत्र स्थानीय बाजा गाजा नाचगानले सुसज्जित भएका छन् । आफ्नो इष्ट देवताको पूजा सहित खानपिनले धनकुटा नगरपालिकामा मात्र बसोबास रहेको आठपहरिया जाति वढाङ्मेट चाड मनाउन व्यस्त भएका हुन् । आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको वडाङ्मी तिहारको भाइटिका देखि सुरु भई मङ्सिरको औँसीसम्म मनाइन्छ । यो जातिको वैशाखे, भदौरे र मङ्सिरे गरी तीनमध्ये यो महत्त्वपूर्ण चाड हो । यो चाडमा वरखीबाट उक्सिने एक मात्र चाड हो । त्यस्तै घरको जेठो छोरो जन्मिएकोमा तथा नयाँ घर निर्माण गरेकोमा हर्षोल्लास मनाउने चलन रहेको सूर्य आठपहरीया बताउनुहुन्छ।

कार्तिक शुक्ल एकदशीका दिन बेलुका धनकुटा नगरपालिका-५ स्थित ठुलो घर (५२ चुले घर) मा विशेष पूजा गरी चाड औपचारिक रूपमा वडाङ्मेट सुरु हुन्छ । द्वादशी तिथिमा वर्षभरिमा आमा वा बाबु गुमाउनेले धनकुटाबाट २ दिन हिँडेर सुनसरीको बराह क्षेत्र नजिकै रहेको कोकाहा खोलामा पुगेर केश दाह्री मुण्डन गरी दसी बगाउने चलन रहेको छ । कोकाहा खोलामा कपाल दाह्री खौरिएर नुवाएर बराह भगवानको दर्शन गर्ने र देउता आफ्नो घरमा लिएर आउने प्रचलन रहेको छ । घर आएपछि दुःखको कर्म फुकाउने कार्य हुन्छ । 

दुई दिनसम्म दुख फुकाउने कार्य गरिएपछि तेस्रो दिनबाट पहिलो सन्तान जन्मिएको घरमा हर्क बढाइको कार्यक्रम सुरु भई खुसीयालीको नाचगान र भोज खुवाउने प्रचलन रहेको नारायण आठपहरीया बताउनुहुन्छ । 

हर्क बढाइमा आठपहरियाको ठुलो घरबाट सुरु भई सुब्बा, कार्बारी, पगरीका घर हुँदै जेठो सन्तान जन्मेको घरमा हर्क बढाई गर्ने चलन रहेको छ । यो चाडमा दुख बिर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी र आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्लो नाच नाचेर तथा संस्कृति अनुसारको परिकार राँगाको मासु, कुबिन्डो र फिलुगें अचार खाएर मनाउने गरिन्छ । आफ्नै मौलिक भेषभुषामा सजिएका आठपहरिया जातिले यो पर्व करिब एक महिना मनाउने गरेका छन् । 

चाडको अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने चलन छ । धनकुटामा करिब ६ हजारको हाराहारीमा आठपहरीयाको बसोबास रहेको छ ।

सहिद भूमिमा पापानीको रौनक 

धनकुटाको सहिद भूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरू पापानी चाड मंगलबारदेखि सुरु भएको छ । कार्तिक पूर्णिमा पछिको पहिलो मंगलबार पापानी पर्व सुरु हुन्छ । चाड सुरु भएपछि मुन्धुम विदले खुढाहाङ (कुल देवता) को १५ दिनसम्म आराधना गर्ने र स्थानीयले पनि कुल देवता र पितृको पूजा गर्दै ६ दिन ६ रात सम्म नाचगान गरी पापानी मनाउने गरिएको छ । पापानी पर्वमा किरात राईहरूले कुलदेवता खुढाहाङको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाच्ने गरेका छन्। यो पर्व कुल देवता र पितृको पूजा गर्दै मनाउने चलन रहेको छ ।

पापानीको अवसरमा कार्तिक पूर्णिमा पछिको पहिलो मंगलबारदेखि एक हप्ता सहिद भूमि गाउँपालिकाको खोकु, छिन्ताङ र आँखिसल्लाका गढीमा फरक फरक दिन मेला लाग्ने गरेको छ भने सोही मेलामा पापानी नाच्ने र गाउने गरिएको सहिद भूमि गाउँपालिका वडा नम्बर ६ का स्थानीय नरेन्द्र कस्चित राईले बताउनु भयो । तर पापानी मनाउन पुराना पुस्ता नै चाहिने र नयाँ गाउँमा नबस्दा नाच्न र गाउन नजान्दा परम्परा लोप हुन लागेको राईको भनाइ छ ।