कविराज घिमिरे
हिले, मङ्सरि १० गते । धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरु पापानी चाड मनाउन व्यस्त छन् । कात्तिक पूर्णिमापछिको पहिलो मङ्लबारदेखि नयाँ बाली भित्राएको खुशीयालीमा धनकुटाका खाल्सा क्षेत्रमा पापानी मनाउने गर्छन् ।
चाड सुरु भएपछि मुन्धुम विदले खुढाहाङ (कुल देवता) को १५ दिनसम्म आराधना गर्ने र स्थानीयले पनि कुलदेवता र पितृको पूजा गर्दै निरन्तर ६ दिन ६ रातसम्म नाचगान गरी पापानी मनाउने गरिएको छ । आफ्नो मनोकामना पूरा होस् भनेर एक जोडी परेवा उडाएर खुढाहाङलाइ सम्झने गरिएको छ ।
पापानी पर्वमा किरात राईहरुले कुलदेवता खुढाहाङको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै नाच्ने गरिन्छ ।
यो नाच एक अर्कोसँग कुम जोडेर बाजाको ताल अनुसार तीन पाइलाअघि र तीन पाइला पछि सरी नाच्ने चलन छ । यो पर्व कुल देवता र पितृको पूजा गर्दै मनाउने चलन रहेको सहिदभूमि गाउँपालिका ६ आँखिसल्लाका डिल्लीराज राई बताउनुहुन्छ । “अरु जातिले जसरी आफ्नो विधि अनुसार कुल पितृ सम्झेर आआफ्नो विधि अनुसार पूजाआजा गरिन्छ त्यस्तै हाम्रो पनि नयाँ बाली भित्राएपछि आफ्नो विधि अनुसार पूजाआजा गर्छौं,” राई भन्नुहुन्छ ।
एक हप्ता सहिदभूमि गाउँपालिकाको खोकु, छिन्ताङ र आँखिसल्लाका गढी गढीमा फरकफरक दिन मेला लाग्ने गरेको छ । सोही मेलामा पापानी नाच्ने र गाउने गरिएको छ । विभिन्न स्थानमा बसोबास गर्ने छ्युलुङ र नाम्चाहाङ पाछाका राई समुदायका व्यक्तिले यो चाड मनाउने गरेका छन् । त्यस्तै खाल्सा क्षेत्रमा बसोबास गर्ने बान्तवा राईहरुले समेत मनाउँछन् तर खाल्सा बाहेक अन्य क्षेत्रमा बसोवास गर्ने बान्तवा राइहरुले यो पर्व मनाउँदैनन् ।
पछिल्लो समय यो पापानी नाच लोप हुने क्रममा रहेको स्थानीय नरेन्द्र राई ‘कस्चीत‘ बताउनुहुन्छ । “पापानी मनाउन पुराना पुस्ता नै चाहिने र नयाँ गाउँमा नबस्दा परम्परा लोप हुन लागेको छ,” राई भन्नुहुन्छ । अहिले मुन्धुम गाउने बिजुवा भेटिन छाडेको तथा नयाँ पुस्ताले ध्यान दिन छाडेका कारण समस्या बढेको उहाँको तर्क छ ।
सहिदभूमि गाउँपालिकामा राई समुदायको बाहुल्य छ । यहाँको कुल जनसङ्ख्यामध्ये करिब ८० प्रतिशत राई समुदायको बसोवास छ । बसोबास रहेका मध्ये करिब ५० प्रतिशत राईहरुले यो पर्व मनाउँछन् । गएको मङ्गलबारबाट सुरु भएको यो चाड भाेलि मङ्गलबार बिहान विधिवत् रुपमा अन्त्य हुन्छ।
प्रत्येक स्थानमा बिहानैबाट पूजाआजा र नाचगान सुरु हुन्छ । तर बिहान र दिउँसोभन्दा बेलुका आगन्तुकहरुको चाप बढ्छ । पछिल्लो समय यो पर्व र स्थानीय मेला बाहिरबाट अवलोकनका लागि आउने व्यक्तिहरुको सङ्ख्या वर्षेनी बढ्दो छ । तर यहिीपर्व मनाउने तथा पापानी नाच्नेहरुको सङ्ख्या भने वर्षेनी घट्दो छ ।
स्थानीय मौलिकता कला संस्कृति जगाउनु अहिलेको समयको माग भएकाले यसकाे संरक्षणतर्फ सबैले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।