• ६ साउन २०८१, आइतबार

दक्षिण कोरियाबाट ल्याइँदै साँढे र गाई

blog

काठमाडौँ, भदौ ४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत दक्षिण कोरियाबाट साँढे र गाई ल्याउने भएको छ । कृषि मन्त्रालयले विगत पाँच वर्षदेखि हेफर इन्टरनेसनलमार्फत साँढे र गाई ल्याउने प्रयास गरेको थियो । त्यो बल्ल सफल हुने भएको छ । यो सबै प्रक्रिया पूरा भएपछि उन्नत जातका २० वटा साँढे र १०१ वटा गाई ल्याइने भएको हो । अबको दुई महिनाभित्र ती साँढे र गाई नेपाल आइपुग्ने हेफर इन्टरनेसनलले जनाएको छ ।

नेपालका साँढे पुरानो भएकाले यसको प्रयोगबाट जन्मने बाच्छाबाच्छीको गुणस्तर कमजोर हुने, दूध उत्पादन घट्नेलगायतका समस्या आएपछि पाँच वर्षअघि कृषि मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले उन्नत जातको साँढे र गाई ल्याइदिनका लागि हेफरलाई लिखित रूपमै आग्रह गरेको थियो । 

विभागको आग्रहपछि हेफरले पाँच वर्षअघि नै प्रक्रिया सुरु गरेको थियो । तर हेफरको फाइल पाँच वर्षसम्म नेपालमै घुमिरह्यो । अहिले बल्ल कृषि मन्त्रालयले सबै कानुनी प्रक्रिया पूरा गरी परराष्ट्र मन्त्रालयमार्फत दक्षिण कोरियालाई पत्र पठाएको छ । पत्र गइसकेपछि अब साँढे र गाई आउने कुरामा ढुक्क भएको हेफरले जनाएको छ । 

“दक्षिण कोरिया सरकारलाई पत्र पठाइसकिएको छ, त्यहाँ पनि कानुनी प्रक्रिया सुरु भएको छ । ती प्रक्रिया पूरा भएपछि उन्नत जातको साँढे र गाई ल्याइनेछ,” विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताउनुभयो । दक्षिण कोरियाबाट सोधपुछ भइरहेको र कागजात माग भइरहेका तथा आवश्यक कागजपत्र पठाइदिएको उहाँले बताउनुभयो । 

हाल हेफर इन्टरनेसनलमा परामर्शदाताका रूपमा कार्यरत पशु सेवा विभागका पूर्वमहानिर्देशक डा. विमलकुमार निर्मलले भन्नुभयो, “दक्षिण कोरियाबाट साँढे र गाई आउन हेल्थ सर्टिफिकेट र कार्गोले मात्र ढिलो भइरहेको छ ।” 

कोरिया सरकारले पठाएको नमुनाअनुसार नेपालले हेल्थ सर्टिफिकेट (निरोगिताको प्रमाणपत्र) तयार पारिसकेको छ । आइतबार वा सोमबार परराष्ट्र मन्त्रालयमार्फत कोरिया पठाइने उहाँले बताउनुभयो । कार्गोको विषयमा पनि छलफल भइरहेको र यी दुइटा विषय टुङ्गो लागेपछि एक/दुई महिनाभित्र साँढे तथा गाई नेपाल आइपुग्ने उहाँले जानकारी दिनुभयो ।  हेफर कोरियाले नेपाल ल्याउने साँढे र गाई दक्षिण कोरियाको एक फार्ममा तयार गरिसकेको जनाइएको छ । 

नेपाललाई ती गाई र साँढे निःशुल्क उपलब्ध हुनेछन् । कोरिया सरकारले हेफरलाई ती गाई र साँढे निःशुल्क उपलब्ध गराएको हो । गाई र साँढे ल्याउन लाग्ने सम्पूर्ण खर्च हेफरले नै बेहोर्ने पशु सेवा विभागले जनाएको छ । कोरियाबाट नेपाल ल्याउन कुल डेढ करोड रुपियाँ खर्च पर्ने देखिएको छ । 

कोरियाबाट ल्याइएका गाई सिन्धुलीमा खोल्न लागिएको मोडेल डेरी भिलेज फार्ममा राखिने बताइएको छ । सो फार्मबाट ती उन्नत जातका गाईहरू किसानलाई वितरण गरिने विभागका प्रवक्ता ढकालले बताउनुभयो । त्यो फार्म स्थानीय तहको सहयोगमा हेफरले सञ्चालन गर्न लागेको हो । त्यसमा पशुसेवा विभागको पनि प्राविधिक सहयोग रहेको छ । कोरियाबाट ल्याइने साँढे भने पोखराको पशु प्रजनन कार्यालयमा राखिनेछ ।