• ६ साउन २०८१, आइतबार

बाँचेको खुसियालीमा ‘ओल्के’ त्यार

blog

केशवचन्द्र महरा

दिपायल, भदौ २ गते । सुदूरपश्चिमको जनजीवनमा एउटा प्रचलित उखान छ, ‘मरुला भनेर विशु खानु, बाँचुला भनेर ओल्के खानु’ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिम प्रदेशका डोटीलगायत जिल्लामा ‘ओल्के’ त्यार (पर्व) धुमधामका साथ मनाइएको छ। 

ठूलाबडा, मान्यजन र ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप ओलक (कोसेली) दिएर, मीठोमसिनो खाएर ओल्के सङ्क्रान्ति पर्व मनाइन्छ। यसलाई भदौ सङ्क्रान्ति पनि भनिन्छ। यहाँ भदौ महिनाको पहिलो दिन विशेष महत्त्वका साथ ओल्के सङ्क्रान्ति मनाउने परम्परा रही आएको छ। ओल्के भन्नाले ‘कोसेली’ अर्थात् ‘उपहार’ भन्ने बुझिन्छ। विपत्तिमा बाँचेकाले खुसियालीमा यो पर्व मनाउने गरेको पूर्वमन्त्री एवं साहित्यकार भक्तबहादुर बलायरले बताउनुभयो। ओल्के पर्वको छुट्टै सामाजिक, पौराणिक र ऐतिहासिक महत्त्व रहेको उहाँले बताउनुभयो। 

वर्षायामका वैशाख, जेठ, असार र साउन महिना रोगव्याधी तथा महामारी फैलने, विभिन्न किसिमका प्राकृतिक विपत्तिका महिना मानिन्छन्। यस्तो सङ्कटग्रस्त महिनामा मरिन्छ कि भनेर वैशाख सङ्क्रान्तिमा विशु मनाउने र भदौ सङ्क्रान्तिमा ओल्के मनाउने प्रचलन रहिआएको जानकारहरू बताउँछन्।

शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशङ्कर भट्टका अनुसार विशु तथा ओल्के परापूर्वकालमा फैलने विपत्सँग सम्बन्धित पर्व हुन्। विपत्तिको समयमा आफ्ना परिवारका सदस्य नरहन सक्छन् भनेर विशु मनाउने प्रचलन रहेको हो। त्यस्तै बाँचेको खुसियालीमा भदौ १ गते ओल्के मनाउने गरिन्छ।

ओल्को दिने प्रचलन

ओल्के सुदूरपश्चिमको मौलिक पर्व हो। यो पर्व सुदूरपश्चिमबाहेक यस क्षेत्रसँग जोडिएका भारतका कुमाउ र गढवालतिर पनि मनाइन्छ। यो पर्वमा गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सद्भाव बाँड्ने गरिन्छ। विशेष गरेर मान्यजनलाई पिँडालुका पात, काँक्रा, भन्टा, मुला र हरियो सागपात उपहार दिने गरिन्छ। यहाँ हरियो सागपातको कोसेलीलाई नै ‘ओल्को’ भन्ने गरिन्छ।

साहित्यकार तथा डा. बद्री शर्मा विनाडीका अनुसार उहिले वर्षायाममा दादुरा, झाडापखाला, हैजा, लुतो, कुष्ठरोग जस्ता रोग लाग्नुका साथै असार–साउनको बर्खे झरीमा बाढी पहिरो आउने भएकाले रोगव्याधी र दैवी प्रकोपबाट बाँचिएको उपलक्ष्यमा खुसी साट्न यो पर्व मनाइने गरिएको हो। उहाँले भन्नुभयो, “दैवी प्रकोपबाट बाँचिएको खुसी साट्न ठूलाबडा तथा जेठो नाता पर्नेलाई हरियो सागपात दिएर सम्मान दिने गरिन्छ।” 

ओल्कोमा अन्न, दूध, दही, घिउ, गुड र पक्वान्न आदि पनि दिइन्छ। शिल्पकारले आफूले बनाएका सामान पनि दिने गर्दछन्। नयाँ पुस्ताले अचेल आफ्ना मान्यजनलाई लुगाकपडा, पैसा वा यस्तै अन्य उपहारसमेत ओल्को स्वरूप दिन थालेका छन्। यसरी ओल्को दिन आएकालाई मान्यजनले आफूसँग भएको मीठोमसिनो खुवाएर पठाउँछन्। 

पिङ खेल्ने प्रचलन

चाडमा गाउँघरका युवायुवतीका दौँतरी समूह–समूहमा जम्मा भएर पिङ खेल्ने, देउडा खेल्ने, ठाडी भाका तथा लोकलयमा गीत गाउनेलगायतका क्रियाकलाप पनि गर्ने गर्दछन्। ओल्केका अवसरमा सुदूरपश्चिममा पिङ खेल्ने प्रचलन पनि छ। जङ्गलमा उम्रिएको बाबियो काटेर पिङ बनाइन्छ। साउनको अन्तिम दिन बाटिएको पिङ भदौको पहिलो दिन गाउँनजिकै रहेको अग्लो रूखको हाँगामा हालेर खेल्ने गरिन्छ। यसरी बाँधिएको पिङमा अनिवार्य खुट्टा राख्नुपर्ने वा खेल्नुपर्ने मान्यता रहिआएको छ। एकैक्षण भए पनि पिङमा खुट्टा राख्दा धर्तीमाताको बोझ कम हुने जनविश्वास रहेको छ।

हातमा भयँरी (मेहदी)

ओल्केकै अवसरमा साउनको अन्तिम दिन हातमा भँयरी, मिछिट्टी (हातमा रातो कलर दिने एक प्रजातिको फूल, बुटा) लगाउने प्रचलन छ। भँयरी लाउने स्थानीयले ओल्केको अघिल्लो दिन जङ्गलबाट विभिन्न प्रकारका जडीबुटीका जरा जम्मा गर्छन्। ती जरालाई भँयरीका डाठ तथा पातसँग मिसाई लेदो हुन्जेल ओखलमा कुटिन्छ। साँझको खाना खाइसकेपछि त्यो लेदोलाई दुवै हातमा राखी मालुका ठूलाठूला पातले हात बाँधेर सुत्ने प्रचलन रहेको छ। बिहान फर्सीका पातले बाँधेका हात खोलेपछि हातमा आकर्षक राता एवं चमकदार बुट्टा देखिन्छ। केआईसिंह गाउँपालिकाका–४, वायलका नरबहादुर कार्कीका अनुसार हातमा यस्ता बुट्टा झन्डै एक महिनाभन्दा बढीसम्म रहन्छ। यस परम्पराले एकातिर हातको सौन्दर्यता बढाउँछ भने अर्कोतिर वर्षायामभरि हिलो र पानीद्वारा रुजेभिजेका हातमा भयँरी तथा जडीबुटी लगाउँदा यसले औषधिको काम गरी हातको छाला सुरक्षामा सहयोग पु-याउँछ। सो जडीबुटीले छालाको रोगको समस्या निको हुने र सङ्क्रमणबाट पनि बच्न सकिने जनविश्वास रहिआएको छ। पछिल्ला वर्षमा भँयरीको ठाउँ मेहन्दी लगाउने गरिन्छ।

पर्वमा विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी लाउन, बाबर, गतानी डुब्का, बटुक मासे माणालगायतका स्थानीय खानाका पकवान बनाएर खुवाउने र खाने प्रचलन छ। 

ओल्केलाई पर्वको जेठो पर्व भनेर पनि बुझिन्छ। यो पर्वले अन्य पर्वलाई ओल्क्याउने अर्थात् अन्य पर्व पनि क्रमशः आउने भएकाले यस्तो भनिएको जानकारहरू बताउँछन्। वैशाख सङ्क्रान्तिमा मनाइने विशु पर्वको चार महिनापछि ओल्के आउँछ। ओल्केपछि क्रमशः प्रत्येक महिना अन्य पर्व आइरहन्छन्, त्यसैले यसलाई जेठो पर्व मानिन्छ।

बूढी हाल्ने प्रचलन

ओल्के पर्वकै दिन केही ठाउँमा गाउँनजिकैको गोरु गोठालो जाने चौबाटोमा सबै जना मिलेर सल्लाको लिङ्गो गाड्ने गर्छन्। सो लिङ्गोवरिपरि रूखका हाँगाबिगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। जसलाई स्थानीय भाषामा बूढी हाल्ने भनिन्छ। सो बूढीलाई असोज सङ्क्रान्तिको राति पोल्ने गरिन्छ। जसलाई बूढी पोल्ने भनिन्छ।