जीवनमा छन्द छ, लय छ, गति छ । यिनैले साहित्य रच्छन् । साहित्यले बिहान ब्ल्याक/ ग्रिन/ लेमन/ हर्बल टीबाट उठाउँछ र भरे भरे ओल्ड दरबारमा सुताउँछ । यसले कतिपयलाई केही नगरी प्राज्ञ बनाइदिन्छ र प्रज्ञा जोडिएका तथाकथित साहित्यिक अड्डाहरूमा जागिर दिन्छ अनि राजनीतिकर्ममा प्रवृत्त गराउँछ । जादू । त्यस स्थितिमा साहित्य मधुर हुँदै मधुरसपूर्ण हुन्छ र विपरीतमा कटु कटुतर हुँदै कटुरसपूर्ण । त्यसैले जीवन कटुमधुमिश्र रसपूर्ण भनिन्छ । यसैका लागि हामीले साहित्य समाउँछौँ तर साहित्यले हामीलाई, समाजलाई पनि मुक्त गर्छ । यी सबैले संसार सुन्दर छ । कतिपय मानिस पुनर्जन्मको कामना गर्छन् । एक जीवनमा संसारको साहित्यले अघाइन्न ।
साहित्यविहीन भलाद्मीलाई ‘साक्षात् पशुः पुच्छ विषाणहीनः’ पुर्खाले त्यसै भनेनन् ।
साहित्य र मोबाइलबारे एकाध घण्टा नबोल्ने/ बोल्न नजान्ने नेपाली कोही छैनन् । मोबाइल नबोक्ने, नबोल्ने त्यसमा नपढ्ने, नलेख्ने आदरणीयहरू प्रधानमन्त्री देउवा, मानवाधिकारकर्मी कृष्ण पहाडी वा अनशनमा अभ्यस्त डा. केसी (कतै पढेको–सुनेको) बाहेक कोही होओइनन् । यथार्थमा साहित्यबारे तिनका आआफ्ना धारणा/ दृष्टि फरक हुनन् ।
म साहित्यमा रुचि राख्तिनँ तर साहित्यकारहरूमा मेरो गहिरो अभिरुचि छ । अझै साहित्यधर्मी युवती र महिलाहरूमा । तिनको साहित्यभन्दा तिनीहरू अझै सुन्दर हुन्छन् । तर पनि तिनको सौन्दर्य नै खास साहित्य हो । त्यही सौन्दर्य नै सत्य हो । सके तिनैलाई हेरेर प्रसिद्ध कवि किट्सले ‘ब्युटी इज ट्रुथ, ट्रुथ ब्युटी द्याट इज अल इ नो अन अर्थ’ भने र देवकोटाले पनि ‘सत् छ सुन्दरै, सुन्दरै छ सत् ।’
म साहित्यका नाममा आयोजना गरिने कुनै प्रकारका गोष्ठी/ भेला आदिमा सामेल हुन मन पराउँछु । यद्यपि म प्रायः बोलाइन्नँ किनभने गोष्ठीका नाममा मेरो कुनै गुट वा समूह छैन । न तिनमा मेरो कुनै चाख छ । समूहमा रमाउने भए म रहन्नथेँ । समूह/गुटको भाग मात्र हुन्थेँ । मेरो आफ्नोपन रहन्नथ्यो । भीडको अंश हुन्थेँ । भीड भनिसकेपछि त्यसको कुनै पहिचान हुँदैन । त्यो मलाई मञ्जुर छैन ।
साहित्यमा पनि अनेक दल/गुट/उपगुट/ समूह/उपसमूह छन्– सङ्घीय राजधानीमा होस् वा प्रदेशमा । कुनै लेखक/लेखन सङ्घ, प्रकाशन समूह/सङ्घ, पाठक समूह/सङ्घ । कुनै साहित्यिक संस्थाका यो वा त्यो नामका समूह छन् । तर पनि म साहित्यिक नामका भेला/मेला, गोष्ठी/समारोहमा धेरै पटक धेरै ठाउँ चोरका रूपमा सामेल हुन्छु । भएको छु । धेरैलाई थाहा होला तर पक्राउ परेको छैनँ ।
यस पटक मलाई साहित्यभन्दा साहित्य गोष्ठीको कुलती मेरो मित्रको आग्रह थियो, कतै कुनै ‘गोष्ठीमा आउनू । कार्यक्रम भव्य छ । जसरी पनि आउनू् ।’
यति जोडको आग्रह । भव्य/भव्यताभित्र के कस्तो हुन्छ, मलाई थाहा थिएन । भव्य–बहादुर, प्रसाद, देवी, कुमारी–यी नभएका पनि मान्छे हुन्छन् नै– कुन चाहिँ होला/होली ? मयलपोस सुरुवाल, जिन प्यान्ट÷टाइसुट÷कुर्ती कट्टु÷कट्टु भेस्ट–स्लिबलेस ।
पुग्दा आसनग्रहण (वितरण) सुरु हुन आँटेथ्यो ।
आसनग्रहण ठूला ठूला सम्राट्, विश्वविजयका सपना देख्ने राजामहाराजा, त्रूmर–कठोर शासकहरूसमेतले काव्य/स्रष्टाप्रति देखाएको मान–सम्मान हो । लामो परम्परा छ । यही परम्परालाई कायम राख्दै हाम्रा सभा–समारोह–गोष्ठी आदिमा एक डेढ सय जनालाई आसन ग्रहण गराइन्छ ।
आजभन्दा करिब ८०० वर्षअघि रचिएको संस्कृत साहित्यको प्रसिद्ध महाकाव्य ‘नैषधीयचरितम्’मा श्रीहर्षले लेखे : ताम्बूलद्वयमासनं च लभते यः कान्यकुब्जेश्वरात् । (२२/१५३)
दुई बीडा पान र आसन । सम्मान काव्यको/स्रष्टाको ।
कार्यक्रमका सञ्चालकले अध्यक्ष हुने मानुषलाई अनुरोध गरे–कुर्सीमा बस्न । आसनग्रहण । जुन संस्थाले कार्यक्रम आयोजना ग-यो, त्यसैका लगभग आजीवन अध्यक्ष रहे/भएका हेर्दै/पढ्दै आदरणीय वैरागी काइँला वा मोहन कोइरालाका कविता वा इन्द्रबहादुर राईका कथाभन्दा क्लिष्ट÷कठोर देखिने यी आजका अध्यक्ष ।
नेपालको कृषि–भूमि व्यवस्थापन प्रणालीका शब्द बिर्ता/मोहियानी साहित्यिक संस्थाहरूमा पाहुना भएर गजधम्म बसेका छन् । संस्थामा हामी केटाकेटी छँदा निर्वाचन भएथ्यो रे । त्यसपछि नियमित अवधिमा निर्वाचनका सूचना टाँस हुन्छन् । निर्वाचन चाहिँ संस्थाको आन्तरिक कुरो हुँदो रहेछ । बाहिर ल्याउन नमिल्ने । आमा÷बाबु वा काकी÷काकाबाबु अध्यक्ष हुँदा परिवारका सदस्य सम्बन्धेन पदाधिकारी । हाम्रो खास निर्वाचन भनेकै यही । सोझो बाटो । सफा कुरो । हाम्रा सबै सङ्घसंस्थाले निर्वाचनको यही विधि अँगाल्छन् । राजनीतिक होऊन् कि सामाजिक–आर्थिक ।
मालाका लागि उभिए अध्यक्ष । पाए । पुगनपुग दुई अङ्गुल चौडा ढाका/खादा धजो पनि घाँटीमा ससम्मान शोभित भयो ।
त्यसपछि प्रमुख अतिथिको पालो । आसनग्रहणका लागि नाम उच्चारणपश्चात् चार जना कुस्ती अखाडाबाट व्यवसाय (रुचि) परिवर्तन भएर आएजस्ता बलिया साहित्यकार–अझै साहित्यिक समिति ÷प्रतिष्ठान÷ सङ्घ÷ संस्था÷ समूह÷ गुटका तलबी मर्यादापालक वा बाउन्सर टाइपका सज्जनहरूले उचालेर जुन वस्तु ल्याए–त्यो हाम्रा प्र.म.ले प्रतिबद्धता जनाएको तुइन विस्थापनका लागि तयार झोलुङ्गे पुलको फलामे लठ्ठाजस्तो लाग्यो– तर माला रहेछ फूलको ।
मालासहित उनलाई बसाए । प्रमुख अतिथिको शिर अर्थात् टाउको हुनुपर्ने ठाउँमा नभएजस्तो लाग्यो । भयो । मालाले । अग्लो बोटमा नरिवल फलजस्तो ।
प्रमुख अतिथिको प्रशस्ति गाउनुअघि सञ्चालकबाट मालाको गुणगान/ महिमा आयो । आखिर नेपालमा मानिसभन्दा माला नै महामहिम छन् ।
अहिले गोष्ठी हुँदै गरेको त्यस सभागारमा कुनै राजनीतिक दलको कार्यक्रम आयोजित रहेछ । प्रमुख प्रशिक्षक तोकिएका नेता/व्यक्ति आउन नसकेपछि कार्यक्रम नै रद्द हुन पुगेछ । सञ्चालन हुन सकेको भए पनि रद्दी खालको नै हुन्थ्यो । रद्दी कार्यक्रम सञ्चालन हुनुभन्दा रद्द हुनु इज्जतको वा अहं÷गर्व जोगाउने कुरो भयो । नेताका लागि मोदी अङ्कलका घरबाट ल्याइएको ओइलाएका फूलको बीस किलोको माला साहित्यिक संस्थाले हाफ मोलमा पायो । हामी र हाम्रा साहित्य नै हाफ मोलका । संस्थाले गद्गद हुँदै स्याहा¥यो । नस्याहारे नेताको कोप । नेताका कोप र त्रास सहेरै पनि गद्गद हुनैपर्छ । उपाय छैन । हाम्रो योग्यता, पहिचान, क्षमता नै त्यत्ति । हामी लुटिए पनि गद्गद हुँदै लुटिन्छौँ ।
हामीले पत्तै नपाई यस कार्यक्रममा राजनीति घुसेको मात्र होइन, प्रमुख अतिथिका गलामा मण्डित भएर पनि बस्यो । निमन्त्रण न आमन्त्रण । आयोजना त साहित्यिक थियो ।
यसै पनि नौलो नेपालमा राजनीतिक/ प्रशासनिक/ सामाजिक सबैजसो क्षेत्रमा बीसबीस, पचास पचास किलोका अझै क्विन्टल क्विन्टलका माला लगाउनु र प्रफुल्लित हुँदै करोड करोड, अर्ब अर्बका भ्रष्टाचार गर्नु सामान्य हुँदै गएका छन् । करोडमुनिका भ्रष्टाचार र क्विन्टलमुनिका मालाको इज्जतै रहेन । मालाले इज्जत दिएको छ । पहिचान दिएको छ । मालाका वजन र भ्रष्टाचारका अर्ब–खर्ब अङ्कले नै हामीले व्यक्तिहरू तौल्न पाएका छौँ । प्रफुल्लित छन् ती मालाधारी । माला पहिरिएपछि जो कोही पनि प्रफुल्लित नभई रहन मिल्दैन÷ मिलेन ।
नेतागण तथा राष्ट्रसेवकहरूको मालामोह बुझिनसक्नु छ ।
भ्रष्टाचारी÷ अपराधीहरू कारागार सवारी हुँदा माला, अवधि भुक्तान भएर फिर्ती सवारीमा माला । मालाको महिमा/ महत्व कहाँबाट कहाँ ! अजब नेपाल ! गजब नेपाल !
‘भ्रष्टाचारी÷ अपराधीहरूले माला लगाएर सार्वजनिक स्थलमा नघुम्नू’ भन्ने त देशको ऐन–कानुनले भनेन । सङ्गीन अपराधका आरोपित महोदयहरू नै ऐन–कानुन बनाउने संस्थाका सदस्य बनेका छन् भने माला लगाउनु ठूलो कुरो भएन । लाज–शरम त अलिकति माला लगाइदिनेहरूले मान्नुपर्ने हो ।
प्रमुख अतिथिलाई कुर्सीमा धोक्रो÷ बोराझैँ अड्याइयो । कार्यक्रममा केही पछि आएर मसँगै बसेका भलादमीले सोधे– “बीचका कुर्सीमा चामलको हो कि आलुको बोरा किन होला ?”
‘चामल– बोरा केही होइन । प्रमुख अतिथि हुन् । आफूलाई आसन र मालासमेतले स्वागत गरेकामा कृतज्ञ शिर निहु-याएका । अत्यन्त विनम्र, सज्जन ।’
प्रमुख अतिथिका आसनमा विराजमान भलादमी विशिष्ट व्यक्ति । साहित्य, स्वास्थ्य, अर्थ, राजनीति, कृषि, प्रविधि, नीति आदि विषयका पचासभन्दा बढी कृतिका सर्जक । बहुमुखी÷शतमुखी प्रतिभाशाली ।
खाएको कसरी पचाउने भोजन र घुस ? सी चिनफिङसँग जम्काभेट । कालीगण्डकी करिडोरको यात्रा । धन कसरी कमाउने ? नेपालका प्र (कु) ख्यात भ्रष्टाचारी महोदयहरूको जीवनी र व्यक्तित्व ः प्रेरक प्रसङ्ग । बहत्तर सालको भूकम्प (गीत) । ब्रोइलरको परिकार ः सरल विधि । मोदी अङ्कल माहात्म्य । राष्ट्रपति ट्रम्पसँग फेस टु फेस । बाँदर पालन ः सरल स्वरोजगार आदि उनका चर्चित कृति । उनका धेरै कृति मित्रराष्ट्र भारतको प्रसिद्ध सहर वाराणसीका कचौडीगलीका प्रकाशनहरूबाट निस्किए । तिनले पुडी–कचौडी खाएसरह आनन्द दिन्छन् ।
उनी सबैजसोका परिचित हुन् । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाई, हेलो भइसकेका उनलाई अरूले नचिन्ने कुरै भएन । तर उनले घरपरिवारका सदस्यलाई समेत चिन्न छोडेका छन् ।
उनको निवास जुन क्षेत्रमा छ– त्यो पहिले माछा बजार थियो । कतिले खसी बजार पनि भन्थे । त्यसै पनि हाम्रो देशमा सडकहरू थोरै भए पनि एउटैलाई तीन चार नाम दिएर धेरै भएको सन्तुष्टि लिन्छौँ । जुद्ध सडक, नयाँ सडक, न्युरोड । कुनै कुनै उपबुज्रुगहरूले युद्ध सडक पनि भनिदिन्छन् ।
उनको घरअगाडि जुन सडक छ, त्यसलाई पहिले बिडाल पथ वा श्वान मार्ग पनि भनिन्थ्यो । माछामासुमा मानिसहरू त तानिन्छन् । कुकुरबिराला कुरै भएन । हुँदाहुँदा त्यो सडक प्रमुख अतिथि मार्ग भयो । अहिले त्यस सडकको नाउँ चिफ गेस्ट रोड भएको छ । छोटोमा सीजी रोड । जतिसुकै फोहोर भए पनि अङ्ग्रेजीले सफा गर्छ– हाम्रो सोच हो ।
धेरैले उनलाई प्रसिद्ध भारतीय उद्योगपति घनश्याम दास बिडला वा उनका नाति आदित्य बिडलाका बारेमा सोध्थे– ‘के नातो हो हजुरहरूको बिडलाहरूसँग ? कहिले आएर बसेथे ? हामीलाई त थाहै दिनुभएन त ?’
कतिले मिस्र (इजिप्ट) को आस्वान बाँधको शाखा मार्ग–श्वान मार्ग पनि भन्थे ।
कतिले चाहिँ ‘त्यत्रो विश्वप्रसिद्ध आस्वान बाँध थियो । उहीँ माछा र गोहीको ठूलो व्यवसाय हुन्थ्यो । त्यसैमा करोडौँका गँगटा हुन्थे । नेपालमा माछा र गोहीको आँसुको प्रशस्त माग थियो । उहीँबाट निर्यात गर्न सकिन्थ्यो । छोडेर किन आउनुभो यहाँ ?’ पनि भन्थे । सहानुभूतिपूर्वक ।
मैले सोधेँ– ‘पचासौँ ग्रन्थका स्रष्टा । उनको स्वास्थ्य त एकदम राम्रो देखिन्छ । रातापिरा, फुर्तिला स्वस्थ छन् । त्यत्रा कृति सिर्जना गर्दा मन–मस्तिष्कलाई पनि त परिश्रम पर्दो होला ?’
‘उनले सिर्जना गर्दा आफ्ना बुद्धि, विवेक, मन आदि भाँडाका बिर्का बलियोसँग बन्द गरी राख्छन् । ती कुरा सिर्जनामा पर्लान् भनेर अत्यन्त सचेत छन् । सय ग्रन्थ प्रकाशित गरे पनि उनको स्वास्थ्य खस्कन्न ।’
कार्यक्रमका बीचमा सञ्चालकले तीन पटक माइक्रोफोन फुके । प्रमुख अतिथिमाथि बिसाइएको मालाबारे पूरक/ परिशिष्ट जानकारी आयो ।
त्यस्तै माला वि.सं. २०४७ मा नेपालको संविधान आएपछिका सबैजसो प्रधानमन्त्रीले पहिरिसकेका रहेछन् । प्रगाढ सामाजिक– सांस्कृतिक सम्बन्ध भएको मित्रराष्ट्रको सद्भावको प्रतीक । हार्दिक सम्बन्ध रूपका माला । त्यसयताका सबै तहका नेपालीले त्यो सद्भाव अटुट राख्न त्यसैका फोटोकपी माला लगाउँदै आएका÷ लगाउन हुरुक्क हुँदै आएका छन् । आज प्रमुख अतिथिको सौभाग्य ।
‘सौभाग्य त हो तर त्यो हाफ मात्र होला । बाँकी अर्को हाफ सौभाग्य त आउन नसकेका केन्द्रीय नेताका पाकेटमा गयो । जाला ।’ कुनामा बसेको मानिस बर्बरायो ।
मालाबारे पूर्ण जानकारी प्राप्त भएपछि वातावरण एकाएक र एकदम राजनीतिक भयो । केही सहभागी जोसिला हाई, हेलो र हातका फैलाइएका पञ्जाका अभिवादन मुद्रामा देखिए । ताली–गाली बजाउन र आवश्यक परिआए मान्छे पिट्न पनि तयार ।
स्थिति एकदम असहज भयो । गम्भीर । अकस्मात् उत्पन्न मालाको यस दुष्प्रभावलाई साम्य पार्न सञ्चालकले मालाको गीत बजाइदिएः
यो हो मेरो प्राणभन्दा प्यारो ।
माइतीघर माइतीघर माइतीघर । माला सिन्हा
अर्को माला वैजयन्तीको गाँस्नै परेन ।
त्यस गीतले त्यहाँ भएका सबैमा राष्ट्रवादको भावना चाहिएजति प्रवाहित ग-यो । त्यसै पनि हाम्रो राष्ट्रवाद चुनाउसुनाउ, भाषणसासन, कविता र गीतसितमा चाहिँदा ठ्याक्क आउने आज्ञाकारी जन्तु न हो ।
त्यसपछि वातावरण एकदम साहित्यिक भएको लाग्यो– मालाको एउटा गीतको प्रभाव ।
त्यस गीतले प्रभाव नपार्ने हुनै मिल्दैनथ्यो । माला सिन्हाको त्यही ‘माइतीघर’ले ५०–६० वर्षपछि प्राणप्यारा माइती (नेपाली)हरूलाई बकितम् नेतागण, सदा यथास्थितम् राष्ट्रसेवकगण र सुनितम्÷ पीडितम् जनगणलाई ‘माइतीघर मण्डला’ बनाएर बेलामौका रमिता देखाउने आधार–थलो दियो ।
असलमा त्यो ‘माइतीघर’ नामको (फिल्मको) बोर्ड झुन्ड्याइएको ठाउँ थियो । कार्यालय पनि हुँदो हो । पुराना संरचना भत्के । भत्काइए । सडक बनाइए । ठाउँले नाउँमा ‘माइतीघर’ छोड्न मानेन । छोड्नु कसरी ? प्राणप्यारो ।
त्यही मालाको ‘माइतीघर’ काठमाडौँमा एउटा क्षेत्रमा नाम जमाएर बस्यो । लालपुर्जा लिएर । भेला, सम्बोधन, भाषण, धर्ना, अनसनको साझा थलो ।
त्यसै ठाउँमा पछि कुशल रङ्गकर्मी/शिल्पीले बनाइदिए मण्डला । बन्यो ‘माइतीघर मण्डला’ ।
केही संसार बुझेका बुजु्रगहरूले ‘नेसनल’ (नेल्सन भनेको होला) मन्डेलाले ‘मन्डेला’ बनाउन दिएको आर्थिक सहयोगबाट केही काम नगरी पैसा कसले खायो ? ‘मन्डेलाको सालिक किन बनेन ?’ भनेर अख्तियारतिर खोज्दै हिँडेका छन् भन्ने सुनिन्छ ।
यहाँ रमिता गर्नेहरू चारैतिरबाट देखिने भए । तर देख्ने कोही भएन । ४० दिन । ५० दिन । ७० दिन । ९० दिन । कार्डबोर्डमा लेख्याछ । छातीमा टाँस्याछ । हेर्ने हाँस्याछ । हैरानी ।
मैले यस ठाउँलाई लन्डनको हाइड पार्कको वक्ताहरूको कुनो बनाउने अठोट गरेँ । लेखेँ । ‘त्यो कुनामा त छैन । मिल्दैन’ । भन्नुहोला । नमिल्ने नहुने कामकुरा गर्ने गरिने नै ठाउँ हो हाम्रो । काठमाडौँलाई लन्डन बनाउने प्रयासमा हाललाई मेरो यो स्वल्प सहयोग । आखिर राष्ट्रनिर्माणमा मजस्तो रद्दी निबन्ध लेखक पनि पछि पर्नु भएन । हुँदैन ।
देशको विकास गरेरै छाड्ने बकितम् महोदयहरूले नेपाललाई सिङ्गापुर र स्विजल्र्यान्ड त उहिल्यैदेखि बनाउन थालेका हुन् । तर नेपालै यस्तो छ नि सिङ्गापुर र स्विजल्र्यान्ड बन्न मान्दै मान्दैन । भर्खर भर्खर दिल्ली र बेइजिङसम्म बनाउन मान्ला मान्ला जस्तो छ । यस कठोर र अनवरत परिश्रमका लागि बकितम् महोदयहरूको जति प्रशंसा गरे पनि कम हुन्छ ।
खुसीको कुरो काठमाडौँ लन्डन त बन्ने नै भयो । अब यो पेरिस बन्ने तरखरमा छ । झापामा, पाल्पामा, रोल्पामा, डोल्पामा धमाधम आइफल टावरहरू बनेका छन्/ बन्दै छन् । पछि २–४ थान पेरिस पनि आउलान् जस्तो छ । तिनलाई राख्ने बरु कता हो ? राष्ट्रका नवनिर्माताहरूले अहिल्यै योजना बनाउनुपर्ला । विकासको काम त सबैको साझा हो ।
यही ‘माइतीघर मण्डला’ आज काठमाडौँका मात्र होइन देशभरका ढाक्रे होऊन् कि जागिरे, प्रधानमन्त्री होऊन् कि धानमन्त्री, मकैमन्त्री होऊन् कि गहुँमन्त्री टन्न मासुभात खाएर बसे पनि, टाइम टाइममा हल्का चियाखाजा चापचुप गरेर अनसन बसे पनि, उठे पनि, सुते पनि ओइलाएका फूलका त्यान्द्रे माला लगाएर वा नलगाएरै पनि ‘हामी यता छौँ’ । भन्दै आफूलाई देखाउने ठाउँ भएको छ । ‘माइतीघर मण्डला’ । संसारले देख्छ । तर देख्नुपर्नेले देख्दैन । हेर्छ मात्रै ।
मैले हेर्दै छु ‘माइतीघर मण्डला’ को प्रभाव । देशको गौरव । यही प्रभाव साहित्य गोष्ठीमा ।
त्यसै बेला कार्यक्रम भएको ठाउँ भाँडा बजाउँदै चिया नामको हल्ला तत्व प्रवेश ग-यो । कागज/ प्लास्टिकका कप/ गिलास बजेनन् । चियासँगै खाजा सेलरोटी र आलु । सेलरोटी र आलु प्लास्टिकका थिएनन् । एकाएक परिस्थिति श्रीमान् गम्भीरबाट गुलियो र नुनिलो किसिमको आनन्ददायी पनि भयो । यहाँनेर साहित्य तरल र ठोस हुँदै आएको देखियो । तरलतावाद र अझै तेस्रो÷ चौथो आयामको भेला चिया र सेलआलुमा ।
साहित्यिक कार्यक्रम त जमेकै हो । हलुका सन्तुष्टि लिनैपर्ने, गम्भीरपन पनि छोडिहाल्न नहुने अनि सेल र आलु खाँदै आनन्दित पनि हुनुपर्ने जटिल स्थिति आइप-यो ।
बासी नै सही, सेलरोटीका संरचना र स्वादमा जुन कलात्मकता, नेपालीपनको महक र सन्तुष्टि भेटियो, आत्मीयता र गोलगोल भाव देखियो, त्यसले कार्यक्रमस्थल र सहभागीहरूको मनको ‘चियाखाजा नपाइने नीरस साहित्यिक कार्यक्रम’को निराशा थोरै बढा-यो । कार्यक्रम रसपूर्ण हुँदै गयो ।
केही हाइकु पण्डित र गजलका स्वनामधन्य सर्जक/ गायक (गजलगो)हरू आआफ्ना क्षेत्रमा आशुकवित्व देखाउँदै सेलरोटी र आलुका प्रभावमा कागज वा टेबुलमै पनि कलम घोटेका देखिए । तिनका रचनामा आलु र सेलका गोलगोल बिम्ब र मूल्य पनि परे हुनन् अवश्य ।
तिनीहरूमध्ये कुनै कुनैले आँसु काढेका पनि देखिए । आँसु आलुको खुर्सानीको प्रभाव हो कि थोरै खाजाको करुण भाव थाहा भएन । तर पनि आँसु र साहित्यको सम्बन्ध विश्वविख्यात छ । यहाँ पनि आलुले साहित्यलाई विश्व स्तरीय बनायो ।
कार्यक्रम स्थलमा अब पूरै साहित्य/ साहित्यिकता छताछुल्ल भएको अनुभूति भयो । कुर्सी आधाजस्तो खाली थिए– तिनले बुट्टा भरिए जस्तो आन्तरिक सज्जाको आधुनिक ढाँचा स्पष्ट देखियो । राम्रो व्यवस्थापन । आखिर आधा कुर्सी त भरिएका थिए । रित्ता कुर्सीले पनि साहित्य जीवन्त भयो । तिनले निरन्तर– यहाँ भर्खर कोही आउँदै छ– कल्पनाशील हुन मदत ÷सङ्केत गरे ।
चार पाँच समूहमा दुई दुई जना कानेखुसी गर्दै थिए । हाम्रो खास पहिचानको प्रदर्शन ।
उता तीन या चार ठाउँ दुई दुई जना पूरा आवाजमा सस्वर/ सारस्वर भनाैँ गफको आनन्द लिएका/ दिएका देखिन्थे । साहित्यले आनन्द दिन्छ नै । हाम्रो खास साहित्य त यिनैमा छ । आलु साहित्यको स्वाद र आनन्द नै अर्को । नेपाली आलुहरू अरू आलुजस्ता पनि त होइनन् ।
तीन चार जना सबैबाट उन्मुक्त/ बेखवर तन्मयताले किताब पढ्दै थिए जुन किताब केहीअघि यहीँ वितरित भएथे । मजस्ता कति फाल्तु साहित्यकारको यहाँ आउनुको खास उद्देश्य त सित्तैँका पुस्तक–पत्रिका पाइनु पनि हो ।
समग्रमा उत्कृष्ट साहित्यिकता/ काव्यात्मकता भरिएको कार्यक्रम ।
साहित्यको उपलब्ध अर्को पाटो– पानी र चुकुलको पनि अभावको विशेषतायुक्त लघुशङ्का कक्ष । सँगसँगै दीर्घशङ्का कक्षको अभावले पनि कार्यक्रम उच्च काव्यात्मक बनायो । त्यसै पनि खास साहित्य त यिनै चुकुलविनाका शङ्का कक्षहरूमा पढ्न पाइन्छ । यही नै हाम्रो असली साहित्य हो । यही नै यसको सौन्दर्य । यही नै यसको सत्य ।
निद्रा भङ्ग हँुदा प्रमुख अतिथि अर्को कार्यक्रममा जानैपर्ने बाध्यताले उठे । सरासर निस्के । प्रमुख अतिथि हुन सजिलो छैन । प्रत्येक आधा घण्टापछि आधा घण्टा निदाउनैपर्ने उनको बाध्यता ।
कविहरू सञ्चालकको बराबरको आग्रह/अनुरोध/ निर्देशनपछि पनि लामो सम्बोधन र झोलामा भएका तथा आशुकवित्व देखाउन मिल्ने जति सामग्री तत्काल पाठ नगरेसम्म हट्ने कुरै भएन । हटेनन् । ‘भर्खरै लेखेको, हिँड्दा हिँड्दै लेखेको’ उच्चारणसहित । तिनका रचनामा ‘भर्खरै लेखेको’ भन्ने दुई शब्दबाहेक अरू केही थिएनन् पनि । तर पनि विलियम वर्डस्वर्थले भनेझैँ ‘काव्य÷ कविता मनका सहज प्रस्फुटित सशक्त भाव’ ठ्याक्कै मूल फुटेर आएपछि कसरी थाम्नू ? बाढी । आत्ममूल्याङ्कन ।
तिनको साहित्यधर्मिता प्रशंसनीय रह्यो । समालोचकले पो देखेनन् । इतिहासले पो लेखेन । कविता/ काव्य फु-याफु-यै थिए ।
इतिहास पनि त बलियो गुट/समूहले लेख्छ । निर्बलियाले इतिहास लेख्न कहीँ पाउँदैनन् । फसाद त यहाँ पो छ ।
गोष्ठी पूर्णतः उच्च कोटिको काव्यमय भयो ।
अध्यक्षले संस्थाको प्रगति–विवरण मादल बजाएझैँ प्रस्तुत गरे । तर लेखकसँग मुद्रणखर्च लिएर किताब प्रकाशन गर्ने र प्रकाशकको नाम चाहिँ संस्थाको हुने गरिआएको उच्च कलात्मक तर नेपालमा प्रचलित असाहित्यिक जादूको कुरा सुनाएनन्÷ गरेनन् ।
लेखक भने आफ्नै पैसाले पुस्तक छापेर पनि संस्थालाई प्रकाशक बनाउन पाएकामा सामान्यभन्दा एक दुई डिग्री बढी नै खुसी देखिए । हामी लेखकको अस्तित्व नै हाफ मोल । यथार्थ ।
राजनीतिका हाफ मोलका माला लगाएर मात्र साहित्यमा पस्नुपर्छ । अनि पो लेख्न नपाउँदै प्रकाशक आउँछन् ब्ल्याङ्क चेक लिएर । तपाईंका मन–मष्तिष्कका कुनामा नयाँ रचना–बीज अङ्कुरण नहँुदै नोटका बिटा लिएर प्रकाशक तपाईंका ढोकामा उभिन्छन्– घण्टौँ । त्यस्तै साहित्य उच्च कोटिको हुन्छ । त्यस्तै साहित्य÷ साहित्यकार साहित्यका इतिहासका पानामा सुनका लिपिमा सुरक्षित हुन्छन् ।
अन्त्यमा अध्यक्षले दुई शब्दका नाममा एक घण्टा बोलेपछि सहभागी र सहयोगीहरूलाई धन्यवादसहित कार्यक्रम समापन गरियो । समापनपछि प्रमुख अतिथिका अनुपस्थितिमा बीचमा उनको सम्मानमा स्थान रिक्त÷ सुरक्षित गरी फोटोसेसनपश्चात् गोष्ठी समाप्तम् ।
तर मेरो मित्रले भनेको भव्य कताबाट आएर कता गयो/ गई ?
तानसेन, पाल्पा