• १४ वैशाख २०८१, शुक्रबार

सञ्चिति बढ्दा अर्थतन्त्रलाई राहत

blog

काठमाडौँ, भदौ १ गते । आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको मुलुकको अर्थतन्त्र असारसम्म आइपुग्दा भने केही सहज अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ क्षेत्रसँग गत असारसम्म १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ (नौ अर्ब ५४ करोड डलर) विदेशी मुद्रा सञ्चिति रहेको छ । यो सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ । 

विदेशी मुद्रा सञ्चिति घटेर छ महिनाको मात्र वस्तु तथा आयात धान्न सक्ने अवस्थामा रहेको मुलुकको अर्थतन्त्रका लागि पछिल्लो सञ्चिति अवस्थाले केही राहत पु-याएको छ । 

पछिल्लो सञ्चिति अवस्था २०७८ असारको तुलनामा १३.१ प्रतिशतले कम भए पनि गत आवको अन्त्यसम्म आइपुग्दा भने घट्दो सञ्चितिमा सामान्य भए पनि सुधार आएको देखिन्छ । बढ्दो आयात नियन्त्रणको उपायस्वरूप गत वैशाख दोस्रो सातादेखि विभिन्न दस वस्तुको आयातमा लगाइएको प्रतिबन्धले घट्दो सञ्चितिको दबाबलाई मत्थर बनाएको छ । आयात प्रतिबन्धको उक्त व्यवस्था भदौ दोस्रो सातासम्मका लागि कायम छ । 

प्रतिवेदनअनुसार गत आवमा नेपालले १९ खर्ब २० अर्ब रुपियाँको वस्तु आयात गरेको छ । जुन् अहिलेसम्मकै उच्च हो । आव २०७७÷७८ को तुलनामा भन यो आयात २४.७ प्रतिशतले बढी हो । निर्यात भने दुई खर्ब तीन करोड रुपियाँ पुगेको छ । गत आवमा नेपालको निर्यातमा ४१.७ प्रतिशतले सुधार आएको हो । यस हिसाबले गत आवमा मात्रै नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब रुपियाँ पुगेको छ । 

विदेशी मुद्राको सञ्चितिमा सुधार आए पनि चालू खाता घाटा भने अहिलेसम्मकै सबैभन्दा उच्च तहले घाटामा पुगेको छ । प्रतिवेदनअनुसार गत आवमा चालू खाता छ खर्ब २३ अर्ब रुपियाँले घाटामा रहेको छ । त्यस्तै देशमा भित्रिने र बाहिरिने रकमको गणना हुने शोधनान्तर अवस्था पनि दुई खर्ब ५५ अर्ब रुपियाँले घाटा रहेको उल्लेख छ । 

गत आवका अघिल्ला महिनामा निरन्तर घटिरहेको विपे्रषण असार मसान्तसम्म आइपुग्दा भने बढेको अवस्थामा छ । राष्ट्र बैङ्कका अनुसार गत आवमा विपे्रषण आप्रवाह ४.८ प्रतिशतले बढेर दस खर्ब सात अर्ब रुपियाँ पुगेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या बढेर तीन लाख ५४ हजार नाघेको छ । 

बढ्यो महँगी

गत आवमा मूल्य वृद्धि निकै बढेको छ । असारमा महिनामा मात्रै मूल्य वृद्धि ८.०८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । जबकि २०७८ असारमा मूल्य वृद्धि दर ४.१९ प्रतिशत मात्र थियो । औसतमा भने गत आवमा मूल्य वृद्धि ६.३२ प्रतिशत पुगेको छ । त्यसअघिको आवमा भने औसत मूल्य वृद्धि केवल ३.६० प्रतिशत मात्र थियो । 

समीक्षा अवधिमा खासगरी घिउ तथा तेलको सबैभन्दा धेरै २६.१३ प्रतिशतले मूल्य वृद्धि भएको छ । त्यसपछि दाल तथा गेडागुडीको ९.९२ प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८४ र मदिराजन्य पदार्थको ८.५७ प्रतिशत मूल्य वृद्धि भएको छ । त्यस्तै सेवा समूहअन्तर्गत सबैभन्दा धेरै यातायात क्षेत्रको १५.८२ प्रतिशतले मूल्य वृद्धि भएको छ । क्षेत्रगत रूपमा पहाडमा सबैभन्दा धेरै अर्थात् ६.८७ प्रतिशतले मूल्य वृद्धि भएको देखिन्छ । 

प्रतिवेदनमा गत आवको आर्थिक वृद्धिदरका लागि केन्द्रीय तथ्याङ्क विभागकै प्रक्षेपणलाई आधार मानिएको छ । जसअनुसार ५.८४ प्रतिशतको वृद्धिदर हुने विभागको प्रक्षेपणलाई प्रतिवेदनमा उल्लेख गरिएको छ । 

गत आवमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ९ प्रतिशतले बढ्दा निजी क्षेत्रमा हुने कर्जा प्रवाह १३.१ प्रतिशतले बढेको छ । असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थामा कुल ५० खर्ब ८३ अर्ब रुपियाँ निक्षेप रहेको छ । त्यस्तै बैङ्क तथा वित्तीय संस्थाले ४६ खर्ब २१ अर्ब रुपियाँ निजी क्षेत्रमा कर्जा प्रवाह गरेको देखिन्छ ।