• ६ साउन २०८१, आइतबार

सत्ता गठबन्धन बैठक

नागरिकता विधेयकमा परिवर्तन नगरिने

blog

काठमाडौं, साउन ३१ गते । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रतिनिधिसभामा पुनः विचारका लागि फिर्ता पठाइए पनि पाँच दलीय सत्ता गठबन्धनले पहिलेकै अवस्थामा राष्ट्रपति समक्ष फिर्ता पठाउने सहमति गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठनबन्धका शीर्ष नेताको बैठकले दुई विधेयक अगाडि बढाउने सहमति गरेको बताउनुभयो । 

बैठकले राष्ट्रपतिद्वारा फिर्ता पठाइएको नागरिकता विधेयक पुरानै अवस्थामा फिर्ता पठाउने सहमति गरेको छ ।

बैठकपछि पाँचदलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले बैठकमा नागरिकता विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय भएको जानकारी दिनुभयो ।

दुबै संसदले पारित गरेको विधेयकलाई जस्ताको त्यस्तै अघि बढाउने निर्णय बैठकले गरेको जानकारी उहाँले दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारका अनुसार राष्ट्रपति विद्यादवी भण्डारीले फिर्ता पठाउनुभएको नागरिकता विधेयकलाई संसदमा पुनः पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने प्रक्रिया सुरु गरिएको बताउनुभयो । 

सभामुख अग्निप्रसाद सापकोटाले साउन १५ गते प्रमाणीकरणका लागि पठाउनुभएको  नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले सोमबार प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको थियो । राष्ट्रपतिले फिर्ता गर्नुभएको विधेयक मङ्गलबारको प्रतिनिधिसभा बैठकमा पेश भइसकेको छ ।

यसैगरी, बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने निर्णय पनि गरेको छ । सञ्चारमन्त्री कार्कीले सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) विधेयक संशोधन गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

गठबन्धनले सरोकारवाला, मानव अधिकारकर्मी, विभिन्न तह र तप्कालगायत पीडित व्यक्ति तथा संघसंस्थाहरुले दिएका सुझावलाई समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुङ्ग्याउन सत्य निरुपण तथा मेलमिलाप ओयोग विधेयक अगाडि बढाउने सहमति भएको उहाँले बताउनुभयो । उहाँले सरकार सत्यनिरुपण तथा मेलमिलाप ऐनको समस्या अन्त्य गर्न प्रतिवद्ध रहको पनि बताउनु भयो ।