• ६ वैशाख २०८१, बिहिबार

आरोहणका लागि थप हिमाल खुला गरिँदै

blog

काठमाडौँ, साउन ३० गते  । हालसम्म पर्वतारोहण नभएका नयाँ हिमाल आरोहण गर्न अनुमति दिने तयारी भइरहेको छ ।  

आइतबार नेपाल पर्वतारोहण सङ्घको ३२औँ साधारण सभालाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हाल प्रयोगमा नआएका हिमाल आरोहणका लागि खुला गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार पाँच हजार आठ सय मिटरदेखि आठ हजार मिटरसम्मका नयाँ हिमालमा पर्वतारोहण अनुमति दिनेबारे छलफल भइरहेको छ । नयाँ हिमाल आरोहण गर्न अनुमति दिएर विदेशी पर्यटक आगमन बढाउने योजनाअनुसार कुनकुन हिमालमा पर्वतारोहीको आकर्षण देखिन सक्छ भन्नेबारे छलफल भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, “पर्वतारोहणसम्बन्धी अन्योलमा रहेका ऐन, कानुन र नियम निराकरण गरेर नेपालका हिमाल, पहाड, प्राकृतिक खालका उचाइमा हुने पर्यटन खेलकुदको विकास गर्नु आवश्यक छ ।” उहाँले विदेशी मुद्रा आर्जन गर्नसमेत पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी खर्चालु पर्यटक नै पर्वतीय पर्यटक भएको बताउनुभयो । 

यही साउन ८ गते पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा पनि थप नयाँ हिमाल आरोहणका लागि खुला गर्ने सरकारको योजनाबारे उल्लेख गरिएको थियो । पर्वतारोहण सङ्घको पर्यटक बढाउन नयाँ हिमाल खुलाउनुपर्ने सुझावमा १७३ वटा हिमाल खुला गर्न मन्त्रालयलाई आग्रह गरिएको छ । 

हाल सरकारले ४१४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । यस वर्षको वसन्त ऋतुमा विभिन्न देशका आरोहीले २७ वटा हिमाल आरोहण अनुमति मागे पनि १४ वटा हिमालमा मात्रै आरोेहण भएको पर्यटन विभागको तथ्याङ्कले देखाएको छ । 

हाल पर्यटन विभाग र सङ्घले छुट्टाछुट्टै हिमालका लागि आरोहण अनुमति दिँदै आएका छन् । सरकारले सङ्घलाई २७ वटा हिमाल व्यवस्थापनको जिम्मा दिएको छ । यसमा पनि छ हजार पाँच सयभन्दा कम उचाइ भएका हिमाल पर्छन् । बाँकी ३८७ वटा हिमालको व्यवस्थापन र अनुमति दिने काम विभागबाट हुँदै आएको छ ।