चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ २३ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारनजिक रहेको ‘मुघिङ कोक्मा’ पार्क घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो समय मुधिङ कोक्मा पार्कमा दिनहुँजसो आन्तरिक पर्यटक पुग्ने गरेका र पर्यटकको घुइँचो नै लाग्न थालेको हो ।
फुङ्लिङ नगरपालिका–४ भिन्तुनाडाँडास्थित निर्माणाधीन सहिद पार्कसँगै मुधिङ कोक्मा पार्क छ । लिम्बू भाषामा ‘मुधिङ कोक्मा’ भनेको बल्ने ढुङ्गाको डाँडा भन्ने हुन्छ । यही बल्ने ढुङ्गाको डाँडालाई स्थानीय लिम्बू भाषामा ‘मुधिङ कोक्मा’ नामाकरण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सुरु गरिएको छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सुरु गरिएको पार्कमा भ्रमण गर्ने आन्तरिक पर्यटकहरु बढ्दै गएका हुन् ।
पर्यटकलाई आकर्षित गर्ने मुधिङ कोक्मा पार्कस्थल हरियाली सल्लेरी वन, लालीगुराँस, मौवा, अँगेरी, चिलाउनेसहित विभिन्न प्रजातिका रुख, बिरुवा र वनस्पति रहेका छन् । निकै नै आकर्षक तथा सुन्दर ठाउँ मुधिङ कोक्मा पार्क क्षेत्रलाई फुङ्लिङ बजारसँगै जोडिएको पर्यटकीय कोरिडोरको रुपमा लिन थालिएको छ ।
पर्यटकीय गन्तव्यका रुपमा फुङ्लिङ बजारको तोक्मेडाँडास्थित किराँत महागुरु फाल्गुनन्द लिङ्देनको विशाल सालिकदेखि सुरु हुन्छ । सोही क्षेत्रअन्तर्गत हटिया लाइनमा रहेको याःराक्मा देन (धाननाच स्तम्भ), भिन्तुना डाँडामा रहेको विश्वका संरक्षणकर्मीसहित २४ जनाको सालिक, निर्माणाधीन सहिद पार्क, इतिहास व्यक्तित्व सिरिजङ्गा सिंह थेबेको सालिक, सिलाम साक्माजस्ता गन्तव्य घुम्दै मुधिङ कोक्मा पार्क पुग्न सकिन्छ । पर्यटकलाई आकर्षित गर्ने यिनै स्थलका कारण पर्यटकीय कोरिडोरको क्षेत्र भन्ने गरिएको हो ।
बजार क्षेत्रको नजिक भएकाले मुधिङ कोक्मा पार्क क्षेत्रमा मर्निङ वाक (बिहानको हिँडाइ) गर्दै स्थानीयहरु पुग्ने गर्दछन् । मर्निङ वाकदेखि सुरु हुने मानिसको चहलपहल दिउँसोदेखि साँझसम्म नै मुधिङ कोक्मा पार्कमा आन्तरिक पर्यटकको चहलपहल रहने गरेको फङ्लिङ–४ का वडासदस्य विनोद भारतीले जानकारी दिनुभयो । भारतीका स्थानीयसहित ताप्लेजुङ आउने आगन्तुक पाहुना मुधिङ कोक्मा पार्क क्षेत्र घुम्न जाने गरेका छन् ।
यसवर्ष मात्र सङ्घीय सरकारको आर्थिक सहयोगमा पदमार्ग, विश्रामस्थल, पिङ, तस्बिर खिच्ने ठाउँ लगायतका संरचना निर्माण गरेपछि मुधिङ कोक्मा पार्कप्रति आन्तरिक पर्यटक थप आकर्षित भएका र धुम्न जानेको घुइँचो नै लाग्न थालेको भारतीले बताउनुभयो । मुधिङ कोक्मा पार्कसहित यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अझै थुप्रै संरचना निर्माण गर्नुपर्ने आवश्यक रहेको भारती बताउनुहुन्छ ।
आकर्षक पर्यटकीय गन्तव्यका लागि स्थानीय तह हुँदै प्रदेश र सङ्घमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँगै सरकारको ध्यान जान जरुर रहेको उहाँको भनाइ छ । अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्दै आएको मुधिङ कोक्मा क्षेत्र बाह्य पर्यटकका लागिसमेत राम्रो सम्झावना रहेको स्थल हो ।
प्रकृति र वातावरण संरक्षणमा ध्यान दिँदै पर्यटकीय गन्तव्यमा विकास गर्न सकिने प्रशस्त सम्भावनाको स्थल भएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका जिल्ला अध्यक्ष सुरज ओझाले बताउनुभयो । मुधिङ कोक्मा पार्क रहेको क्षेत्रमा तत्कालीन माओवादी जनयुद्ध तथा ऐतिहासिक विभिन्न आन्दोलनमा सहिद हुनेको सम्मान र सम्झानामा सहिद पार्क निर्माणको योजना सुरु भएको छ । उक्त योजना सम्पन्न भएमा बाह्य तथा आन्तरिक पर्यटक आकर्षणको केन्द्र बन्नेमा जिल्लावासी ढुक्क छन् ।