यदुप्रसाद भट्ट
मनाङ, जेठ २१ ग्ते । तीन साता लामो अन्नपूर्ण चक्रीय पदमार्गको यात्राबारे पर्यटक सुनेर, पढेर र देखेर अनेक कल्पना गरेका हुन्छन् । सुन्दर हिमालको काखमा हिँड्दा स्वर्गीय आनन्द हुने परिकल्पना गर्न स्वाभाविकै हो ।
नेपालको हिमालपारिको जिल्ला भनेर चिनिने मनाङमा पर्यटकले धुलो खानुपर्ला भन्ने कुरा सपनामा पनि देखेका हुँदैनन् । तर सडक सञ्जालले मनाङलाई नजिकै ल्याउँदा पदमार्ग हराउँदै गएकोमा कसैको पनि ध्यान गएको पाइँदैन ।
मनाङमा २८ वर्षको अवधिमा गत वर्ष सबैभन्दा धेरै ३० हजार ८ सय ६६ पर्यटक मनाङ पुगेका छन् । यति धेरैको सङ्ख्यामा पर्यटक भित्रनु र पदमार्ग नासिँदै जानु पक्कै पनि सकारात्मक कुरा भने होइन । गाउँको बाटो मासिएर बनेको सडकले मनाङीको जनजीवन सहज बनाए पनि वैकल्पिक पदमार्ग नहुँदा हिमालको काखसम्म पुग्ने हजारौं पर्यटक गाडी छल्दै धुलाम्मे सडकमै हिँड्न बाध्य छन् ।
अहिले पनि चलनचल्तीको बाटो अनुसार नै लमजुङको बेँसीसहरबाट हिँड्दै मनाङ पुग्ने योजना बनाएका पर्यटकले नागबेली बाटो, चिटिक्क गाउँघर, स्वच्छ हावा, सफा मस्र्याङ्दी सुसाएको सुमधुर ध्वनि सुन्दै उकालो लाग्ने कल्पना गछन् । तर विडम्वना, बेँसीसहर छाडेको केही समयमै रुमालले अनुहार ढाक्न बाध्य पार्छ । बाटोमा हुइँकिएर आएको बोलेरो लगायतका सवारी साधनले उडाएको धुवाँ र धुलो छल्न हम्मेहम्मे पर्छ । अनि धुलोमै रन्थनिँदै यात्रा गर्नुपर्ने बाध्यताले हैरानी पारेको छ पर्यटकलाई ।
२०५१ सालबाट सडक निर्माण गर्न थालिए पनि तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका कारण काम ठप्प हुन पुग्यो । त्यसपछि २०५७ सालमा सरकारले सडक निर्माणको जिम्मा सेनालाई दियो । झण्डै एक दशक लगाएर सेनाले सडक निर्माण गर्याे । बेँसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म ८७ किलोमिटर लम्बाइको सडक २०६९ सालमा उद्घाटन भएको थियो । २०८२ मा माथिल्लो मनाङसम्मै सरर गाडी पुग्ने गरी सडक विस्तार भएको छ । उहिल्यै हप्ता दश दिनसम्म लगाएर हिँडेर, खच्चडमा सामान बोकाएर मनाङ पुग्नेहरू अहिले पाँच–सात घण्टामै माथिल्लो मनाङ पुग्छन् ।
यातायात, आवतजावत, ढुवानीका लागि सडकले सहजता ल्याए पनि विश्वभरबाट अन्नपूर्ण चक्रीय पदमार्ग भ्रमणका लागि मनाङ पुग्ने पर्यटकले भने सास्ती खेप्नुपरिरहेको छ । पदमार्ग मासेर बनाइएका सडकको विस्तारसँगै पुरानो बाटो मेटिएको छ । सडक पुग्नुअघि पर्यटक हिँड्ने गरेको पदमार्ग सग्लो छैन ।
पर्यटकलाई डोर्याउँदै थोरोङ–ला पुग्ने पदप्रदर्शक पनि बाटोकै गुनासो सुन्नुपरिरहेको बताउँछन् । पर्यटकलाई धुलाम्मे सडकमा हिँडाउन अप्ठ्यारो हुने गरेको उनीहरूको भनाइ छ । ‘विश्वकै अग्लो पास भएका कारण पनि यसमा आकर्षण छ, तर गेस्टहरू अहिले बाटोबारे गुनासो गर्छन्,’ पद प्रदर्शक सुदर्शन देवकोटा गुनासो गर्नुहुन्छ ।
विश्वकै उत्कृष्ट भञ्ज्याङका रूपमा समुद्री सतहबाट पाँच हजार ४१६ मिटरको उचाइमा रहेको थोरोङ–ला पदयात्री, पर्यटकमाझ प्रसिद्ध छ । मनाङबाट थोरोङ–ला पार गरेर मुस्ताङ पुग्न सकिने भएकाले पनि धेरै पर्यटकलाई यस मार्गले आकर्षित गर्छ । पर्यटकीय गन्तव्यका रूपमा विकसित हुनुअघि मनाङ र मुस्ताङबिच व्यापारका लागि स्थानीय बासिन्दा यही मार्ग प्रयोग गर्थे ।
पर्यटक आउने सिलसिला शुरू भएसँगै चार दशकयता थोरोङ–ला पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ । मनाङमै रहेको तिलिचो ताल पुगेर थोरोङ–ला पार गर्नेहरू पनि उत्तिकै हुन्छन् । अन्नपूर्ण हिमशृङ्खला, गङ्गापूर्ण, मनास्लु, माछापुच्छ्रे हिमाल, तिलिचो पिक र धवलागिरि हिमशृङ्खला पनि आगन्तुकलाई यो बाटोमा तान्ने आकर्षण हुन् ।