• १० मंसिर २०८१, सोमबार

‘मान्यजन’को नाममा अपराध

blog

जन्म, विवाह तथा मृत्युसँग सम्बद्ध सामाजिक संस्कारहरू सामाजिक परम्परा, व्यक्तिको अनुकूलतालार्ई समेत दृष्टिगत गरेर गरिनुपर्दछ। यी संस्कारहरू कसैमाथि थप आर्थिक भार पर्ने गरी थोपरिएमा यसले सकारात्मक सन्देश प्रवाह गर्दैन। यस्ता घटना सामाजिक तथा जातीय कुसंस्कार अझै पनि विद्यमान छन् र तिनको निकारकण नगरी समाजले सकारात्मक गति लिन सक्दैन। यो युगमा समेत विविध कुसंस्कारले नेपाली समाजलाई अझै गाँजेको दृष्टान्त देख्न तथा सुन्न पाइन्छ। सामाजिक विकासका दृष्टिबाट यस्ता घटना निन्दनीय मात्र छैनन्, कतिपय काम कानुनको दृष्टिमा समेत अपराध हुन्छ, दण्डनीय हुनुपर्छ।

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नं. १४ मा यस्तै एक निन्दनीय सामाजिक विकृतिको घटना सार्वजनिक भएको छ। यो घटनाले मानवीय संवेदनाका सबै सीमालाई छिन्नभिन्न पारिदिएको भन्दा अतियुक्ति नहोला। हिन्दु धार्मिक परम्पराअनुसार दागबत्ती दिन र काजकिरिया गर्न आफन्तले नै एक गरिब परिवारसँग पाँच लाख रुपियाँ नगद मागेको पाइएको छ। परिवारको अविभावक गुमाउनुपर्दा शोकको सागरमा परेको परिवारजनमा थप पीडा दिने गरी रकम माग गर्नु भनेको मानवता सम्पूर्ण रूपमै हराउनु हो। यो घटनाले समाजमा मानवीय मूल्य र मान्यता ह्रासोन्मुख भइरहेको क्रुर तथ्यलाई स्पष्ट पारेको छ। 

दुई श्रीमती र आठ पुत्रीका पिता फकिरा शाह सोनारको ७० वर्षको उमेरमा निधन भयो। छोरीका पिताको सामाजिक परम्परा अनुरूप दागबत्ती दिन पुत्र हुने कुरा भएन। सहजातीय ‘मान्यजन’ अर्थात् मुखियाको जातीय सभाले जेठी श्रीमतीको छोरीकी नाति अर्थात् जातीय मुखियाको छोराले दागबत्ती दिनुपर्ने ठहर हुन्छ। यतिसम्म कुरो ठीकै थियो। फकिराका साख्खै ज्वाइँ नै जातीय मुखिया रहेछन्। मुखियाले आफ्नो छोराले दागबत्ती दिने, काजकिरिया गर्ने भए ससुराली पक्षसँग पाँच लाख रुपियाँ माग गर्न थाले। माग गर्नु मात्र होइन, त्यसमा अडान नै लिन थाले। शव समयमा उठेन।

फकिराकी दुई श्रीमतीमध्ये हाल जीवित कान्छी श्रीमतीसँग सौतेनी ज्वाइँ परिवारलाई दिन यति ठूलो रकम थिएन। तैपनि दुई लाखमा सहमति गर्ने प्रयास गरियो तर सौतेनी ज्वाइ टसमस भएनन् र यही रडाको बीच फकिराको शव एक दिन र रातसम्म उठ्न सकेन। समाज हेरेको हे-यौँ भयो। यी सबै घटनाक्रमको साक्षी फकिराकी कान्छी श्रीमती तर्फकी १५ वर्षीया अविवाहित छोरीले आफ्नो पिताको दागबत्ती आफैँले दिने र काजकिरिया पनि गर्ने हिम्मत गरिन्। भोलिपल्ट फकिराको शव छोरीहरूले बोकेर अन्तिम संस्कार गरे। घटना यतिमा मात्र सीमित छैन। फकिराका ज्वाइ अर्थात् जातीय मुखियाले अहिले पनि फकिराकी कान्छी श्रीमतीसँग पाँच लाख रुपियाँका लागि दुःख दिने कार्य बन्द भएको छैन। भातपानी काट्नेलगायतका सामाजिक बहिष्कार गर्ने धम्की दिएर ज्वाइँले सौतेनी सासूलाई प्रताड दिने घृणित कार्य हुनु आफैँमा घिनलाग्दो कृत्य हो। 

बर्दिवासको यो घटना वास्तवमै विशेषगरी मधेशमा देखा परिरहने सामाजिक कुसंस्कारको प्रतिनिधिमूलक घटना हो। यस घटनासँगै केही परिदृश्य पनि स्पष्ट रूपमा देखिएका छन्। पहिलो, सामाजिक कुसंस्कारका नाममा मधेशमा अझै पनि हैकमवादी प्रवृत्ति यथावत् देखिएको छ। दोस्रो, युवक युवतीमा आधुनिकसँगै सामाजिक रूपान्तरणका लागि साहस तथा आँट देखिन थालेका छन्। फकिराकी छोरीको कदमले यस तथ्यलाई पुष्टि गर्दछ। तेस्रो, मधेश वा मुलुकका अन्य स्थानमा हुने जातीय भेलाबाट पारित गर्ने असामाजिक क्रियाकलाप नियन्त्रण गर्न जरुरी देखिन्छ। कुरीति सामाजिक संस्कार हुन सक्दैन। दोषीलाई कानुनको दायरामा ल्याउनु वाञ्छनीय भएको छ।

फकिराकी नौ कक्षमा अध्ययनरत छोरीको साहस तथा अठोटले मधेशी युवाको परिवर्तित सोचलाई प्रतिनिधित्व गरेको मान्न सकिन्छ। यस परिघटनाले किशोरी साधुवादको पात्र बन्नु सुखद पक्ष हो। राज्य, समाजले यो प्रवृत्तिलाई हौसला दिनुपर्छ। मातापिताका लागि छोरा वा छोरी जे भए पनि समान तथा प्रिय हुन्छ नै। यस अर्थमा अन्तिम संस्कारका निम्ति छोरा नै चाहिने विधिलाई क्रमशः परिवर्तन गर्दै अनुकूलता अनुरूप छोरा वा छोरी जोकसैले पनि अन्तिम संस्कार गर्न सक्ने सोचको विकास गर्नु पनि जरुरी भइसकेको छ। मुखिया नामधारी सामाजिक कुरीतिको अब राख्नु हुन्न र दोषीलाई कानुनको कठघरामा ल्याउनु पनि जरुरी छ।