• ८ वैशाख २०८१, शनिबार

ललितपुरमै मुक्तिनाथ

blog

ललितपुरको गोदावरी नगरपालिका –१ को ढुङ्गेधारा साँघुमा १०८ धारा मुक्तिनाथ धाम रहेको छ । यो मन्दिर काठमाडौँको रत्नपार्कदेखि १४ किलोमिटर र गोदावरी नगरपालिकाको थैवबाट दुई किलोमिटरको दूरीमा रहेको छ । यस स्थललाई पौराणिक ढुङ्गासाँघु भनिन्छ । जहाँ अहिले धमिरे खोला बगेको छ । यसको पौराणिक नाम गोमती खोला हो । यही खोलामा ढुङ्गाको साँघु रहेको थियो । उक्त साँघु जीर्ण भएपछि सानो पक्कीपुल बनाइएको छ । त्यसको नजिकमा ठूलो पुलसमेत छ । यही पुलनजिक १०८ धारा मुक्तिनाथ धाम मन्दिर रहेको छ । मन्दिरको सात सय मिटर जतिको दूरीमा रहेको गायत्री कुण्डको पानी धमिरे खोलामा मिसाइएको छ । यस मन्दिरभित्र रहेको मुक्तिनाथको मूर्ति ३० इन्च अग्लो छ । मुस्ताङको मुक्तिनाथको मूर्ति भने तीन फिट अग्लो छ । 



मुक्तिनाथ मन्दिर परिसरमा गणेश, पशुपति, रामजानकी मन्दिर रहेका छन् । यस्तै सप्तऋषि, सूर्यनारायण, वासुकी नाग, पार्वतीको मूर्ति तथा त्रिशूल, डमरु आदि रहेका छन् । पानीको फोहराको मध्यभागमा शिवको आकर्षक मूर्ति रहेको छ; जसलाई पानीको फोहराले नुहाइरहेको देख्न सकिन्छ । पानीको फोहराले गर्दा योे मन्दिर निकै नै आकर्षक देखिएको छ । १०८ धारामा स्नान गर्नाले मुक्ति मिल्ने जनविश्वास रहेको छ । हिमवत्खण्डअनुसार ज्येष्ठ शुक्ल दशमी दशहराको दिन या माघे सङ्क्रान्तिका दिन १०८ जलधारामा स्नान गर्नाले सबै पाप नाश हुन्छन्, नरकमा रहेका पितृ पनि यस क्षेत्रमा गरिएको तर्पणले तत्काल मुक्त हुन्छन् भन्ने जनविश्वास रहेको छ ।


स्थानीयवासीले १०८ धारा निर्माण गर्ने उद्देश्यले २०७४ साल कात्तिकमा यहाँ सप्ताह लगाए । सप्ताहबाट ४२ लाख रुपियाँ सङ्कलन भयो । यही रकमबाट १०८ धारा बनाउने कार्य भयो । यसपछि मुक्तिनाथको मूर्ति राखेर मन्दिर पनि बनाइयो । यस कार्यका लागि भने एक करोड ४२ लाख रुपियाँ खर्च भएको छ । यो रकमका लागि विभिन्न निकाय र दाताले सहयोग गरेका हुन् । मन्दिरनजिकै ३० रोपनी पर्ती जग्गा रहेको छ । यो जग्गा मन्दिर समितिलाई रेखदेख गर्न दिइएको छ । भविष्यमा यही जग्गामा व्यवस्थित पार्किङ, शौचालय आदि बनाउने योजना समितिले बनाएको छ । 

साउन महिना शिवको महिना हो । त्यसैले यो बेला यस मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्ने गरेको छ । विशेषगरी साउनको सोमबार यहाँ पूजाअर्चना गर्नुका साथै शिवको भजन गाएर र नृत्य गरेर भक्तजन रमाउँछन् । प्राकृतिक सौन्दर्यले यो क्षेत्र भरिपूर्ण छ । हरिया डाँडाको खोँचमा यो मन्दिर रहेको छ । सुन्दर, स्वच्छ वातावरण छ । मन्दिरको सौन्दर्यमा मोहित भएर तस्बिर खिच्ने तथा खिचाउनेहरूको घुइँचो पनि यहाँ देख्न सकिन्छ । मुस्ताङको मुक्तिनाथ दर्शन गर्न नपाएका भक्तजन यहाँको मुक्तिनाथ धामको दर्शन गर्छन् र १०८ जलधारामा स्नान गरेर पुण्य कमाउँछन् ।