• ५ साउन २०८१, शनिबार

धनुषाको भित्री सडकमा दिनहुँ सवारी दुर्घटना

blog

तस्बिर : धनुषाको भित्री सडकखण्डमा भएको सवारी दुर्घटना ।

विजयकुमार साह  
ढल्केवर, साउन २७ गते ।
धनुषाको विरेन्द्रबजार–महिनाथपुर भित्री सडकखण्डको सबैलामा गएको शनिबार मोटरसाइकल दुर्घटनामा परी जनकनन्दी गाउँपालिका –५ पतनुका बस्ने मुकेश कापरको मृत्यु भयो । तीव्र गतिमा मोटरसाइकल चलाएका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको भनाइ छ ।

त्यसअघि सोही सडकखण्डको सबैलामै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँच जनामध्ये चार जनाको मृत्यु भयो । आफैँ अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा १२ वर्षका लक्ष्मी यादव र विकास यादव, १४ वर्षका सुमित यादव र १५ वर्षका राहुल यादवको मृत्यु भयो । मोटरसाइकलमा सवार १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका थिए । घटनाबारे प्रहरी प्रशासन र स्थानीयवासीले सानै उमेरका मोटरसाइकल चलाउन दिने अभिभावकाको दोष रहेको बताएका थिए ।

भटिहन बस्ने सुनिल साहका अनुसार बिरेन्द्रबजार–महिनाथपुर सडकखण्ड कालोपत्रे भएपछि सवारी दुर्घटना बढेको छ । ट्रिपर चल्ने थालेपछि त झन् बढी दुर्घटना बढेको उहाँको भनाइ छ । एक दिनमा पाँच सयभन्दा बढी पटक ट्रिपर ओहरदोहर गर्छ । मोटरसाइकल र अन्य सवारी चालक पनि ट्राफिक नियमको पालना गर्दैन ।

यो सडकखण्डमा मात्रै नभएर जनकपुर–धनुषाधाम, जनकपुर–कमला बाँधसम्मको हुलाकी सडक मार्गमा समेत दिनहुँजसो दुर्घटनाका घटना हुने गरेको छ । भित्री सडक खण्डमा ट्राफिक प्रहरीको उपस्थित नहुँदा तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेको साहको भनाइ छ ।

धेरैजसो दुर्घटनाको जानकारी प्रहरीसम्म पनि पुग्दैन, भटिहन बजारका महेशकुमार राय बताउनुहुन्छ । बुधबार मात्रै मोटरसाइकको ठक्करबाट एक वृद्धको खुट्टा भाँचिएको थियो । तर, घटना प्रहरीसम्म  पुगेन । घाइते वृद्धको उपचार खर्च दिएर दवैजना मिलापत्र गर्यौ, रायले भन्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको तथ्याङ्कले पनि जिल्लामा पर्ने पूर्वपश्चिम राजमार्ग र ढल्केवर–जटही सडक मार्गभन्दा बढी भित्री सडकमा सवारी दुर्घटना बढी भएको देखाएको छ ।

जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ९७४ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये सबभन्दा बढी भित्री सडकमा ५५० र पूर्व–पश्चिम तथा ढल्केवर–जनकपुर राजमार्गमा ३३७ र बजार क्षेत्रमा ८७ वटा सवारी दुर्घटना भएका छन् ।

सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या पनि मुख्य राजमार्गभन्दा भित्री सडकमै बढी रहेको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा भित्री सडकमा ५३ जना, राजमार्गमा ४७ र बजार क्षेत्रमा पाँच जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले भित्री सडकमा लापरवाही तरिकाले सवारीसधान चलाउने हुँदा बढी दुर्घटना हुने गरेको बताउनुभयो । भित्री सडकमा ट्राफिक प्रहरीको उपस्थिति कम हुने र चालकले पनि लापरवाही तरिकाले सवारी चलाउँदा दुर्घटना निम्तिने गरेको उहाँले जानकारी दिनुभयो । 

भित्री सडक साँघुरा र बिग्रिएका कारण पनि सडक दुर्घटना बढी हुने गरेको छ । सडक छेउमा मानिसको भीडभाड हुने गरी लगाइने हाटबजारमा, खाल्डाखुल्डी, छरपस्ट राखिने निर्माण सामग्रीले पनि दुर्घटना बढाउने गरेको प्रहरी निरीक्षक यादवको भनाइ छ ।   

सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी चालक, बटुवा र विद्यार्थीलाई भेला गरेर समय–समयमा ट्राफिक सचेतना कार्यक्रम चलाउँदै आएको र बेला–बेलामा निःशुल्क स्वास्थय शिविर सञ्चालन गरेर सवारी चालकहरुको स्वास्थ्य परिक्षणसमेत गरिँदै आएको उहाँले भन्नुभयो ।