• २४ वैशाख २०८१, सोमबार

आराम कक्षले छात्रालाई सहज

blog

जयकृष्ण यादव 

रामधुनी (सुनसरी), साउन २६ गते । सुनसरीको रामधुनी नगरपालिका–७ को पञ्चायत माध्यमिक विद्यालय कुमरखतमा कक्षा १० मा अध्ययनरत सुनिचा चौधरी महिनावारीको समयमा दुई वर्षअघिसम्म घरमै बस्नुहुन्थ्यो। दुईदेखि तीन दिनसम्म विद्यालयका कक्षा छोड्नुपर्ने बाध्यता पनि थियो। 

महिनावारीको समयमा हुने अप्ठ्यारोका कारण यस्तो बाध्यता भएकाले रामधुनी नगरपालिकाको समन्वय र प्लान इन्टरनेसनल नेपालको सहयोगमा ग्रामीण समाज उत्थान केन्द्र सुनसरीले सिकाइ परियोजनाअन्तर्गत यस विद्यालयमा महिनावारी आराम कक्षको व्यवस्था भयो। त्यसपछि चौधरीसहित कक्षा ६ देखि १० कक्षासम्मका किशोरीलाई विद्यालयमा सञ्चालनमा आएको महिनावारी आराम कक्षले सहज भएको विद्यालयका प्रधानाध्यापक शङ्कर लुइटेलले जानकारी दिनुभयो। 

विगतमा आराम कक्षको व्यवस्था नभएको तथा पर्याप्त मात्रामा सेनेटरी प्याडको पनि व्यवस्था नभएकोले छात्राको विद्यालय उपस्थिति दरमा पनि कमी हुने गरेको थियो। आराम कक्षको व्यवस्था भएकाले आफूहरूलाई सहज भएको कक्षा १० मा अध्ययनरत छात्रा सुजता सापकोटाले बताउनुभयो। सापकोटाका अनुसार विद्यालयमा आराम कक्षसहित सेनेटेरी प्याड र प्रयोग गरेपछि डिस्पोज गर्नेसमेत व्यवस्था भएकाले कक्षा छाड्ने दरमा कमी आएको छ। पहिले एक जना साथीलाई महिनावारी भएको बेला ती साथी र अर्को सहयोगी साथीसमेतको कम्तीमा एक दिन पढाइ प्रभावित हुने गथ्र्यो तर आराम कक्षले त्यो समस्या हटेर गएको अर्का छात्रा प्रीति राईले बताउनुभयो। 

रामधुनीको चन्द्रकमल मावि, पञ्चायत आधारभूतसहितका विद्यालयमा आराम कक्षको व्यवस्था गरेको छ भने वराहक्षेत्र नगरपालिकाको औलिया मावि चतरा, प्रकाश मावि प्रकाशपुर, शिशुज्योति आधारभूत महेन्द्रनगर, जनता आधारभूत विद्यालय शुक्रबारेसहितमा आराम कक्षको व्यवस्था मिलाएको आरएसडीसीका वीरेन्द्र सुतिहारले जानकारी दिनुभयो। आरएसडीसीको सिकाइ परियोजना कार्यक्रम लागू भएको विद्यालयमा छात्रा महिनावारीको बेलामा पनि विद्यालय आउनसक्ने भएको सुतिहारको भनाइ छ । उहाँका अनुसार विगतमा तीन दिनसम्म विद्यालय छाड्ने गरेको, लजाउने अवस्था रहेको र महिनावारीका कुरा पनि लुकाएर बस्दा केही समस्या रहेकोमा सिकाइ परियोजनाअन्तर्गतको आराम कक्षले गर्दा छात्राको उपस्थिति दरमा वृद्धि भएको छ। 

विद्यालयमा आएका बेला कुनै छात्रा वा शिक्षिकालाई महिनावारी भएको अवस्थामा आराम कक्षमा आराम गरेर असहजतालाई सहजमा परिणत गरी फेरि कक्षा कोठामा फर्किएर पढाइलाई निरन्तरता दिन सकिरहेका छन्।

वराहक्षेत्रको शिशुज्योति आधारभूत विद्यालयका तेजकुमारीसिंह ठकुरी भन्नुहुन्छ, “आराम कक्ष निर्माणले गर्दा छात्राको उपस्थित दर ३० प्रतिशतले वृद्धि भएको छ। छात्राले पहिले महिनावारी सम्बन्धी केही समस्या पर्दा शिक्षक–शिक्षिकासँग भन्दैनथे। छुट्टी मागेर घर जाने गर्थे भने आराम कक्ष व्यवस्थापन र छात्रालाई महिनावारीका बारेमा तालिमले गर्दा उनीहरूलाई भएको समस्या शिक्षिकालाई मात्र नभएर शिक्षकलाई पनि भन्न थालेका छन्।”