• २२ वैशाख २०८१, शनिबार

काठमाडौं महानगरको आर्थिक वर्षको खर्च ४४ प्रतिशत मात्रै

blog

वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्नुहुँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ।

काठमाडौं, साउन २५ गते । काठमाडौं महानगरको आर्थिक वर्ष २०७८/०७९ मा सात अर्ब ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपियाँ खर्च भएको छ। महानगरले सो आर्थिक वर्षका लागि १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार रुपियाँ रकम विनियोजन गरेको थियो। बुधबार राष्ट्रिय सभा गृहमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा महानगरको वित्त विभागले ४४.२४ प्रतिशत मात्रै खर्च भएको जनाएको हो। 

बैठकमा महानगरका प्रमुख बालेन्द्र साहले समीक्षाबाट गएको वर्षमा भएका कामको तथ्य र तथ्याङ्कीय अवस्था प्राप्त हुने अपेक्षा गर्नुभएको छ। उहाँले भन्नुभयो, “यस्ता सूचनाबाट राम्रा कामलाई निरन्तरता दिन, कमजोरी सुधार गर्न तथा अभाव कम गराउन मद्दत हुनेछ। यसबाट चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनमा सहयोग हुनेछ।” यो वर्ष स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपर्ने उहाँको भनाइ छ। यसैगरी, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले प्रस्तुतिमा समस्यासँगै समाधानका उपाय सुझावका रुपमा आउनुपर्ने औंल्याउनुभयो।

पौड्यालले भन्नुभयो, “समीक्षाबाट प्राप्त भएको तथ्यका आधारमा सुधार गर्दै जानुपर्छ। विगतमा देखिएका कमजोरी दोहोरिनु हुँदैन। यसबाट महानगरले चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनमा प्रगति गर्न सक्छ।” 

उहाँले जनप्रतिनिधिले बनाएका नीतिहरु कर्मचारीहरुले प्रभावकारी कार्यान्वयन गराउनुपर्ने र महानगरलाई जनताले हेर्न, देख्न र महसुस गर्ने गरी बनाउनुपर्नेमा जोड दिनुभयो। समीक्षामा महानगरका प्रवक्ता एवम् वडा १७ का अध्यक्ष नवीन मानन्धरले, प्राथमिकता र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर चालु आर्थिक वर्षका कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो। 

महानगरले गएको बर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरेको हो।