• १५ चैत २०८०, बिहिबार

स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारको ध्यान गएन : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २५ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा ध्यान नदिएको आरोप लगाउनुभएको छ ।  बुधबार काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो आरोप लगाउनुभएको हो । 

कृषिको उपज बढाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यक्ता पनि उहाँले औंल्याउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “स्वास्थ्य शिक्षालाई नै निषेध गर्नेगरी सरकार अगाडि बढिराखेको देखिन्छ । नेपाललाई मेडिकल एजुकेशनको हब बनाउनुपर्ने हो । उपचार अस्पतालको हव बनाउनु पर्छ ।” 

स्वास्थ्य तथा मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरुको हब बन्न उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम गरिन नहुने उहाँले चर्चा गर्नुभयो । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा कृषि बजारको अभाव नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । यस क्षेत्रमा संलग्न हुने जनशक्ति घटाउनुपर्छ ।”

अध्यक्ष ओलीले अन्नवालीको पनि नश्ल सुधार गर्नुपर्ने बताउनुभयो । उत्पादन एवम् उत्पादकत्व बढाउदै देशलाई आत्मनिर्भर बनाउनुको विकल्प नरहेको उहाँले चर्चा गर्नुभयो ।  कृषि उपज बढाउन माटो मर्न नदिने काममा सचेत रहन पनि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।