• १६ चैत २०८०, शुक्रबार

पर्यटकीय गन्तव्य बन्दै तानसेनको श्रीनगर

blog

बिन्दु थापा 

तानसेन, साउन २५ गते । सुन्दर वातावरण हरियाली डाँडाकाँडा पाखापखेराले भरिभराउ पाल्पा अहिले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनिरहेको छ । सुन्दर डाँडा श्रीनगरले पनि पर्यटक लोभ्याउने काम गरिरहेको छ । 

व्यस्त रहेकाहरुको तनाव भुलाउने नजिकको गन्तब्य श्रीनगरलाई चिन्ने गरिन्छ । पर्यटकीय विश्रामस्थल बन्दैगरेको तानसेनमा प्राकृतिक दृष्य अवलोकनका लागि पनि घुम्न आउने पर्यटक बढेका छन् । तानसेनको अग्लो ठाउँमा रहेको यो क्षेत्रमा मोर्निङवाक गर्ने र साँझमा शितल खानेहरुको भिड लाग्छ । 

पर्यटकीय विश्रामस्थल बन्दैगरेको तानसेनमा प्राकृतिक दृष्य अवलोकनका लागि पनि घुम्न आउने पर्यटक बढेका छन् ।

श्रीनगरको अवलोकन गर्ने, र रमणीय वनमा बसेर भावी जीवनका सपना बुन्दैगरेका जोडी यहाँ प्रसस्तै आउनेगरेको स्थानीयको भनाइ छ । ‘सबै उमेर समूहका मान्छे भेटिन्छन् श्रीनगर डाँडामा’ स्थानियबासी रमेश कुँवरले भन्नुभयो । तानसेन बजारदेखि करिब आधा किलोमिटर दूरीमा रहेको श्रीनगर मनोरञ्जन लिनेको ठाउँ पनि बनेको छ  । 

“मोटोपन भएकाहरुले यहाँ आएर व्यायाम गर्दा आनन्द आउँछ, बिहानमा उकालो चढ्दा पसिना आउँछ, शरीर घटाउने राम्रो उपाय यही हो” तानसेन ४ बाट मर्निङवाकमा आउनुभएका सुसान्त भण्डारीले भन्नुभयो । श्रीनगरमा आउनेहरुका लागि तानसेन नगरपालिकाले टिकट प्रणाली सञ्चालनमा ल्याएको छ । त्यसबाट ५ जना पुरुष र १ महिलाले रोजगारी पाएका छन् । 


श्रीनगरको संरक्षण र यहाँको आर्थिक व्यवस्थापन, सरसफाइका लागि टिकट सिस्टममा लगिएको तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । श्रीनगरलाई व्यवस्थित बनाउने जिम्मा लिएको श्रीनगर पर्यापर्यटनको लापरवाहिपछि अहिले तानसेन नगरपालिकाले आफै जिम्मा लिएको  नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । 

श्रीनगरमा दैनिक एक सयदेखि एक हजार जनासम्म घुम्न आउनेगरेको तानसेन नगरपालिकाले जनाएको छ ।

श्रीनगरमा दैनिक एक सयदेखि एक हजार जनासम्म घुम्न आउनेगरेको तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिका सरसफाइ विभागका प्रमुख शंकर भण्डारीका अनुसार यहाँ बाह्य पर्यटकको पनि घुइँचो लाग्छ । छिमेकि मुलुक भारतबाट बढी पर्यटक यहाँ पुग्छन् । 

श्रीनगरमा प्रवेश गर्न टिकट शुल्क २० रुपियाँ तोकिएको छ । श्रीनगर बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुल्ने गर्छ । मोर्डिङ वाकको लागि स्थानीयलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । 

यहाँ भएको भ्युटावरबाट सुन्दर हिमालहरु मछापुच्छरे, धवलागिरि, अन्नपुर्णको अवलोकन गर्न पाइन्छ । टावरबाट भैरहवा, नौतनहवा, तानसेन र वरपरका दृश्यहरु पनि अवलोकन गर्न पाइन्छ । श्रीनगर लगभग ७० हेक्टर क्षेत्रफलमा निर्माण गरिएको छ । समुन्द्री सतहदेखि १३७२ मिटरको उचाइमा रहेको छ ।